सुदूरपश्चिममा डेढ लाख बढी किशोरीहरूलाई एचपीभी खोप लगाइँदै – Nepal Press

सुदूरपश्चिममा डेढ लाख बढी किशोरीहरूलाई एचपीभी खोप लगाइँदै

डोटी । मङ्गलवारदेखि सुरु हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तरगत सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार दुई सय ९१ जना किशोरीहरूलाई खोप लगाइने भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै किशोरीहरू र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई उक्त खोप लगाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका जन स्वास्थ्य निरीक्षक एवं खोप कार्यक्रम संयोजक मीनराज जोशीले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै र विद्यालय भन्दा बाहिर रहेको १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको छ ।

एचपिभी खोप अभियान अछाममा माघ २६ गतेसम्म चल्नेछ । सो अभियान अन्तरगत यस जिल्लामा विद्यालय जाने किशोरी १३ हजार ६ सय ७३ र नजाने दुई सय ४८ गरी १३ हजार ९ सय २१ किशोरीहरुलाई एचपिभी खोप लगाइँने भएको छ ।

यो अभियान कैलालीमा फागुन ४ सम्म चल्ने स्वास्थ्य निर्देशनालयका खोप संयोजक जोशीले जानकारी दिए । उनका अनुसार यस जिल्लामा विद्यालय जाने ४७ हजार तीन सय २६ र नजाने तीन हजार दुई सय ८७ गरी ५० हजार ६ सय १३ जना किशोरीहरूले यो खोप पाउनेछन् ।

यस्तै, दार्चुलामा २८ गतेसम्म चल्ने यो अभियान अन्तरगत सात हजार दुई सय ९१ जना किशोरीहरूले उक्त खोप पाउनेछन् । यस जिल्लामा विद्यालय जाने सात हजार दुई सय ६२ र नजाने २९ जना रहेको निर्देशनालयसंग अभिलेख छ ।

बैतडी जिल्लामा यो अभियान फागुन १ सम्म चल्ने गरी योजना बनाइएको छ । यस जिल्लामा विद्यालय जाने १३ हजार दुई सय ६३ र नजाने तीन सय एक गरी १३ हजार पाँच सय ६४ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने जोशीले जानकारी दिए ।

यो खोप अभियान डडेलधुरा जिल्लामा माघ २७ गतेसम्म सञ्चालन हुनेछ । यस जिल्लामा विद्यालय जाने ६ हजार नौ सय ६२ र नजाने २४ गरी ६ हजार नौ सय ८६ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने भएको छ ।

डोटीमा यो अभियान माघ २८ गतेसम्म सञ्चालन हुनेछ । यस अभियान अन्तरगत डोटीमा ११ हजार चार सय ८७ जना किशोरीहरूलाई खोप लगाइनेछ । यस जिल्लामा विद्यालय जाने १० हजार नौ सय एक र नजाने पाँच सय ८६ किशोरीहरूले यो खोप पाउनेछन् ।

यस्तै, बाजुरा जिल्लामा यो अभियान माघ २८ गतेसम्म चल्ने गरी योजना बनाइएको छ । यस जिल्लामा विद्यालय जाने सात हजार आठ सय ६० र नजाने ३४ गरी सात हजार आठ सय ९४ जना किशोरीहरूले यो खोप पाउनेछन् ।

बझाङमा माघ २६ सम्म यो अभियान सञ्चालन हुनेछ । यस अभियान अन्तरगत बझाङमा विद्यालय जाने ११ हजार आठ सय ३५ र नजाने दुई सय गरी १२ हजार पाँच सय किशोरीहरूले यो खोप पाउने छन् ।

अभियान अन्तरगत कञ्चनपुर जिल्लामा माघ २९ गतेसम्म खोप लगाइनेछ । यस जिल्लामा विद्यालय जाने २६ हजार आठ सय १२ र नजाने ६ सय ८८ गरी २७ हजार पाँच सय किशोरीहरूले एचपिभी खोप पाउनेछन् ।

निर्देशनालयका जन स्वास्थ्य निरीक्षक जोशीका अनुसार खोप लगाउनका लागि प्रदेशभर दुई हजार आठ सय ५३ खोप केन्द्रहरू स्थापना गरिएको छ । खोप केन्द्रहरू विद्यालयमा दुई हजार १४ र अन्य आठ सय ३९ रहेका छन् ।

अभियानका लागि प्रदेशभर दुई हजार आठ सय सात जना स्वास्थ्यकर्मी र पाँच हजार पाँच सय ९८ स्वयंसेवक परिचालन स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर