अध्यादेशबारे पूर्णबहादुर खड्का भन्छन्- सरकारले गृहकार्य गरेर ल्याएको हो, आलोचना गर्नुको अर्थ छैन – Nepal Press

अध्यादेशबारे पूर्णबहादुर खड्का भन्छन्- सरकारले गृहकार्य गरेर ल्याएको हो, आलोचना गर्नुको अर्थ छैन

देउवा सभापति रहने कुरा भएन, कांग्रेसको घट्दो चार्म जोगाउन भावी सभापतिले विशेष योजना बनाउनुपर्छ: मिनेन्द्र रिजाल

रूपन्देही । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले ल्याएको अध्यादेशको विरोधको कुनै अर्थ नरहेको जनाएका छन् ।

विपक्षी दल र कांग्रेसका केही शीर्ष नेताहरूले समेत यसको विरोध गरिरहेको बेला नेता खड्काले धेरै गृहकार्य गरेर सरकारले अध्यादेश ल्याएको बताएका हुन् ।

पार्टी निकट पूर्व आप्रवासी समन्वय अभियान लुम्बिनी प्रदेशस्तरीय भेलामा खड्काले अध्यादेश ल्याउनुमा कांग्रेसको टीमबाट प्रतिनिधित्व गर्ने नेताहरुले पर्याप्त गृहकार्य गरेको र विज्ञहरुको परामर्श तथा सुझावबाट ल्याएको जानकारी दिए ।

उनले उद्योग र अर्थतन्त्रमा तत्काल उपलब्ध हुनुपर्ने सुविधाहरु प्रदान गर्न अध्यादेश आएको बताए ।

कांग्रेसमा पुरानो संस्कार र आत्मीयता फर्काउन आवश्यक रहेको उनको भनाइ थियो । अहिलेको समयको मागअनुसार देशको नेतृत्व गर्ने अवसर कांग्रेसको जिम्मामा आएको उनले बताए ।

कांग्रेसको सरकारका पालामा भएका नीतिगत निर्णयले देशमा परिवर्तन भएको खड्काले बताए ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले आप्रवासीहरु देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । कांग्रेसको हरेक तहमा पूर्वआप्रवासीहरुको पनि प्रतिनिधित्व आवश्यक भएको उनले उल्लेख गरे ।

अर्का केन्द्रीय सदस्य मीनेन्द्र रिजालले विदेश जानेसँगै फर्केर आउने क्रम पनि चलेको बताए । उनले कांग्रेसको नेतृत्व अब शेरबहादुर देउवाबाट नहुने भएकाले भावी सभापतिका उम्मेदवारले कांग्रेसको घट्दो चार्मलाई बढाउने योजना बनाउनुपर्ने बताए ।

‘अब शेरबहादुर देउवा सभापति बन्ने कुरा भएन, कांग्रेसको चार्म लगातार घट्दै गएको छ, त्यसलाई जोगाइराख्न भावी सभापतिका उम्मेदवारले विशेष योजना बनाएर जानुपर्नेछ’, उनले भने ।

नेता रिजालले आप्रवासीहरुको सीपलाई देश विकासमा उपयोग गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर