डढेलो विज्ञ भन्छन्ः काभ्रेमा ‘ब्याक फायरिङ’ गरौं, प्रत्यक्ष नियन्त्रण गर्न खोज्नु जोखिमपूर्ण
‘केही गर्ने भए गरिहाल, नत्र लस एन्जलस जस्तो बनाइदिन्छु भन्ने प्रकृतिको चेतावनी हो’

काठमाडौं । काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको लेकडाडाँस्थित चिसापानी सामुदायिक वन र नारायणस्थान सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको डढेलाे अझै नियन्त्रणमा आउन सकेको छैन ।
विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरी आगो नियन्त्रणको लागि सेना परिचालन गरेको छ । खानीखोलातर्फको डढेलो भने हेलिकोप्टरबाट पानी ओसारेर आगलागी नियन्त्रणमा आएको छ भने अन्य दुई वनमा लागेकाे डढेलाे नियन्त्रणकाे प्रयास भइरहेकाे छ ।
यो अन्तरर्वाता तयार गर्दा सम्म देशभरका ४२ वटा वनमा आगलागी घटना भएकाे छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार मधेश प्रदेशबाहेक ६ वटै प्रदेशको वनमा आगलागी भयाे । सोलुखुम्बु, भोजपुर र काभ्रेमा डढेलो लागेकाे छ ।
कोशी प्रदेशमा ५ तथा कर्णाली र लुम्बिनीमा एक–एक वनमा आगलागी भइरहेको छ । सबैभन्दा बढी गण्डकी प्रदेशको वनमा डढेलो लागेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा ४, गण्डकीमा २० वटा वनमा आगलागी हुँदा बागमतीका १२ वटा वन आगलागीको चपेटामा परेका छन् ।
यस वर्ष हिउँद सुख्खा हुँदा माघको दोस्रो साता नवित्दै नेपाल आगलागीको चपेटमा परेको हो । छिट्टै डढेलो भयावह अवस्थामा पुग्नु अनौठो परिवर्तन भएको बताउँछन् डढेलोविज्ञ् डा. सुन्दर प्रसाद शर्मा । काभ्रेमा लागेको डढेलो नियन्त्रणको लागि ‘ब्याक फायरिङ’ गरिदिन उनले सुझाव दिए । सरकारले अझै पनि डढेलोलाई विपद् नै नमानेको उनको गुनासो छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व उपसचिव शर्माले लामो समयदेखि डढेलोसँग सम्बन्धित भएर काम गरिरहेका छन् । उनीसँग गरिएको कुराकानी विस्तुतमा:
भर्खर माघको दोस्रो सातामा छौंं हामी । यतिबेला त मध्य जाडोको समय हो । तर, एक्कासी डढेलोको घटना बढेको खबरहरु आइरहेको छ । के यो सामान्य हो ?
यो आगलागीको सिजन त हो । तर, पुस–माघदेखि नै नेपालमा आगलागीको घटना फाट्टफुट्ट मात्र देखिन्छ । अहिले नै यति ठूलो क्षेत्रफलमा यति ठूलो प्रभाव पार्छ भन्ने थिएन ।
मैले धेरै समयदेखि डढेलालाई नजिकबाट हेरिराखेको छु । मलाई के लागेको थियो भने गत वर्ष ५ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको थियो । त्यसले गर्दा नेपालमा दुई–तीन वर्ष बिराएर ठूलो आगलागी हुन्थ्यो । पोहोर साल व्याप्त डढेलो लागेको थियो । यो वर्ष अलि कम हुन्छ होला भन्ने मेरो अनुमान गलत सावित भयो ।
किन माघकै महिना एक्कासी डढेलोको घटना बढ्यो होला ?
नेपालमा हिउँदमा १० प्रतिशत जति वर्षा हुनुपर्ने हो । तर, त्यो वर्षा हुन सकेन । त्यसले गर्दा जंगलको पात पतिंगरहरु सुख्खा अवस्थामा नै छन् । त्यो सँगसँगै अहिले तापक्रम पनि चाँडै बढेको हो कि जस्तो लागेको छ । त्यसले गर्दा पनि माघकै दिनमा डढेलोको घटना हवात्तै बढ्यो । हामी त माघको दोस्रो हप्तामा छौं । यतिखेर त हिटर बालेर बस्नुपर्ने हो । तर, अहिले गर्मी महसुस भइरहेको छ । यसरी अनौठो किसिमको परिवर्तन भइरहेको छ ।
अहिले काभ्रेको महाभारत पर्वतशृङ्खलामा लागेको आगो ६ दिन भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । कसरी नियन्त्रणमा लिन सकिएला ?
त्यो डढेलो मन्दिरतिर र बस्तीतिर अगाडि बढिरहेको छ । नेपाली सेना, प्रहरीहरु त्यहाँ आगो निभाउन प्रयासरत छन् । तर, डढेलो अलि ठूलै छ भने त नियन्त्रण गर्न नजानु नै राम्रो हो भन्छु म त । बरु आफनो घर–बस्तीहरु जोगाउनका लागि ‘ब्याक फायरिङ’ गरिदिए हुन्छ भन्छु । ब्याक फायरिङ भनेको बस्ती जोगाउनको लागि डढेलाे लागिरहेकाे केही परबाटै आगो लगाएर पठाइदिने, ताकि जंगलबाट आएको आगो बस्तीमा नआइपुगोस् भन्नको लागि । त्यो आगो नियन्त्रित किसिमको हुन्छ । त्यसलाई हामी ब्याक फायरिङ भन्छौं । ब्याक फायरिङ गरिदिए हुन्थ्यो । नेपाली सेना गएको छ भने सिधै नियन्त्रण गर्न नखोजेकै राम्रो हुन्छ होला मेरो विचारमा ।
अनि के गर्ने त ?
प्रत्यक्ष नियन्त्रण अलि खतरनाक हुन्छ । सिधै नियन्त्रण गर्न जान खतरा छ । सबैभन्दा पहिला त ‘सेफ्टी फर्स्ट’ भन्छौं हामी । सेफ्टी फर्स्ट भनेकोे आगो नियन्त्रण गर्न जाने नियन्त्रक टोलीले पहिले आफ्नाे जीवन रक्षा गर्नुपर्छ । त्यसपछि जनताको जीवन रक्षा गर्ने र त्यसपछि घर बस्ती, सम्पत्तिहरु बचाउने हो । ‘सेफ्टि फर्स्ट’ मा यस्तो किसिमको क्याटेगोरी हुन्छ ।
यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । त्यसैले अहिले जो आगो नियन्त्रण गर्न जानुभएको छ, उहाँहरुले प्रत्यक्ष नियन्त्रण नगर्नु ठीक हुन्छ । आगोको स्वभाव के छ ? कस्तो छ ? त्यसलाई राम्रोसँग अनुगमन गरेर हावाको दिशा, त्यहाँको भिरालोपन विचार गरेर मात्रै अगाडि बढ्दा हुन्छ ।
यदि बस्तीतिर आगो आइरहेको छ भने उल्टै बस्तीतिरबाट आगो लगाएर नियन्त्रण गर्न सक्छौं । यसलाई हामी आगो विरुद्ध आगोको प्रयोग पनि भन्छौं । यो तरिका चाहीँ राम्रो होला । यसलाई अप्रत्यक्ष नियन्त्रणको तरिका भनिन्छ । प्रत्यक्ष भनेको सिँधै गएर आगोमा पानी हाल्ने, सोत्तरले र स्याउलाले पिट्ने कुरा हो । अप्रत्यक्ष्ँ भनेको चाहीँ मुख्य आगो भएको ठाउँमा मान्छे जानै पर्दैन । टाढैबाट नियन्त्रण गर्न सकिन्छ । आगोले नै आगोलाई निभाउन सकिन्छ । यो प्रयास राम्रो हुन सक्ला अहिले । त्यसैले आउँदा दिनहरु विकाराल अवस्था होला जस्तो मैले देखेको छु ।
नेपालमा आगलागीको घटना सबै मानवीय कारणले भएको छ । मानवबाट वन जंगल कसरी जोगाउने ?
मान्छेको सोच परिवर्तन गर्न जरुरी छ । यसमा दुई किसिमले गर्न सकिन्छ । एउटा त उनीहरुलाई कन्भिन्स गर्ने कुरा भयो । अर्कोचाहीँ दण्डित गर्ने कुरामा पनि जानुपर्ने हुन्छ । वन ऐनअनुसार, रािष्ट्रय निकुञ्ज ऐन अनुसार दण्डित गर्नुपर्ने पनि हुन्छ । आगो लगाउने व्यक्तिलाई तीन वर्षसम्म कैद, ६० हजारसम्म जरिवाना वा दुवै सजाय गर्ने, विगो असुलउपर गर्ने भन्ने प्रावधान छ ।
यी कुराहरु व्यापक किसिमले हुनुपर्यो । आगो लगाउनुभयो भने तपाईहरुलाई समातेर तीन वर्षसम्म थुन्छौं भनेर समुदायसम्म भन्नुपर्यो । कसैले डढेलो लगाएको देख्यो भने त्यो मान्छेको सुराकी दिनेलाई जरिवानाको १० प्रतिशत रकम पुरस्कार दिने व्यवस्था पनि छ । कानुनमा उनीहरुको परिचय लुकाएर पुरस्कृत गरिन्छ । यी कुराहरु पनि जनतामा गयो भने एक दुई ठाउँमा समातेर थुन्नै पर्ने अवस्थाहरु म चाहीँ देख्छु, ताकि मान्छेहरुले जंगलमा गएर डढेलो लगाइदिने आँट नगरुन् र अर्को वर्ष त्यही ठाउँमा फेरि डढेलोको घटना नदोहोरियोस् ।
फागुन–चैत लाग्नेवित्तिकै आगलागीको घटना तीव्र रुपमा कसरी बढ्छ ?
डढेलोको घटना तीनवटा कारणले बढ्छ । एउटा तापक्रम भइहाल्यो । अर्को वर्षा । वर्षा कम भयो भने डढेलो बढ्छ । वर्षा भयो भने डढेलो घट्छ । तापक्रम बढ्यो भने पनि डढेलो बढ्छ । र अर्को चाहीँ वायुमण्डलमा भएको सापेक्षित आद्रता बढ्यो भने डढेलो घट्छ । घट्यो भने डढेलो बढ्छ । यी तीन कुराहरु बढी महत्वपूर्ण हुन्छ । जसमा फूयलिङको काम चाहीँ हावाले गर्छ । यी चारवटा मौसमी पारामिटरहरु एकदमै महत्वपूर्ण हुन्छ । तापक्रम बढ्दो छ भने पात–पतिङ्गरहरु सुकेको हुन्छ । त्यहाँ कदापी त्यहाँ कुनै किसिमको आगोको स्रोत पुग्यो भनेदेखि डढेलो लाग्छ र अवस्था विकाराल हुन्छ ।
गत वर्षहरुमा जस्तै यस वर्ष पनि डढेलो भयावह हुने देखिन्छ । सरकारी पूर्वतयारी कस्तो पाउनुभएको छ ?
हामीले अस्ति भर्खर संसदीय समितिमा छलफल पनि गर्यौैं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मैले गएर प्रस्तुति पनि दिएको थिएँ । यसको लागि हामीले रणनीतिक योजना, कार्यक्रमहरु, जनचेतनामुलक कार्यक्रमहरु व्यापक रुपमा गर्नुपर्ने कुराहरुमा सबै सहमत भएका छन् । त्यहाँ भएका निर्णयहरु लागु हुन्छ कि हुँदैन, नेपाल सरकारले लागू गर्छ कि गर्दैन त्यो चाहीँ हेर्न बाँकी छ । यसलाई ढिला गर्नुभएन । यसलाई आजैबाट सुरु गर्नुपर्छ । माइकिङ गर्नुपर्ने होकि, मिटिङ छलफल, टोल टोलमा यो कुराहरु गर्नुपर्यो । बस्ती र जंगलको बीचमा सुरक्षा घेरा बनाउनुपर्यो । त्यहाँ भएका पात पंतिगर हटाएर जंगल र बस्तीको बीचमा सुरक्षा घेरा बनाउनु पर्यो । जनचेतनामुलक कार्यक्रमहरु आजैदेखि गर्नुपर्छ । मान्छेलाई सजग बनाउनुपर्यो ।
संसदीय समितिको निर्देशन सरकारले तत्काल पालना गर्ला त ?
संसदीय समितिले जेजे निर्देशन गरेको छ, त्यो नेपाल सरकारले लागू गर्नुपर्छ । तुरुन्तै डढेलो विपद् जोखिम न्युनीकरणको लागि पूर्वतयारी र प्रतिकार्य योजना १५ दिनभित्र लागू गर्न निर्देशन दिइएको छ ।संघिय वन मन्त्रालय र गृह मन्त्रालयमा यो कुरा पुगेको छ । यो १५ दिनभित्र लागू गर्नुपर्यो । फागुनसम्म कुर्न पनि भएन । अहिले नै लागू गरिहाल्नुपर्यो । तपाईं–हामीले घच्घच्याएन भने सरकार सुतेर बस्छ । निदाएर बस्छ । घरिघरि घच्घच्यायौं भने केही गर्छ कि । डढेलो विपद्का प्रभावहरुलाई न्यूनीकरण गर्न सकिन्छ । त्यो पनि एउटा माध्यम हो । हरेक दिन हामीले केही न केही गरिराख्नुपर्छ ।
यो वर्ष हिँउद सुख्खा छ । पोहोरभन्दा यो साल बढी डढेलो लाग्ने खतरा देखिन्छ । के ललितपुर र काभ्रेको डढेलोले हामीलाई तयारीको लागि सचेत गराएको हो ?
काभ्रेको डढेलोले हामीलाई चेतावनी दिएको हो । ल है तिमीहरु तयार हौ भनेर दिएको चेतावनी हो । फागुन, चैत, वैशाख त एकदमै व्यापक डढेलो हुन्छ । माघको दोस्रो हप्तामै यस्तो अवस्था भएको छ । यो त पूर्व चेतावनी नै दिएको हो । केही गर्ने भए गर, नभए अमेरिकाको लस एन्जलस जस्तो बनाइदिन्छु भनेर प्रकृतिले भनेको छ । यी सबै देख्दादेख्दै पनि हाम्रा नीति निर्माताहरु र सरकारका निकायहरु किन कानमा तेल हालेर बसेका हुन् बुझिनसक्नु नै छ । केही न केही त कार्यक्रमहरु गर्नुपर्यो । अझसम्म पनि डढेलोलाई त विपद् नै मानेको छैन सरकारले । डढेलोले समुदायलाई धेरै असर पर्छ । अन्तत राष्ट्रलाई पनि असर नपर्ने कुरै भएन ।
हाम्रो डढेलो प्रतिकार्य अवस्था कस्तो छ ? अमेरिको क्यालिफोर्नियाबाट के पाठ सिक्न सक्छौं ?
हाम्रो डढेलो प्रतिकार्य क्षमता अत्यन्तै विजोक छ । क्यालिफोर्नियामा डढेलो नियन्त्रण गर्ने छुटै निकाय छ । सयौं हेलिकप्टर जहाजहरु छन् । हजारौं फायर फाइटरहरु छन् । तर पनि उनीहरुले गर्न सकेनन् भनेदेखि नेपालमा त्यस्तो विपद् भइदियो भने के होला ? नेपाल त २० वर्ष पछाडि पर्छ । विकासको गतिमा नेपालले सक्दैन । अहिले १ रुपैयाँ लगानी गर्न सक्यौं भने सय रुपैयाँको नोक्सानी बचाउन सकिन्छ । डढेलोको क्षेत्रमा लगानी गर्नु भनेको व्यापार गर्नु जस्तो होइन नि । क्षतिलाई कम गर्नको लागि हो । त्यो पनि एक किसिमको लगानी नै होनी । ९९ रुपैयाँ बचाउन सक्नु त ठूलो कुरा हो नी । त्यो पनि एक किमिसको आम्दानी हो । तर यो कुरा नीति निर्माताहरुले बुभ्mन सकेको छैन । बेला बेलामा बुझाउने कोशिस गरिराखेका छौं । त्यतिखेर त हो हो भन्छन् । दुई–चार दिनपछि फेरि विर्सन्छन् ।