विवाह किन गर्ने ? – Nepal Press

विवाह किन गर्ने ?

एउटा पत्रिकामा पढेको थिएँ नेपालमा गत वर्ष ३७ हजार विवाहित जोडीको सम्बन्ध विच्छेद भएको रहेछ । यो तथ्यांक पश्चिमा विकसित मुलुकहरूमा त अझै ठूलो छ । मानव सभ्यताको विकास क्रमसँगै जन्मेको समाजलाई अझै व्यवस्थित, समुन्नत र सन्तुलित बनाउने उद्देश्यले प्रचलनमा आएको विवाह सबैभन्दा पुरानो संस्था हो । माथिको तथ्याङ्कलाई हेर्ने हो भने एक हदसम्म विवाह संस्था असफलतातर्फ गएको देखिन्छ । आजभोलि विकसित मुलुकहरुका युवाहरूमा विवाहको दर पनि घट्दो क्रममा छ । मानवीय सम्बन्धप्रतिको वितृष्णा आज मानव विकास र समाजको लागि पनि एक गम्भीर चुनौतीको रुपमा देखिने सम्भावना छ, तर यस अन्तरनिर्भर समाजमा मानवीय सम्बन्धविना आफ्नो अस्तित्व पनि त सम्भव छैन ।

विनानामको सम्बन्धलाई अनैतिक मान्ने यो समाजमा सम्बन्धलाई सामाजिक र कानूनी नाम दिने औपचारिकता पनि हो विवाह । त्यही भएर त युवायुवती प्रेमको गन्तव्य विवाहमा देख्छन् । पाश्चात्य संस्कृतिको अनुशरण गर्दै नेपाली समाजमा विशेषगरी शहरी क्षेत्रमा बढ्दै गइरहेको लिभिङ टुगेडरलाई पनि अहिले विवाहसरह मान्यता दिनुपर्छ भन्ने आवाज सुनिँदैछ । सायद चाँडै कानून पनि बन्छ होला, तर के सम्बन्धलाई सामाजिक र कानूनी मान्यता दिलाउँदैमा सम्बन्ध सफल हुन्छ त ? मानवीय सम्बन्धले नाममात्र खोज्दैन । त्यसभित्रका कर्तव्य र जिम्मेवारीलाई निर्वाह गर्नसक्ने क्षमता र एकअर्काको महत्त्वलाई बुझ्नसक्ने परिपक्वताको विकास भएन भने सम्बन्ध सफल हुन सक्दैन । विवाह आफैंमा एक बाचा वा प्रतिबद्धता भएको कारण पनि विवाह किन गर्ने भन्ने प्रश्नको उत्तर खोज्नु जरूरी छ ।

विवाहलाई एक महत्त्वपूर्ण संस्कारको रुपमा मान्ने समाजको दबाब वा प्रभावमा परी कति युवायुवती विवाह किन गर्ने भन्ने प्रश्नको उत्तर नखोजी हत्तारमा गर्ने अनि फुर्सदमा पछुताउने धेरै छन् । विवाह प्राकृतिक नभएर एक संस्कार भएको कारण पनि विवाहपूर्व नै एकअर्काका मूल्य मान्यता अनि विश्वासलाई बुझ्न समय निकाल्नुपर्छ, जसले आइपर्ने कठिनाइलाई सामना गर्न र समाधान निकाल्न सघाउँछ, तर भावनाको क्षणिक रमाइलो प्राथमिकतामा पर्दा विवाहको कार्यक्रमलाई कसरी भव्य बनाउने भन्ने कुराको तयारीमा मात्र ध्यान हुन्छ । एक जना दाइले बाजागाजासहितको जन्त आइरहेको देखाएर भन्दै हुनुहुन्थ्यो- ‘देख्यौ ! दुःख त थाहै नदिई होइन, बाजा बजाएरै आउने रहेछ ।’ यसले सहजै अनुमान लाउन सकिन्थ्यो कि उहाँ आफ्नो वैवाहिक जीवनमा सन्तुष्ट हुनुहुन्न भनेर । विवाह आफैंमा एक दीर्घकालीन सम्बन्धप्रतिको प्रतिबद्धता हो न कि लहैलहैमा वा देखासिकी गर्ने कुरा हो । एक-अर्काको आवश्यकता पूर्ति गरी जीवनलाई सहज बनाउन चाहिने साथ र सहयोगको प्रतिबद्धताको रुपमा विवाहलाई लिइन्छ ।

मानवीय सम्बन्धले नाममात्र खोज्दैन । त्यसभित्रका कर्तव्य र जिम्मेवारीलाई निर्वाह गर्नसक्ने क्षमता र एकअर्काको महत्त्वलाई बुझ्नसक्ने परिपक्वताको विकास भएन भने सम्बन्ध सफल हुन सक्दैन ।

विवाह किन गर्ने भन्ने कुरामा सबैको आआफ्नै तर्क वा उत्तर होलान् ! मेरो आफन्त आन्टीले मलाई विवाहको लागि सम्झाउँदै भन्नुहुन्थ्यो- ‘अहिले आफू बलियो हुँदासम्म त ठीकै हो, तर आफू बूढो भएपछि आफूलाई हेर्ने कोही त चाहिन्छ । आफ्नो संसार बसाउन पनि विवाह गर्नैपर्छ ।’ उहाँको कुरा पनि सही हो । भोलि आफू कमजोर हुँदा कोही त चाहिन्छ, तर के त्यो साथ विवाहले मात्र सम्भव हुन्छ भन्ने छ र ? आफैंले जन्माएका छोराछोरीहरू भएर पनि बुढेसकालमा एक्लो भएकाहरू देखेकै छौं । छोराछोरीले बुढेसकालमा हेरविचार गर्छन् भनी आशा गरेर उनीहरूलाई पनि दुःखी बनाउनु हुँदैन । अहिले समय फेरिसकेको छ । सायद छोराछोरीहरूलाई अब आफ्नै लागि पनि समय निकाल्न सकस हुनेछ । मुख्य कुरा भनेको आफू कसरी आत्मनिर्भर हुने भन्ने कुरा हो, जसले हामीलाई यो अन्तरनिर्भर संसारमा बाँच्न सघाउँछ ।

भारतका धनाढ्य रतन टाटा अविवाहित रहेरै जीवन लीला सकाएर गए, तर उहाँले आफ्नो धनका कारणमात्र साथ दिनेहरू पाएको होइन, उहाँको मन ठूलो भएर अरूहरू अटेका हुन् । मसँग थेरापीको लागि आउने एक अविवाहित उद्यमी युवा भन्दै हुनुहुन्थ्यो- ‘मेरो यत्रो सम्पत्ति छ, आफ्नो परिवार/बच्चाहरू भएन भने त यो सम्पत्ति के हुने होला ?’ म भन्दै थिएँ- ‘शरीर र रगतको नातामा मात्र आफ्नाहरू खोज्दा आफ्नो संसार पनि सानो हुन्छ । एउटा आफ्नो खोज्ने प्रयासमा हजारौं आफ्नाहरू छुट्न सक्छन् । त्यस्तै लाग्छ भने आफ्नो नामको एउटा ट्रस्ट स्थापना गर्न सकिन्छ, जहाँ हजारौं असहायहरूले आफ्नो संसार पाउनसक्छन् ।’

यो पढ्नुहोला: सुखी र सफल जीवनको आधार स्वस्थ सम्बन्ध

केही महिनाअघि मेरो साथीको छोराको ब्रतवन्धको भोजमा सामेल थिएँ । मेरा बालापनका साथीहरूको जमघट थियो । रक्सी लागेको सुरमा एउटा साथी भन्दै थिए- ‘तिमीले अहिलेसम्म विवाह नगरी बसेकोमा हामीलाई शंका लाग्छ ।’ अर्को साथीले जिस्क्याउँदै ‘अविवाहितहरू अर्को जन्ममा खै के भएर जन्मिनुपर्छ भन्ने छ नि है’ भनी सम्झाउँदै थिए । त्यस्तो माहोलमा विवाह जस्तो गम्भीर कुरामा के बहस गरूँ भनेर हल्काफुल्का रमाइलोमा नै कटाइदिएँ । विवाह वास्तवमै यौन वा भनौं आफ्नो वासना पूर्तिको लागि लाइसेन्समात्र पनि होइन । एकछिनको न्यानो ओछ्यानले जीवन थेग्ने पनि होइन । भावनात्मक रुपमा नजिक हुन गाह्रो लाग्नेहरू शारीरिक सामिप्यताको क्षणिक आनन्दमा नै सीमित हुन खोज्नु र त्यसैलाई प्रेम सम्झने कुरा कुनै आश्चार्यको विषय पनि भएन ।

विवाह आफैंमा एक दीर्घकालीन सम्बन्धप्रतिको प्रतिबद्धता हो न कि लहैलहैमा वा देखासिकी गर्ने कुरा हो । एक-अर्काको आवश्यकता पूर्ति गरी जीवनलाई सहज बनाउन चाहिने साथ र सहयोगको प्रतिबद्धताको रुपमा विवाहलाई लिइन्छ ।

यो पनि पढ्नुहोला : यौन, प्रेम र विवाह

मेरो कलेज पढ्दाका साथी अहिले पेशाले नर्ससँगको भेटमा मेरो विवाहको बारे जिज्ञासा राख्दै आफ्नो क्यारियरलाई मात्र प्राथमिकतामा लिएर जीवनलाई अगाडि बढाउने गल्तीले पछि पछुतो मान्नुपर्ला भन्दै आफूले चिनेको डाक्टरको एक्लोपनको उदाहरण दिँदै मलाई सम्झाउँदै थिइन्- ‘जीवन त लामो छ, एक्लै काट्न गाह्रो हुन्छ । पछि विवाहको लागि मिल्ने जीवनसाथी पाउन पनि गाह्रो होला । बरू तिम्रो विवाह गर्ने सोच छ भने भन म तिम्रो लागि मिल्ने जोडी खोजिदिन्छु ।’ साँच्चै हो पनि आफ्नो सफलता अनि खुसी बाँड्न पनि कोही त चाहिन्छ, तर त्यसको लागि विवाह नै जरुरी छ जस्तो चाँहि मलाई लाग्दैन । हामी सबै एक्लो नै हौं र यो दुनियाँ एक्लाएक्लैको भीडमात्र हो । यही नै जीवनको यथार्थ र नियति हो, तर एक्लोपन हाम्रो मानसिक उपज हो र जसरी हामी आफ्नो एक्लोपनसँग डराएर अरुको साथमा रमाउन खोज्ने वा आफ्नो अहम्को पर्खाल लगाएर एक्लो हुन खोज्ने गर्छौं, यी दुवै कुराले हामीलाई आफैंसँग र दुनियाँसँग एक्ल्याएर आफ्नो वास्तविक स्वरुपबाट पनि विमुख गराउने हुन्छ र यही नै हाम्रो दुःखको कारण हो । आफू आफैंसँग खुसी हुन सकेर अरुको खुसीको कारण बन्न सक्यौं भने कोही किन एक्लो हुन्छ र ?

यो पनि पढ्नुहोला: कोही किन एक्लो हुन्छ ?

यसरी हेर्ने हो भने विवाह गर्नेहरूको अनि नगर्नेहरूको पनि आआफ्नै तर्क छन् । सारमा बुझ्दा देख्छौं कि सबैको उद्देश्य सुख पाउनु छ । सुख बाहिरी दुनियाँमा खोज्ने कारण नै यहाँ विवाह गर्नेहरू विवाह गरेर पछुतो मानिरहेका छन् । विवाह नगर्नेहरू विवाह नगरेर पछुतो मानिरहेका छन् । दुःखबाट भागेर सुख खोज्ने वा सुखको लागि अरुमा आश्रित हुनुपर्ने अवस्था रहेसम्म मानवीय सम्बन्धको महत्वलाई बुझ्न सकिँदैन । विवाह गरेको एक वर्षमा नै श्रीमानसँग केही कुराहरू नमिल्दा विवाहलाई टुङ्ग्याउने मनस्थितिमा पुगेकी मेरी साथीलाई त्यसबेला मैले सम्बन्धको महत्व सम्झाएको थिएँ । अहिले उसको छोरी नै कलेज पढ्ने भइसकेकी छ । अहिले पनि कुरा हुँदा आफ्नो पहिलेको कुरा सम्झेर मलाई आभार व्यक्त गर्छिन् । दुइटा फरक संस्कार अनि विचार भएकाहरूसँगै हुँदा मनमुटाव र असमझदारी हुनु स्वाभाविक हो, तर स्वस्थ संवादले बढेको दूरीलाई छोट्याउन मद्दत मिल्छ ।

सुख बाहिरी दुनियाँमा खोज्ने कारण नै यहाँ विवाह गर्नेहरू विवाह गरेर पछुतो मानिरहेका छन् । विवाह नगर्नेहरू विवाह नगरेर पछुतो मानिरहेका छन् । दुःखबाट भागेर सुख खोज्ने वा सुखको लागि अरुमा आश्रित हुनुपर्ने अवस्था रहेसम्म मानवीय सम्बन्धको महत्वलाई बुझ्न सकिँदैन ।

मानवीय सम्बन्धको महत्वलाई बुझ्न सकिएन भने नाफाघाटाको हिसाबमा अल्मलिएर आफू हुनुको महत्वलाई पनि भुल्ने गल्ती गर्न पुग्छौं । मानिस एक स्वतन्त्रताप्रेमी प्राणी पनि भएकाले सम्बन्धमा रहँदा एक-अर्काको स्वतन्त्रताको सीमा निर्धारण गर्नु जरूरी हुन्छ । एकले अर्कालाई नियन्त्रण गर्न खोज्दा विवाह वा सम्बन्धमा आफ्नो स्वतन्त्रता गुमेको अनुभूति हुनु स्वाभाविक हो, तर स्वतन्त्रताको नाममा एक्लो जीवन रोज्नेहरू पनि एक्लोपनमा डुबेर आफूलाई मानसिक रुपमा कमजोर बनाउन पुग्छन् । यस संसारमा कोही-कोही भाग्यमानीले मात्रै त्यस्तो सम्बन्ध बाँच्न पाउँछन्, जहाँ सँगै हुनु पनि बन्धन होइन, एक असीम स्वतन्त्रताको अवसर बन्छ । हामी सबैलाई लाग्छ कि स्वतन्त्रता भनेको आफूलाई मन लागेको कुरा गर्न पाउनु हो ।

वास्तविक स्वतन्त्रता भनेको मनलागेको कुरा गर्न नपाउँदा पनि कति पनि विचलित वा दुःखी नहुनु हो । स्वतन्त्र हुनु र बेपर्वाह हुनु वा गैरजिम्मेवार हुनु एउटै होइन । आफ्नै अहंकारबाट मुक्त हुनसक्दा मात्रै चाहेको स्वतन्त्रता र स्वछन्दता मिल्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक स्वतन्त्र मानिसमात्रै अरूको स्वतन्त्रतामा खुसी हुनसक्छ । त्यसैले सम्बन्ध गाँस्दा नै आफ्ना इच्छा आवश्यकतालाई बुझ्नुका साथै आफूले के कति छोड्नुपर्ने हो, त्यो पनि पहिल्यै बुझ्नुपर्ने हुन्छ । आफ्ना इच्छा, आवश्यकता र खुसीलाई मात्र प्राथमिकतामा राख्दा नै सम्बन्धमा समस्या उत्पन्न हुने हो ।

विवाह आफैंमा एक महत्वपूर्ण निर्णय हो । त्यसैले विवाह करले वा रहरले भन्दा पनि आफू पुर्ण इमानदार र सत्यनिष्ठ भई सम्बन्धमा रहेर आफ्नो कर्तव्य र जिम्मेवारी निभाउन सिक्नलाई गर्ने हो । विगतका सम्बन्धबाट सिकेर आफूलाई परिपक्व र परिष्कृत गर्नलाई गर्ने हो । एक-अर्काको समझदारी र सुझबुझले भावनात्मक रुपले स्वस्थ एउटा घर निर्माण गर्नलाई गर्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा अहंकारलाई पर राखेर आफ्नालाई र आफैंलाई चिन्नलाई गर्ने हो, तर यी कुरा प्राप्त गर्न विवाह नै गर्न जरूरी कहाँ छ र ? मात्र सम्बन्धको महत्वलाई बुझ्न सके पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *