सुडानको डार्फरस्थित साउदी अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु – Nepal Press

सुडानको डार्फरस्थित साउदी अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु

डार्फर । सुडानको डार्फर क्षेत्रको अल-फशेरमा रहेको साउदी अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

शुक्रबार साँझ साउदी अस्पतालमा भएको बम विस्फोटले यस क्षेत्रका बिरामीको आकस्मिक उपचार गर्न उपलब्ध एकमात्र अस्पतालको भवन ‘ध्वस्त’ पारेको स्रोतले एएफपीलाई बताएको छ ।

सुडानमा युद्धरत कुन पक्षले आक्रमण गरेको हो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

अप्रिल २०२३ देखि सुडानी सेना अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)सँग युद्धमा छ । समूहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरेको छ ।

उनीहरूले उत्तरी डार्फर राज्यको राजधानी अल-फाशेरलाई गत मेदेखि नै घेरा हालेका छन्, तर सेना समर्थित मिलिसियाले पटक-पटक प्रतिकार गरी उनीहरूलाई पछि धकेलेको थियो र उनीहरूले शहरमा आफ्नो दाबी गर्न सकेका छैनन् ।

मेडिकल स्रोतका अनुसार सोही भवनमा केही हप्ताअघि आरएसएफले ड्रोन आक्रमण गरेको थियो ।

अल-फाशेरमा स्वास्थ्य सेवामा आक्रमण व्यापक रूपमा भइरहेको छ, जहाँ ‘डक्टर्स विदाउट बोर्डर्स’ले यसै महिना साउदी अस्पताल ‘शल्य चिकित्सा क्षमता भएको एकमात्र सार्वजनिक अस्पताल भएको’ बताएको थियो ।

सरकारी तथ्याङ्कअनुसार लडाइँका कारण देशभरका ८० प्रतिशतसम्म स्वास्थ्य संस्था सेवाबाट बञ्चित भएका छन् ।

यस युद्धले अहिलेसम्म दशौं हजारको ज्यान लिइसकेको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र लाखौंलाई सामूहिक भोकमरीको सङ्घारमा पुर्‍याएको छ ।

संयुक्त राष्ट्रसङ्घ समर्थित एक आँकलनअनुसार अल-फशेर आसपासका क्षेत्रमा तीन विस्थापन शिविरहरू जमजम, अबु शौक र अल-सलाममा अनिकालले कब्जा जमाइसकेको छ र मे सम्ममा शहरसहित थप पाँच क्षेत्रमा विस्तार हुने अपेक्षा गरिएको छ । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर