अवैध आप्रवासीबाट २०२३ मा जन्मिएका थिए साढे दुई लाख बालबच्चा- स्वतः नागरिक हुने अधिकार खोस्दै ट्रम्प – Nepal Press

अवैध आप्रवासीबाट २०२३ मा जन्मिएका थिए साढे दुई लाख बालबच्चा- स्वतः नागरिक हुने अधिकार खोस्दै ट्रम्प

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प सरकारले अवैध आप्रवासीहरुलाई धरपकड गरेर हतकडी र नेल लाएर आफ्नै देशमा धमाधम फिर्ता गरिरहँदा अब उनीहरुबाट जन्मेका बालबच्चाको चर्चा सुरु भएको छ ।

अमेरिकी च्यानल फक्स न्यूजका अनुसार सन् २०२३ मा मात्रै साढे दुई लाख बालबच्चा अवैध आप्रवासीबाट जन्मिएका थिए । विभिन्न अध्ययनहरुले एक करोडभन्दा धेरै अवैध आप्रवासी भएको देखाउँछन् ।

ट्रम्पले फेब्रुअरी १९ बाट लागु हुनेगरी कार्यकारी आदेश दिएर जन्मको आधारमा अमेरिकी नागरिक हुने अधिकार खोसेका छन् । ट्रम्पको आदेशलाई अमेरिकी अदालतले खारेज गरेन भने हजारौं बालबालिकाको बिचल्ली हुने बताइएको छ ।

सेन्टर फर इमिग्रेसन स्टडिज नामक एक गैरसरकारी संस्थाले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको थियो । अध्ययनले अमेरिकामा सन् २०२३ मा जन्मिएका बालबच्चाको ७ प्रतिशत अवैध आप्रवासीका सन्तान छन् ।

अमेरिकाको संविधानको १४ औं तथा १५ औं संशोधनले अमेरिकामा जन्मेका सबै जना अमेरिकी नागरिक हुने प्रावधान छ, तर आलोचकहरुले यो दासप्रथा हुँदा सबैलाई नागरिकता दिने नियतले बनाइएको भन्दै अमेरिका गैरकानूनी वा कानूनी रुपमा आउँदै बच्चा जन्माएर अमेरिकी नागरिक बनाउन ल्याइएको कानून होइन भन्दै आलोचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर