अग्नि सापकोटालाई प्रश्न- अखिलको निर्वाचन परिणामपछि पार्टीमा जनार्दनको पकड बढेको हो ? (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको निर्वाचनबाट पार्टीमा उपमहासचिव जनार्दन शर्माको जबरजस्त पकड बढेको भनेर भइरहेको चर्चामा कुनै सत्यता नभएको प्रष्ट्याएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकपछि प्रवक्तासमेत रहेका सापकोटाले पार्टी एकताबद्ध रहेको दाबी गरे ।
जनार्दनको पकडबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सापकोटाले भने, ‘त्यो टीकाटिप्पणी नबुझेर प्रचार गर्नुभएको होला । ती सबै अखिल क्रान्तिकारीका विद्यार्थी हुन् । सबै पार्टी संगठनमा काम गरेका विद्यार्थी नेताहरुले जितेका छन् । बाहिर टीकाटिप्पणी गरेको जस्तो होइन, पार्टी एकताबद्ध भएको छ । आज भएका सबै निर्णयहरु सर्वसम्मत भएका छन् । बाहिर भएको चर्चामा कुनै सत्यता छैन । मनोगत टीकाटिप्पणी हो । अल्प-सूचनाको आधारमा चर्चा भइरहेको छ ।’
हालै अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न भएको निर्वाचनमा शर्मा पक्षका हेमन्त राई अध्यक्षमा छिनो मतले हारे पनि उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित बहुमत पदमा जितेका छन् । अध्यक्षबाहेक ५ जना उपाध्यक्ष र महासचिवसहित २२ जना पदाधिकारी शर्मा निकटका विजयी भए ।
अखिल क्रान्तिकारीको निर्वाचनपछि पार्टीमा शक्तिशाली देखिएका शर्मा आगामी महाधिवेशनबाट पार्टी नेतृत्वको तयारीमा छन् । अखिलको पदाधिकारीमा बहुमत सदस्य आफू निकट आएपछि शर्माले बेग्लै भेलासमेत राखिसकेका छन् ।