सिलिगुडी पुगेर गीत गाउन नपाई फर्कियो सविन राईको टीम, भने- ‘स्क्याम’ मा परियो


काठमाडौं । सबै पूर्वतयारी सकेर अन्तिममा प्रस्तुतिको लागि तयार भएपछि एक्कासी कार्यक्रम रोकियो भने एउटा कलाकारलाई कस्तो लाग्ला ? समयमै पुगेर पनि प्रस्तुति दिन नपाएपछि गायक सविन राई र उनको व्याण्डलाई नरमाइलो लागेको छ ।
ब्याण्डसहित सिलिगुडी सुक्ना कार्यक्रममा पुगेका गायक सविनको प्रस्तुति आयोजकको कारण रोकिएको छ ।
सविनको टीमले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै आफूहरू स्क्याममा परेको बताएका छन् । समयमै आउँदा आउँदै पनि आयोजकको बेवास्ताले प्रस्तुति दिन नपाएको उनीहरूको गुनासो छ ।
सविनले भनेका छन, ‘हेलो सिलिगुडी ! हिजो फेब्रुअरी २ सुक्नाको शोका लागि हामी आएका थियौं । तर, हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौं । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ । आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो लागेर हामी अगाडि बढेनौं ।’
आफूहरू ७ बजे प्रस्तुतिका लागि रेडी भइसकेको बताएका उनले आयोजक कसैले आएर ‘यो गर्नुपर्छ, यस्तो सेड्युल छ’ नभनेको उनको भनाइ छ ।
भिडिओमा भनिएको छ, ‘९ बजेपछि भने फोन नै उठेन । ११ बजेसम्म हामीहरू तयारी अवस्थामा रहे पनि कसैले खबर गर्नु भएन ।’
उनीहरूको साथमा स्वप्निल शर्मा पनि थिए ।