पशुपतिनाथमा दुनाटपरी बेचेर पेट पालेकी अष्टमायाको संघर्षको कथा


काठमाडौं । मुलपानीबाट दिनहुँजसो बिहान सबैरै तछाडमछाड गर्दै पशुपति पुग्छिन् ७५ वर्षीया अष्टमाया महर्जन । पशुपतिनाथको दर्शन गर्न भने होइन् तिनै पशुपतिनाथको दर्शन गर्न आएका दर्शनार्थीलाई पूजाआजाका सामग्री बेच्नु छ उनलाई । त्यसैले पनि उनी दर्शनार्थी भन्दा अघि पुगिसक्नुपर्नेछ ।
बिहान सबेरै पशुपतिको गल्लीमा सालको दुनाटपरी फिँजाएर दैनिकी सुरू हुन्छ अष्टमायाको । उनका तीन छोरी र दुई छोरा छन् । उनीहरु सबैको बिहेदान भइसकेको छ ।
तर, अष्टमायाको वृद्ध जीवन संघर्षमय छ । वृद्ध ज्यान दुई-चार रूपैयाँ कमाइ होला भनेर सबैरै भागदौड गर्नुपरेको छ । ९ वर्षअघि श्रीमान् र एक छोराको मृत्यु भएपछि उनको जीवन थप कठिन बन्यो।
अरु छोराछोरीबाट सहयोग नपाएपछि जीविका चलाउन मन्दिर छेवैमा दुनाटपरीमा फूलपाती बेच्न थालेको उनी बताउँछिन् । उनलाई साग बेचेर भन्दा यसरी फूलपाती बेच्न केही सहज भएको छ । धेरै समय भएको छैन उनले पूजाको सामग्री राखेर बेच्न थालेको ।
अष्टमायाको जीवन कहिल्यै सहज भएन । एक समय उनी मुलपानीबाट चाबहिलसम्म सागको भारी बोकेर गुजारा गर्थिन्, तर उमेरले ढल्केपछि त्यो काम सम्भव भएन । अहिले उनले दुना-टपरी गास्ने सीप र पूजा सामग्री बिक्री गरेर आफ्नो दैनिकी चलाइरहेकी छन् ।
दिनभर खटिए पनि दैनिक २०० रुपैयाँ कमाउन गाह्रो हुने उनी बताउँछिन् । व्यापार सधैँ एकैनाशको हुँदैन कहिलेकाहीँ त पशुपति आउजाउकै ४० रुपैयाँ भाडा जुटाउन पनि कठिन हुन्छ।
‘कहिलेकाहीँ व्यापार नभएर रित्तो हात पनि घर फर्कनुपर्छ ’ उनी भन्छिन् ।
नेपाल सरकारले उपलब्ध गराएको एकल महिला भत्ताले केही राहत दिएको छ, तर, त्यो पर्याप्त नभएको उनी गुनासो गर्छिन्। तर, उनी भत्ताको मात्रै भर परेकी छैनन् । बल छउन्जेल आफ्नो सीप र मेहनत गरेर खाने बताउँछिन् ।
अष्टमायाले आफ्नो सीप र मेहनतको भरमा दुना-टपरी व्यापारलाई निरन्तरता दिँदै आफूलाई आत्मनिर्भर बनाएकी छन् । आफ्नो संघर्षले समाजका अन्य वृद्धवृद्धालाई पनि प्रेरणा दिने उनी बताउँछिन् ।
उनी भन्छिन्,‘ बुढेसकालमा पनि मेहनत र आत्मनिर्भरताले जीवनलाई सार्थक बनाउन सकिन्छ । दिन कसरी काट्नु भन्ने चिन्ता पनि हुँदैन । कमाइ नहुँदा सबैको अपहेलना हुनु परेन ।’
(प्रतिक्षार्थी पत्रकारहरू समीक्षा मैनाली, सिर्जना कटुवाल, सुस्मिता कार्की र सन्जना तामाङद्वारा तयार सामग्री )