एलन मस्कलाई साथ दिँदै ह्वाइट हाउस प्रवक्ताले यूएसएडका यी चार खर्चलाई भनिन् ‘वाहियात’ (भिडिओ)


काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति तथा अमेरिकी राष्ट्रपतिले सरकारी संयन्त्रको खर्च कटौतीमा खटाएका अनुहार एलन मस्कले तारन्तार अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडको कटाक्ष गरिरहेका छन् ।
घरी ‘राक्षस’ त घरी ‘आपराधिक संगठन’ भन्दै मस्क बिच्किएका छन् । उनले यूएसएडले मर्नुपर्ने सम्म भन्न भ्याएका छन् । टेस्ला कार , स्पेस एक्स कम्पनी र सामाजिक सञ्जाल एक्सका साहु मस्कले आफ्नै स्वामित्वको सामाजिक सञ्जालमा यूएसएड विरुद्धको कटाक्ष सार्वजनिक गरेका हुन् । र, मस्कको कटाक्ष सार्वजनिक भएको केहि समयमै ह्वाइट हाउसकी प्रवक्ताले मस्कको साथ दिएकी छिन् ।
उनले अमेरिकी करदाताहरूको रकम यूएसएडले ‘वाहियात’ क्षेत्रमा खर्च गरेको भन्दै चार उदाहरणको चिर्कटो पनि देखाएकी छिन् । चार उदाहरणहरूमा एक सर्वियाको कार्यक्षेत्रमा विविधता, समानता र समावेशिताको मुद्दामा खर्च गरिएको १५ लाख डलर, आयरल्यान्डको विविधता, समानता र समावेशिता क्षेत्रको संगीतमा खर्च गरिएको ७० हजार डलर, कोलम्बियाको ट्रान्सजेन्डर नाट्य क्षेत्रमा खर्च गरिएको ४७ हजार डलर र पेरुको ट्रान्सजेन्डर हास्य किताबमा खर्च गरिएको ३२ हजार डलरका चार उदाहरणका चिर्कटो देखाएर प्रवक्ता क्यारोलिन लेभिटले कटाक्ष गरेकी हुन् ।
यो पनि पढ्नुहोस्- यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
लेभिटले मस्कको पक्षमा बोलेको कुरालाई मस्कले पनि रिपोस्ट गरेका छन् जुन भिडियो एक्समा ३६ लाख बढिले हेरेका छन् ।
मस्कले नेतृत्व गरेको डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज)का कर्मचारीहरूलाई यूएसएडको भुक्तानी प्रणालीमा पहुँच नदिएको भन्दै समाचारहरू आएका छन् ।
यूएसएडको खर्चका कमजोरीहरू देखिने भएकोले पहुँच नदिइएको अनुमान गरिएको छ । अहिले यूएसएडको वेबसाइट पनि बन्द छ ।