तराईसँग भोजपुरको पहुँच अझ सहज बन्दै- चुहारदेखि घोडेटार सडकको कालोपत्रे सुरू

भोजपुर (घोडेटार) । भोजपुरको दूधकोसी चुहार-फलाम ढुंगा-घोडेटार सडकको कालोपत्रेको काम सुरू गरिएको छ । यो सडक तराईसँग जिल्लाको पहुँचलाई अझ सहज बनाउने महत्वपूर्ण सडक हो ।
किराँती नाङ्छुङ कर्णबहादुर राईले किराँती मुन्धुमअनुसार पूजापाठ गरी आयोजनाको शुभारम्भ गरे । कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण कम्पनी प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।
ग्रामीण सम्पर्क सुधार आयोजना, कार्यान्वयन इकाई कोशी विराटनगरको नेतृत्वमा सञ्चालन हुने २२.७ किलोमिटर स्तरोन्नतिसहितको यो सडक निर्माणको जिम्मा एमएसएमसी- एसईआआईपीएल एनसी जेभीले लिएका छन् ।
परियोजनाको लागत करसहित ७२ करोड ९८ लाख १६ हजार रहेको छ । सडक कालोपत्रे २०८३ मंसिर २८ सम्म सक्नुपर्ने सम्झौता छ ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न मद्दत गर्ने र समृद्ध हतुवागढी निर्माणमा टेवा पुग्ने बताए । सँगै जिल्लाको समग्र विकासमा कोसेढुंगा बन्ने उनको विश्वास थियो ।
निर्माण कम्पनीका प्रतिनिधि अर्जुन दाहालले छिटो काम सक्न चार ठाउँबाट एकैसाथ काम सक्ने योजना बनाएको बताए । यो सडकले जिल्लाको आर्थिक/सामाजिक विकासमा टेवा पुग्ने भन्दै स्थानीय अगुवाले पहलकर्ता पूर्वमुख्यमन्त्री शेरधन राईप्रति कार्यक्रममा आभार जनाए ।