‘सरस्वती पूजा’ संस्कार : यस्ता छन् बाल मनोविज्ञानलाई मजबुत पार्ने आधार

ज्ञानको आरम्भको रुपमा रहेको सरस्वती पूजामा आफ्ना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । यसका प्राचीनतम वैदिक विभिन्न मान्यताहरु रहेका छन् ।
हिन्दू सनातन धर्ममा श्री पञ्चमी वा बसन्त पञ्चमीमा सरस्वतीलाई विद्या, कला र संगीतकी देवीका रुपमा पूजा अर्चना गर्ने चलन रहिआएको छ । विशेषगरी आफ्ना नानीबाबुको विद्याको औपचारिक सुरुवात गर्ने विशेष साइतका रुपमा यस दिनलाई लिइन्छ । त्यस्तै, यससँगै बसन्त ऋतुको सुरु हुने मान्यता पनि रहेको छ । अर्थात् नयाँ मौसमी परिवर्तनसँग तयार गराउने दिनका रुपमा पनि रहेको देखिन्छ ।
तर हाम्रा यस किसिमका प्राचीन परम्पराहरुमा मानवको मनोविज्ञानका बहुआयामिक पक्षहरु समेटिएका हुन्छन् । ति पक्षहरुलाई हाम्रा पर्व र संस्कारसँग जोड्दै बालबालिकाको सर्वांगीण विकासमा योगदान गर्न सकिन्छ ।
हिन्दू संस्कारमा मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने व्यवहारिक आयामलाई उजागार गरिएको छ । जसमध्ये ज्ञानको पूजा गर्ने दिनको रुपमा यस दिन रहेको छ । धार्मिक हिसाबले हेर्दा सरस्वतीको मन्त्र जप गर्दै, फूलपाती चढाएर पूजा गरी विद्याका लागि प्रार्थना गर्ने चलन छ ।
तर हाम्रा यस किसिमका प्राचीन परम्पराहरुमा मानवको मनोविज्ञानका बहुआयामिक पक्षहरु समेटिएका हुन्छन् । ति पक्षहरुलाई हाम्रा पर्व र संस्कारसँग जोड्दै बालबालिकाको सर्वांगीण विकासमा योगदान गर्न सकिन्छ । सरस्वती पूजा, अक्षरारम्भ र वसन्त ऋतुको आगामनसँग बालबालिकाको मनोविज्ञान जसले उनीहरुको सिकाइमा खेल्ने भूमिकालाई मनोविज्ञानका आधुनिक सिद्धान्तसँग जोडेर व्याख्या गर्ने प्रयास गरिएको छ ।
१. भाइगोत्स्किीको सामाजिक सांस्कृतिक सिद्धान्त
सन् १९२० मा प्रतिपादित लेभ भाइगोत्स्कीको सामाजिक सांस्कृतिक सिद्धान्तअनुसार सामाजिक अन्तरक्रिया र सांस्कृतिक आयामहरुले बालबालिकाको संज्ञात्मक विकासमा भूमिका खेल्छ, विशेषगरी जोन अफ प्राक्जिमल डिभलपमेन्टमा योगदान दिन्छ ।
सरस्वती पूजा र सिकाइको आरम्भमा यस सिद्धान्तको सम्बन्ध हेर्ने हो भने यस्ता उपलक्ष्यमा बालबालिकाहरु आफ्ना शिक्षक, ठूला विद्यार्थी, एवम् आफ्नै साथीहरुसँगको निरन्तर अन्तरक्रियामा सामेल हुन्छन् । यसरी अन्यसँगको सामाजिक संवाद, साझा अनुभवले बालबालिकाको संज्ञानात्मक क्षमतालाई अभिवृद्धि गर्छ, जसले अन्ततः सिकाइ प्रक्रियामा अहम् भूमिका खेल्छ ।
के गर्ने ?
सुरक्षित तवरले स्वतन्त्ररुपमा समारोहमा सरिक हुन प्रेरित गर्ने
२. पीयाजेको संज्ञानात्मक विकासको सिद्धान्त
सन् १९३० मा जीन पियाजेले जन्मेदेखि १२ वर्ष र त्यसमाथिका बालबालिकाको विकासबारे विभिन्न चरणमा व्याख्या गरेका छन् । जसमा संवेदनाका आधारमा छोएर, महसुस गरेर हुने सिकाइदेखि सांकेतिक वस्तुहरुबारे सोचेर हुने सिकाइ हुँदै तार्किक एवम् सारतत्वका रुपमा विकास हुनेसम्मका परिपक्व सिकाइका चरणबारे उल्लेख गरिएको छ ।
नेपालमा संस्कृतिका रुपमा रहेको सरस्वती पूजामा उमेरअनुसारका बालबालिकाहरुको यो पर्वमा सरिक हुने तरिका फरक छन् । जस्तै, ३ वर्षसम्मका बालबालिकालाई किताब, कापी, पेन्सिलजस्ता सिकाइसँग सम्बिन्धत सामग्रीसँग नजिक्याएर सिकाइका लागि प्रेरित गरिन्छ ।
नेपालमा संस्कृतिका रुपमा रहेको सरस्वती पूजामा उमेरअनुसारका बालबालिकाहरुको यो पर्वमा सरिक हुने तरिका फरक छन् । जस्तै, ३ वर्षसम्मका बालबालिकालाई किताब, कापी, पेन्सिलजस्ता सिकाइसँग सम्बिन्धत सामग्रीसँग नजिक्याएर सिकाइका लागि प्रेरित गरिन्छ ।
त्यस्तै, उमेर बढ्दै जाँदा, सरस्वतीको मन्त्र वाचन गराउने, गीत संगीतमा रम्न लगाउने, बाध्यबाधन बजाउन लगाउने कार्यले सिकाइलाई र मुलतः जीवन भोगाइलाई सहज बनाइदिन्छ । यसरी सरस्वती पूजाको मनोवैज्ञानिक धरातल आधुनिक सिद्धान्तहरुसँग तालमेल हुन्छ ।
के गर्ने ?
उमेरअनुसार बालबालिकालाई आआफ्नो कला प्रदर्शन गर्न प्रेरित गर्ने ।
३. एरिक्सनको मनोसामाजिक विकास सिद्धान्त
२० औं शताब्दीको मध्यतिर विकास भएको यो सिद्धान्तले मानव विकासका शिशुदेखि प्रौढ अवस्थाको सम्मको मनोसामाजिक विकासलाई ८ वटा चरणमा व्यख्या गर्छ ।
ति प्रत्येक चरणमा हुने मनोसामाजिक द्वन्द्वलाई सम्बोधन गरिएको खण्डमा बालबालिकामा उमेरसँगै विश्वास, स्वतन्त्रता, प्रतिस्पर्धा तथा बुद्धिमता जस्ता गुणहरु विकास हुँदै जान्छ भन्ने यस सिद्धान्तको सार हो । यसले मुख्य जोड दिने अर्को पक्ष भनेको मानिसको मनोसामाजिक विकासमा सामाजिक सम्बन्ध तथा सांस्कृतिक प्रभाव र आफ्नो आन्तरिक एवम् बाह्य तत्वहरुले भूमिका खेल्छ ।
अब यस सिद्धान्तको सरस्वती पूजासँगको सम्बन्ध कसरी हुन्छ त ? सरस्वती पूजामा हुने सांस्कृतिक तथा अध्यात्मिक पक्षले सामाजिक सम्बन्ध, घनिष्ठता एवम् पहिचान तथा विकासका चरणलाई बढावा दिन्छन् ।
के गर्ने ?
ठूलाले साना विद्यार्थीलाई नेतृत्व गर्न प्रेरित गर्ने ।
४.सामाजिक सिकाइको सिद्धान्त
एलबर्ट बाण्डुराले सन् १९६० मा प्रतिपादन गरेको सामाजिक सिकाइको सिद्धान्तले बालबालिकाले अरुको बानी व्यवहारको अवलोकन एवम् नक्कल गरेर सिकाइमा भाग लिने बताउँछ । यसमा आफूभन्दा ठूला अभिभावक, शिक्षक, एवम् ठूला कक्षाका व्यक्तिहरुले के–के गर्छन् भन्ने कुराले बालबालिकाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्दछ ।
वर्षेनि गरिने सरस्वती पूजा आफैंमा एउटा सामाजिक कार्य हो । जहाँ सबैजनाको विभिन्न किसिमका जिम्मेवारी र भूमिका रहन्छ । जसमा आफ्ना शिक्षक र ठूला कक्षाका विद्यार्थीले गरेको हेरेर बालबालिकाको सिकाइको दायरा बढ्ने गर्छ । जस्तै, मन्त्र वाचन, पढ्ने, अनुशासित भएर कार्यक्रममा सहभागी हुने, धैर्य रहने, आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता पक्षलाई ससाना बालबालिकाले हेरेर सिक्ने गर्छन् ।
के गर्ने ?
हरेकलाई सक्ने जिम्मेवारी प्रदान गर्ने जसले ठूलाबाट सिक्ने प्रयास गर्छ
५. भावनात्मक बुद्धिमत्ता
पछिल्लो समयको प्रभावशाली सिद्धान्तका रुपमा रहेको भावनात्मक बुद्धिमत्ता सन् १९८० मा डेनियल कोलमेनले विकास गरेका हुन् । यसका अनुसार मानिसले आफ्नो र अरुको भावनालाई प्रभावकारी रुपमा बुझ्न सक्नु, व्यवस्थापन गर्न सक्नु र परिचालित एवम् उपयोग गर्नेबारेमा सम्बन्धित छ । अर्थात् जो बालबालिकाले आफ्नो र अन्य व्यक्तिको भावनात्मक अवस्थालाई महसुस गरेर सिकाइमा सहभागी हुन सक्ने हो भने तुलनात्मकरुपमा गुणस्तरीयता प्राप्त हुन्छ ।
पूजाअर्चनामा हुने प्रक्रिया जस्तै, खाना नखाइ पूजा गर्नुपर्ने, शान्त र अनुशासित अनि धैर्य रहने, आफ्नो भावनालाई नियाल्ने वा महसुस गर्ने जस्ता पक्ष यस सिद्धान्तमा सम्बन्धित छ । सरस्वती पूजामा हुने भावनात्मक सहयोग जस्तै, आफ्नो पालो पर्खने र सानालाई अगाडि बस्न अनुमति दिने, फरक क्षमता भएकालाई प्राथमिकता दिने जस्ता क्रियाकलापले पनि बालबालिकालाई अरुको भावना बुझ्न समेत प्रेरित गर्दछ । जसले नैतिक सिकाइमा उल्लेखनीय भूमिका खेल्छ ।
के गर्ने ?
स्वयमसेवामा लाग्न प्रेरित गर्ने ।
६. स्वनिर्धारणको सिद्धान्त
यस सिद्धान्तअनुसार मानिसले आफ्नो आन्तरिक उत्प्रेरणा आफ्नो स्वतन्त्रता, प्रतिस्पर्धा र सम्बन्धसँग सम्बन्धित हुने व्याख्या गर्छ । सरस्वती पूजाजस्ता समारोहले बालबालिकाहरुलाई विभिन्न सिर्जनशील गतिविधिलाई चुन्ने स्वतन्त्रता प्रदान गर्दछ ।
जस्तै, कसले के गतिविधि वा सिर्जनशीलता प्रदर्शन गर्ने भन्ने विषयमा उनीहरुलाई प्रेरित गरिन्छ । त्यस्तै, आफ्नो आत्मविश्वास बढाउन शैक्षिक एवम् विभिन्न कला प्रदर्शनको अवसर पनि प्राप्त हुन्छ । जसले प्रतिस्पर्धामा अब्बल रहन मद्दत गर्छ भने समारोहमा बालबालिकाले आफ्नो पनि अपनत्व महसुस गर्छन् जसले सिकाइको उत्प्रेरणालाई बढावा दिन्छ ।
के गर्ने ?
स्वस्थ प्रतिस्पर्धामा सामेल गराउन भूमिका खेल्ने ।
७. बोलबाइको संलग्नता सिद्धान्त
जोन बोलबाइको यस सिद्धान्तले बालबालिकाको स्वस्थ विकासका लागि सुरक्षित सम्बन्धमा जोड दिन्छ ।
सरस्वती पूजासँगको सम्बन्ध केलाउँदा त्यस अवसरमा बालबालिकालाई हुने विशेष हेरचाह, सम्मानले भावनात्मक घनिष्ठतालाई बढाउनुका साथै सुरक्षित महसुस गराउँछ जसले अन्ततः सिकाइको विकासलाई नै सघाउ पुर्याउँछ ।
के गर्ने ?
समूहमा पालैपालो जिम्मेवारी प्रदान गर्ने ।
तसर्थ, यसलाई केवल पूजाको रुपमा मात्र नभइ बालबालिकाको सर्वांगीण विकासमा हुने मनोविज्ञानका व्यवहारिक आयामका रुपमा समेत व्याख्या गर्न सकिन्छ ।
त्यस्तै, यो समय बसन्तको सुरु हुने समय हो । भर्खरै जाडो सकिएपछिको समयमा समायोजन गर्दै बालबालिकाले सिकाइ प्रक्रियामा सहभागी हुन्छन् । सरस्वती पूजामा हुने क्रियाकलापले नयाँ ऊर्जाका साथ सिकाइमा उत्साह थप्ने गर्छ ।
निष्कर्षमा सरस्वती पूजा हाम्रो संस्कृतिको रुपमा चलिआएको परम्परा हो । तर यसमा हुने गतिविधिले बालबालिकाको मनोवैज्ञानिक पक्षलाई प्रत्यक्ष प्रभाव पार्दछ ।
तसर्थ, यसलाई केवल पूजाको रुपमा मात्र नभइ बालबालिकाको सर्वांगीण विकासमा हुने मनोविज्ञानका व्यवहारिक आयामका रुपमा समेत व्याख्या गर्न सकिन्छ । अभिभावक र शिक्षकले त्यही किसिमले यस समारोहलाई सदुपयोग गर्न उपयुक्त हुन्छ । विद्यार्थीको सिकाइमा थप बल पुग्नुका साथै उत्प्रेरित बनाइरहन मद्दत पुग्दछ ।