नेतृत्वलाई डोनाल्ड ट्रम्पले ‘अतिवादी पागलहरु’ भनेको केही दिनपछि बन्द भयो यूएसएड मुख्यालय


काठमाडौं । अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय (यूएसएड)को मुख्यालय बन्द भएको छ । विभिन्न अमेरिकी मिडियाहरुको समाचारहरुलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार वासिङटन डीसीको मुख्यालय बन्द गरिएको छ ।
रोनाल्ड रेगन भवनमा रहेको मुख्यालय फेब्रुअरी ३ अर्थात सोमबारबाट बन्द भएकाे बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएडएडका नेतृत्वलाई ‘अतिवादी पागलहरु’ भनेको तथा एलन मस्कले ‘अपराधिक संगठन’ उपमा दिएको केही समयमै मुख्यालय बन्द भएको खबर सार्वजनिक भएको हो ।
सन १९६१ मा स्थापना भएको यूएसएडलाई अमेरिकी करदाताहरुको रकमको दूरुपयोग गरेको आरोप लाग्दै आएको छ । कतिपय यूएसएडका पूर्व अधिकारीहरुले यसलाई सीआईएको फ्रन्ट अर्गनाइजेसन भन्दै यसमा तलदेखि माथीसम्म सीआईएको मिसमास हुने सार्वजनिक रुपमा बताइसकेका छन् ।
यूएसएसका ६०० कर्मचारीहरुको एजेन्सीको कम्युटर प्रणालीबाट बन्द गरिएको पाइएको छ । यस अगाडि नै ट्रम्पले अमेरिकाले दिने वैदेशिक सहयोग ९० दिनसम्म बन्द हुने घोषणा गरिसकेका छन् ।
यूएसएडका उच्च अधिकारीहरुलाई ‘अतिवादी पागलहरु’ भनेका ट्रम्पले यूएसएडबारेमा थपेका थिए, ‘हामी उनीहरुलाई निकाल्छौं । र, त्यसपछि निर्णय लिन्छौं ।’