महिला टि २० त्रिकोणात्मक श्रृंखला- नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त – Nepal Press

महिला टि २० त्रिकोणात्मक श्रृंखला- नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त

१०७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल थाइल्यान्डसँग ५ रनले चुक्यो

काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ । आज थाइल्यान्डसँग ५ रनको हार व्यहोरेसँगै नेपालको उपाधि होड समाप्त भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले ६ विकेट क्षतिमा १०६ रन जोडेको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो ।

नेपालले ८ रनमै चार विकेट गुमाएर दयनीय सुरुवात गरेको थियो । तर, मध्यक्रममा पूजा महतो, रुबिना क्षेत्री, रोमा थापा र कविता जोशीले नेपाललाई खेलमा फर्काएका थिए ।

रुबिनाले नेपालका लागि सर्वाधिक २६ रन जोडिन् । उनले २९ बलको सामना गर्दा एक छक्का र तीन चौका प्रहार गरेकी थिइन् । पूजा महतो २८ बलमा १८ रन बनाएर आउट भइन् । कविता जोशीले २० बलमा २४ रन जोडेर आउट हुँदा रोमा थापा १९ बलमा त्यति नै रन बनाएर अविजित रहिन् ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १५ रन चाहिएको थियो भने हातमा तीन विकेट मात्र थिए । पहिलो बलमै एलिसा यादव रनआउट भइन् । बाँकी ५ बलमा नेपालले ९ रन मात्र जोड्न सक्यो ।

नेपालले थाइल्यान्डविरुद्ध बलिङमा उत्कृष्ट सुरुवात गरेको थियो । ५६ रनमा थाइल्यान्डले ६ विकेट गुमाएको थियो । तर सातौं र आठौं नम्बरका ब्याटरले थाइल्यान्डलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए ।

उनीहरुबीच अर्धसतकीय साझेदारी भएको थियो । नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् । पूजा महतो र रचना चौधरीले एक–एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *