एक भूतपूर्व सैनिकको बकपत्र- हजार स्यालुटको माया लागेर आउँछ

२०७२ सालको असारतिर होला, नेपाली सेनाको कल्याणकारी कोषले रिक्त पदपूर्तिका लागि आवेदन खुलाएको थियो । अवकाश प्राप्त सैनिकका हैसियतले मैले आफूलाई योग्य ठानें । अनि फाराम पनि भरें र तोकिएको अन्तर्वार्तामा संलग्न भएँ ।
अन्तर्वार्ताकारमा सैनिक कल्याणकारी बोर्डका सदस्य बहालवाला जर्नेल र अवकाश प्राप्त जर्नेलहरू थिए । मैले ढोकाबाटै कार्पेटको धूलो उड्नेगरी गोडा हानेर स्यालुट गरें । अनि भित्र पसें ।
‘जागिर छाडेर फेरि यता किन नि ?’, जर्नेलसा’बको सोधाईमा रवाफले भरिएको बेलुनवाणी थियो ।
जर्सा’बको प्रश्नले म हच्किएँ । सम्हालिनलाई केही क्षण लाग्यो । किनभने बहाल रहँदा जर्नेलहरूको शान-सौकत नजिकबाट नियालेको थिएँ । उनीहरूको सनकको साक्षी त झन् कति भएँ, भएँ ।
सम्हालिएपछि विनम्रतापूर्वक आफ्नो कुरा राखें, ‘नेपाली सेना जस्तो गौरवमय इतिहास बोकेको संस्थामा पुनः आवद्ध हुन चाहन्छु सा’प ।’
सेनाको गौरवशाली इतिहासको कुरा गरेर जर्सा’बहरुलाई भ्रममा राख्न खोजे पनि यथार्थ मेरो अर्कै थियो । महिनाको सात हजार पेन्सन हुन्थ्यो । हुर्कदै गरेका छोराछोरीहरूको पालनपोषण गर्न पेन्सन पर्याप्त थिएन । १७ वर्ष सैनिक जीवन व्यथित गरेको म जस्तो एक सामान्य भूतपूर्व सैनिकलाई वैदेशिक रोजगारीका लागि कहिले उचाइ त कहिले भाषाले अवरोध गर्थ्यो । सानो मानिस भए पनि मभित्र जीवित स्वाभिमानले पनि अवरोध गर्थ्यो ।
मेरा कुरो उनीहरुले सविस्तार सुने । थप प्रश्नहरू आएनन् । मेरो जवाफ काफी थियो कि सायद । त्यसपछि म अन्तिम स्यालुट ठोकेर ढोका बाहिर निस्कँदै थिएँ, एक जना चिनेका प्रमुख सेनानीसँग भेट भयो ।
उनी रिक्त पदपूर्ति बोर्डको सदस्य रहेछन् । मलाई भने, ‘अलिअघि भनेको भए म कोसिस गर्थें । तैपनि जरसाहेबहरूलाई एकपटक जाहेर गर्छु ।’
थोरै भए पनि मलाई आशा लाग्यो । ‘प्लीज सर’ भनेर म घर फर्किएँ ।
चार दिन पछाडि अन्तर्वार्ताको रिजल्ट निस्कियो । रिजल्ट लिस्ट दशचोटी हेरें । भित्तामा टाँसिएको पर्चामा आफ्नो नाम कतै देख्दिनँ ! यति सजिलो नाम पनि के कसरी बिर्से होलान् र ! आफ्नो आँखाले धोका दियो कि भनेर साथीहरूलाई हेरिदिन आग्रह गरें । उनीहरूले पनि देखेनन् ।
मेरो ४०० जति राजस्व खेर गयो । जाउ/आउको दुःख, खाजा/भाडा खर्च र समयको बर्बादी भयो । सबभन्दा बढी खर्च मनमनै बुनेका सपनाको भयो, आशा र अपेक्षाको भयो । मनमनै प्रश्न गरें, ‘आआफ्ना मान्छे राख्नु रहेछ त किन यो नौटङ्गी ?’
त्यतिबेला खास रिसाइनँ । किनभने आफ्नै नियतिलाई स्वीकार्ने बानी जो परेको थियो मलाई ।
०००
उहीँ साल, तर महिना फरक थियो । नेपाल राष्ट्र बैंकले सुरक्षा गार्डका रूपमा भूतपूर्व सैनिकका लागि दर्खास्त आवेदन खुलाएको थियो । आफूलाई योग्य उम्मेदवार ठानेर त्यहाँ पनि गएँ । प्रक्रिया उही- लिखित, मौखिक, शारीरिक व्यायाम ।
लगातार तीन दिन राष्ट्र बैंक धाएँ । संवेदनाहीन प्रतिनिधिहरूले गोडा हानेर स्यालुट गर्न पनि लगाए । अलिअलि दगुरियो पनि । हिउँदको त्यो चिसो बिहानीमा ज्यान सर्लक्क तन्काएर न्यानो र ताजा स्यालुट हानें । त्यो स्यालुट पनि खेर गयो । घर परिवार र आफन्तले गरेका आशा पनि खेर गए ।
०००
अब एउटा अन्तिम प्रसंगमा लान्छु ।
सोसल साइटमा भिजिट नगरी दैनिकी सुरू हुँदैन । जन्मदिनको शुभकामना र मृतकको फोटोमा श्रद्धाञ्जली दिँदादिँदै प्रातः समय सकिन्छ । बिहानीको खर्च, दिनको खर्च ! खर्चमात्रै कति कति !
मोबाइलमा स्क्रोल गर्दै थिएँ । एक निजी विद्यालयमा सुरक्षा गार्डको डिमान्ड रहेछ- ‘स्कुलका लागि अनुभवी भूपू सैनिक चाहियो, योग्यता- भूपू सैनिक मात्र ।’ फुर्सदिलो अभाव झेलिरहेको मलाई यो एक बहाना थियो ।
झोलामा पेन्सनपट्टा र आवश्यक कागजातहरू लिएर त्यसैदिन कति पनि ढिला नगरी गएँ । मोबाइलबाट ठेगाना सोध्दै-सोध्दै कालोपुलसम्म पुगें । त्यस भव्य कलेजको ढोकामा म जस्तै भूतपूर्व सैनिकहरूको लाम थियो । सोचें, ‘देशमा लाम कता छैन ? भीड कता छैन ?’
आवेदन बुझाएर फर्कन लाग्दा रिसेप्सनकी युवतीले भनिन्, ‘फोन आउँछ ।’
नभन्दै हप्तादिनपछि फोन आयो । प्रि-इन्टरभ्यूका लागि बोलाइएको रहेछ । हतार-हतार म त्यस भव्य कलेजको ढोकामा पुगें । लबीमा महँगा सोफासेटहरू थिए । विशाल टेलिभजनमा कलेजका गतिविधिहरूका फुटेजहरू दोहोर्याई-दोहोर्याई देखाइरहेको थियो । बेलाबेलामा म झुकिन्थें, ‘कलेज हो कि स्टार होटल ?’
प्रि-इन्टरभ्यू पनि सकियो । रिसेप्सनमा नयाँ युवती देखिइन् । तिनले पनि पैलेकी युवतीले झैं भनिन्, ‘सम्पर्कमा रहनुहोला । फोन आउँछ ।’
यस पटकको फोन भने साँझतिर आएको रहेछ । मोबाइलमा मिस्डकल देखें । नयाँ नम्बर थियो । कल ब्याक गरें, ‘तपाईलाई जेभियर्स कलेज कालोपुलमा स्वागत छ ।’
‘धन्यवाद’, मैले भनें ।’
अनि रिसिभर युवतीले भनिन्, ‘पर्सि फर्मल ड्रेसमा दिउँसो ३ बजे अन्तिम अन्तर्वार्ताका लागि आउनू ।’
अन्तिम अन्तर्वार्ताका लागि म कलेजको प्रतिनिधिसमक्ष उभिएँ- एकदम सतर्क पोजिसनमा । त्यसअघि नै एक भूतपूर्व फौजीका हिसाबले स्यालुट ठोकिसकेको थिएँ । कार्पेट भएको भए धुलो उड्थ्यो । भुईंमा सेतो टायल बिछ्याएको हुनाले धुलो उड्ने कुरा भएन ।
‘तपाईंको परिचय दिनोस्’, श्यामश्वेत वर्णका ती प्रतिनिधिले प्रस्तावना गरे । र, कलेजका विद्यार्थीहरूलाई ह्यान्डल कसरी गर्ने, त्यसका योजनाहरू सुनाउनसमेत अनुरोध गरे । मैले आफ्ना अनुभव यस कलेजका लागि काम लाग्नसक्छ भन्ने व्यहोरा प्रस्तुत गरें ।
अन्तिम भनेको अन्तर्वार्ता पनि सकियो ।
हप्तादिनसम्म फोन आउँछ कि भनेर पर्खिएँ । फोन आएन । एक परिचित मित्रमार्फत थाहा पाएँ- उनीहरूले योग्य ठानेका उम्मेदवारहरूलाई भोलिपल्टै फोन गरेका रहेछन् ।
फेरि अर्को एक महत्वपूर्ण स्यालुट खेर गयो । जीवनमा कति स्यालुट खेर जाने हुन् ! सम्झँदा ती खेर गएका हजार स्यालुटको माया लागेर आउँछ ।