सभापति कपः पुलिस क्लबलाई हराउँदै आयोजक बागमती सेमिफाइनलमा


काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै बागमती लोकतान्त्रिक दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको प्रतियोगितामा पुलिसलाई २-१ गोलले पराजित गर्दै बागमतीले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो ।
खेलको २४औं मिनेटमा सुजन मगरको गोलले लिएको अग्रता जोगाउन नसक्दा पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक बागमतीको तर्फबाट दोस्रो हाफको ६ मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको इन्जुरी समयमा बागमतीकै विदेशी खेलाडी आकिन्स केइको गोलसँगै आयोजक बागमतीले सेमिफाइनलको यात्रा तय गरेको हो । आकिन्स केइ आजको खेलको म्यान अफ द म्याचसमेत बने ।
आजको विजेता बागमतीले आइतबार हुने फ्रेन्ड्स क्लब र एनआरटीको विजेतासँग मंगलबार सेमिफाइनल खेल्नेछ । अहिलेसम्म संकटा र मच्छिन्द्र फुटबल क्लबले सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन् ।