आइएल टी २० : नेपालका कुशल र दिपेन्द्र बेञ्च तताएको तताई – Nepal Press

आइएल टी २० : नेपालका कुशल र दिपेन्द्र बेञ्च तताएको तताई

कुशलको टिम शीर्षस्थानमा रहँदै क्वालिफायरमा उक्लिँदा दीपेन्द्रको लिग चरणबाटै आउट

काठमाडौं । यूएईमा जारी टि २० फ्रेन्चाइज लिग इन्टरनेसनल लिग टि २० (आइएल टी २०) मा लिग चरणका सबै खेलहरु सकिएका छन् । तर, उक्त प्रतियोगितामा सहभागी दुई नेपाली स्टारले एउटा म्याचमा पनि अवसर पाएनन् ।

नेपालका दुई स्टार दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल आइएल टी २० मा आवद्ध भएका थिए । कुशल यो प्रतियोगितामा पहिलोपटक र दीपेन्द्र दोस्रोपटक अनुवन्धित भएका हुन् ।

दीपेन्द्रलाई गत वर्ष गल्फ जाइन्ट्सले खरिद गरेको थियो । कुशललाई यस वर्ष डेजर्ट भाइपर्सले अनुबन्ध गरेको छ । तर, दुवै टिमले लिग चरणका १० खेल खेलिसक्दा उनीहरुले ब्याट र बल छुन पाएनन् । उनीहरुको भूमिका पानी बोक्नमै सीमित छ ।

विश्वकै चर्चित खेलाडीहरु सहभागी प्रतियोगितामा दीपेन्द्र र कुशल छनोट हुँदा नेपाली समर्थकहरु निकै उत्साहित थिए । तर, उनीहरुले एउटा पनि म्याच खेल्न नपाउँदा समर्थकहरुको उत्साह निराशामा बदलिइरहेको छ । दीपेन्द्रको टिम गल्फ जाइन्ट्स लिग चरणबाटै आउट भइसकेको छ ।

अघिल्लो वर्ष पनि अवसर नपाएका दिपेन्द्र यो वर्ष पनि एउटै म्याच नखेलिकन फर्किने भएका छन् । आइसीसीको टि २० अलराउन्डर वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रलाई उनको टिमले निकै हतोत्साही तुल्याएको छ ।

यता कुशलको टिम डेजर्ट भाइपर्स भने अंकतालिकाको शीर्षस्थानमा रहँदै क्वालिफायरमा उक्लिएको छ । बुधबार हुने पहिलो क्वालिफायरमा डेजर्ट भाइपर्स र दुबइ क्यापिटल भिड्नेछन् । यसमा विजयी भएमा भाइपर्स फाइनलमा पुग्ने छ भने पराजित भएमा दोस्रो क्वालिफायर खेल्नुपर्छ ।
टिमले उत्कृष्ट प्रदर्शन गरिरहँदा कुशल भने बेञ्चमै बसेर हेर्न बाध्य भए । उनले आफ्नो क्षमताको परीक्षण गर्नै पाएनन् । डच अलराउन्डर बास डे लिड घाइते भएपछि उनको विकल्पमा भाइपर्सले कुशललाई खरिद गरेको थियो । कुशललाई भित्र्याउँदा टिमले आफ्नो सामाजिक सञ्जालमा निकै महत्वका साथ प्रचारप्रसार पनि गर्यो । तर, प्लेइङ ११ को छनोट गर्दा भने उनलाई पुरै उपेक्षा गरिएको छ ।

भाइपर्सले लिग चरणमा १० खेल खेल्दा ७ जित निकालेको थियो । सर्वाधिक १४ अंक बटुल्दै भाइपर्स शीर्षस्थानमा रहन सफल भयो । न्यूजिल्यान्डका लक्की फर्गुसनले कप्तानी गरेको भाइपर्सको स्क्वाडमा २१ जना खेलाडीहरु छन् । उनीहरुमध्ये सर्वाधिक ८ जना ईंग्ल्यान्डका छन् ।

पाकिस्तानका फखार जमान, मोहम्मद आमिर, ईंग्ल्यान्डका एलेक्स हेल्स, साम कुरान, साम विलिङ्स, डेनियल लरेन्स, श्रीलंकाका वानिन्दु हसरंगा आदि टिमका प्रमुख नामहरु हुन् । अलराउन्डरहरु यथेष्ट संख्यामा भएकाले पनि कुशललाई मौका पाउन कठिन भइरहेको छ ।

सबैभन्दा निराशाजनक के छ भने स्क्वाडमा रहेका २१ खेलाडीमध्ये अहिलेसम्म एउटा खेलमा पनि अवसर नपाएका कुशल मात्र हुन् ।
दीपेन्द्रको गल्फ जाइन्ट्सले भने १० खेलमा ६ हार व्यहोर्दै पुछारबाट दोस्रो स्थानमा रह्यो । ईंग्ल्यान्डका ब्याटर जेम्स भिन्सले कप्तानी गरेको यो टीममा २६ जना खेलाडीहरुको भिड छ ।

यद्यपि, हाइप्रोफाइल खेलाडीहरु भने खासै छैनन् । दिपेन्द्रकै स्तरका धेरै खेलाडीहरुले मौका पाइरहे पनि उनलाई भने इग्नोर गरिहँदै आएको छ । लगातार दोस्रो सिजनमा खेलविहिन हुनु दिपेन्द्रका लागि ठूलो निराशा हो । नेपाली खेलाडीहरुलाई उपेक्षा गरिएको भन्दै सम्वन्धित टिमका पेजहरुमा नेपाली फ्यानहरुले आक्रोश व्यक्त गरिरहेका हुन्छन् ।


प्रतिक्रिया

One thought on “आइएल टी २० : नेपालका कुशल र दिपेन्द्र बेञ्च तताएको तताई

  1. अंग्रेजी नजानेर हाे भाषा नजानेपछी लाटाे भईन्छ तिनिहरु लाटा भएका छन त्यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *