नुवाकोटका युवक यूएईमा कार्यरत कम्पनीमा मृत फेला, मृत्युअघि लिएका थिए २ जनाको नाम – Nepal Press

नुवाकोटका युवक यूएईमा कार्यरत कम्पनीमा मृत फेला, मृत्युअघि लिएका थिए २ जनाको नाम

काठमाडौं । नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आफू कार्यरत कम्पनीमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

जिल्लाको बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत फेला परेका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए । मृतकका भाई हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत घटनाको जानकारी पाएको बताए ।

मृतक तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए । पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन् । हरिहरका अनुसार कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरुसँग नियमित सम्पर्कमा थिए । अन्तिमपटक घटनाको एक सताअघि दाईसँग आफ्नो कुरा भएको हरिहरले बताए । घटनाभन्दा केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन् ।

उनले आफ्नो दाईले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुनसक्ने आशंका गरे । घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनको भनाइ छ ।

बेलकोटगढी–१० का वडाअध्यक्ष प्रल्हाद थपलियासहित आफूहरु जाहेरी दिन गएको भए पनि प्रहरीले नमिल्ने भन्दै फर्काइदिएको हरिहरले बताए । कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई शव नबुझ्ने अडान परिवारको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको पुष्टि गरे । उनले दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशबिना मृतकको अडियोका आधरमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालका भएका मानिसका कारण म मर्दैछु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन’, रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोष्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ । त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ । रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ ।’

जिल्लामा जाहेरी लिन नमानेपछि आफूहरु प्रहरीको साइबर ब्युरोमा गएको र त्यहाँ पनि जाहेरी लिन नमानेको मृतक परिवारले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर