बुन्डेस लिगा : बायर्नको जित, लेभरकुसको बराबरी


हेटौँडा। जर्मन लिग बुन्डेस लिगामा लिग लिडर बायार्न म्युनिखले जित हासिल गर्दा डिफेन्डिङ च्याम्पियन वायल लेभरकुसन बराबरीमा रोकिएको छ ।
शनिवार भएको खेलमा म्युनिखले फेबर्गलाई २-१ ले पराजित गर्दै लिग तालिकामा दोस्रो स्थानको वायल लेभरकुसनसँगको अग्रता बढाएको छ ।
खेलमा बायर्नको लागि ह्यारी केन र किम मीन जेइले गोल गरे । फेबर्गको लागि एक मात्र गोल गिन्टेरले गरे ।
शनिबार नै भएको अर्को खेलमा लेभरकुसले आरवी लेइपिजसँग २-२ को बराबरी खेलेको छ । आफ्नो सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्नु र लेइपिजलाई एक गोल उपहार दिनु नै उसको बराबरीको कारण बन्न पुग्यो ।
खेलपछि १९ खेलबाट ४८ अङ्क सहित म्युनिख पहिलो स्थानमा रहँदा समान खेलबाट ४२ अङ्क सहित लेभरकुसन दोस्रो स्थानमा छ । पराजित फेबर्ग ९ औँ स्थानमा रहँदा बराबरी खेलेको लेइपेज पाँचौँ स्थानमा झरेको छ।