आफ्नै ‘च्वाइस’मा किन घरमा अड्किरहेकी छन् सगुना ? – Nepal Press

आफ्नै ‘च्वाइस’मा किन घरमा अड्किरहेकी छन् सगुना ?

काठमाडौं । ठूलो घर छ । सुत्न प्रशस्त कोठा छन् । घरको इन्टेरियर डिजाइन आकर्षक छ । श्रीपेच लगाएका तस्विरहरु भित्तामा टाँगिएका छन् । केही पेन्टिङहरु पनि तस्विरसँगै टाँगिएका छन्, तर त्यति ठूलो घर रित्तो छ ।

सोफाहरु रित्ता छन् । कोठाहरु रित्ता छन् । हरर फिल्मको सुटिङ सेट जस्तो छ घर । घरको हरेक कुनामा मौनता थिचिएर बसेको जस्तो छ । सोफा, फ्रेमिङ गरिएका तस्बिर, पेन्टिङ, टेबल, बाथरुममात्रै एकापसमा बोलिरहे जस्ता देखिन्छन् । बाथरुमको धाराबाट चुहिने पानीको थोपाको आवाजले नै धेरै थोक भनिरहेको हो कि लाग्छ ।

हल्लाको नाममा ढोका र झ्यालको चेपबाट बेलाबेला निचोरिएर छिर्ने गाडी, बाइकका आवाज छन् । नत्र ठूलो घरमा सिर्फ सन्नाटा छ । त्यो सन्नाटाभित्र सिर्फ उदासी छ । सिर्फ एक्लोपन छ ।

तिलस्मी कथामा वर्णन गरिएको घर जस्तो लाग्ने यो घर लेखक सगुना शाहको हो । कहिलेकाहीँ त सम्साँझै पनि अँध्यारो हुन्छ घर । बत्तीको स्वीच दबाउने जाँगर पनि चलाउँदिनन् सगुना । तीन वटा कुकुरसँग ओछ्यानमै पल्टिरहन्छिन् ।

दाहिने सिरानीमुनि राखिएको हनिफ कुरैशीको संस्मरण किताब ‘स्याटर्ड’ निकाल्छिन्, पन्नाहरु पल्टाउँछिन् । घरी देब्रे सिरानीमुनिबाट एलिफ शफाकको ‘फोर्टी रुल्स अफ लभ’ निकाल्छिन्, पन्नाहरु सुस्तरी पल्टाउँछिन् । घरी नेटफ्लिक्समा फिल्म र सिरिजहरु हेर्छिन् । घरी मोबाइल स्क्रोल गर्छिन्, विदेशमा भएका छोरा र आमालाई म्यासेज पठाउँछिन् ।

मोबाइलमा फेसबुक स्क्रोल गर्दा मेमोरीमा आउँछ, बुकाहोलिक्स सुरु गरेको पनि १३ वर्ष भइसकेछ । दुईचार जनाबाट सगुनाहरुले सुरु गरेको बुकाहोलिक्सको फेसबुक ग्रुपमा अहिले २६ हजार बढी साहित्यप्रेमीको जमघट हुन्छ । सामाजिक सञ्जालमा ‘रिडिङ भाइब्स’ ल्याउनमा सगुना र बुकाहोलिक्सको भूमिका नहुने कुरा भएन ।

फेसबुकको मेमोरीमै आउँछ, आफ्नै संस्मरणमा निर्मित नाटक खेलेकै १२ वर्ष भइसकेछ । सेक्सपियरको नाटक ‘मिड समर नाइटस् ड्रिम’ र ‘एज यु लाइक इट’ खेलेको पनि वर्षौं भइसकेछ । ‘भजाइना मोनोलग्स’ दुई पटक खेलेको पनि धेरै समय भइसकेछ ।

सगुनाले अन्तिम नाटक ‘विमोक्ष’मा अभिनय गरेको पनि तीन वर्ष भइसकेको फेसबुकको मेमोरीमै आउँछ । सगुनाले अनुवाद गरेको ‘कान्छा महारानी’ सार्वजनिक भएकै चार वर्ष भइसक्यो । शिवा शाहले लेखेको अंग्रेजी उपन्यास ‘द अदर क्वीन’को नेपाली अनुवाद ‘कान्छा महारानी’ पनि सगुनाको मेमोरीमै आउँछ ।

१२ वर्षअघिदेखि नियमित गरिरहेको चकटी बहस पनि अहिले त ९७औं श्रृंखला पुगिसक्यो । बुहाकोलिक्सले १२ वर्षमा ९७ वटा किताबमाथि मार्टिन चौतारीसँग मिलेर चकटी बहस चलाइसक्यो ।

घरमै अड्किरहेकी सगुना

सृजनात्मक कामहरुमा औधी सक्रिय सगुना अहिले घरमै अड्किएकी छन् । घरभन्दा बाहिर विरलै निस्कन्छिन् । विशेष काम नपरी बाहिर निस्कदिनन् । बाहिर निस्कनलाई पनि त बहाना चाहियो नि ! कुनै समय कलेज पढाउँदा घर बाहिर नियमित निस्कनलाई बहाना मिल्थ्यो । अहिले कलेज पढाउने कामबाट पनि विश्राम लिएकी छन् । अनि घरबाट बाहिर निस्कने बहाना खोई ?

घरभित्रै यसरी रहनुलाई चाहिँ सगुना ‘आइसोलेसन’ नामकरण गर्छिन् । यो आफ्नो ‘च्वाइस’ भएको बताउँछिन् ।

‘म घरभित्रै सीमित भएकी छु । घरबाट बाहिर निस्कनै मन छैन । बाहिर निस्कँदा पनि आफूलाई मनपर्ने कुराको लागि मात्रै निस्कूँ लाग्छ । सबैलाई खुसी बनाउनुपर्छ भन्ने भ्रमबाट म मुक्त हुन चाहन्छु’, सगुना अलि मजाले सोफामा अडेसिँदै बोल्छिन्, ‘फाइनल्ली मैले आफूलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने अवस्थामा आइपुगेँ । मेरो शारीरिक, मानसिक स्वास्थ्यलाई मैले प्राथमिकतामा राख्नुपर्ने रैछ ।’

लामो सास तानेर उनी थप्छिन्, ‘अरुका लागि दौडेर मलाई पुग्यो । अब थकाइ लाग्यो । मान्छेले आफ्नो संगतलाई फराकिलो बनाउँदै लैजान्छन् । म चाहिँ मेरो सर्कललाई साँघुरो बनाउँदै लगिरहेकी छु ।’

उनी थप्छिन्, ‘खासमा भन्ने हो भने भाइ, मैले सम्बन्धहरुको सेन्सरिङ गरिरहेकी छु ।’

सायद परिवार सँगै नभएर पो हो कि ?

सगुनाले कलेज पढाउन छाडिन् । कलेजमा वार एन्ड कन्फ्लिक्ट लिट्रेचरमा ट्रमा थ्योरी पढाउँथिन् । फ्रेन्च भाषा पढाउँथिन् । निरन्तर १५ वर्ष पढाइन् । अहिले भने आफूलाई ब्रेक चाहिएको महसुस भयो उनलाई ।

सगुनाले पढाउन छाड्नुबारे विस्तारमा बोलिरहेकी थिइन् । यसैवेला काभ्रेका एक युवक आइपुगे । सगुनाले कलेज पढाउँदाताका प्रिय विद्यार्थीमध्ये एक रहेछन् उनी । ती विद्यार्थी गुरु पूर्णिमा, आमाको मुख हेर्ने दिन र जन्मदिनमा सगुनाको घर आइरहँदा रहेछन् ।

‘मैले पढाएर केही कमाइनँ, यिनै भाइहरुको माया र रेस्पेक्ट कमाएँ’, उनी सुनाउँछिन् ।

भाइहरुको मायामात्रै होइन, साथीहरु पनि कमाएकी सगुना सुनाउँछिन्, ‘जीवनमा एकदुई जना साथी मिल्ने भए पुग्ने रहेछ । झनै पछिल्लो समय आएर मलाई लागेको त अन्तिममा परिवार चाहिने रहेछ । सायद परिवारसँग नभएर पनि म यसरी बाँचिरहेकी छु होेला ।’

क्लोनाजको सहारामा निद्रा फकाउँदै

सगुनाले १७ वर्षअघि डिभोर्स गरिन्, २०६४ सालमा । एकल आमा बनेरै दुई छोरालाई हुर्काइन्, पढाइन् । एकल आमा बनेरै घर सम्हालिन् । घर सम्हाल्दै कलेज पढाइन्, विद्यार्थीहरुको ज्ञानको दायरा फराकिलो बनाउन सहयोग गरिन् ।

छोराहरु हुर्किए । घर छाडेर गए । दुवै छोरा विदेशमा छन् । सगुना भने त्यही पुरानो घरमा छिन् । आफ्नो भनिएका सबै कुरालाई समयले भौतिक रुपमा टाढा लग्दै गयो । सगुना जहाँको तहीँ रहिरहिन् । दुःख, पीडा र अप्ठेराहरु उनीसितै रहे । खुसी, उल्लास, हर्षहरु उनीबाट टाढिँदै गए ।

उनलाई अनिद्राको समस्या छ । रातको २-३ बजेसम्म निदाउन सक्दिनन् । लामो समयदेखि निद्रालाई फकाउन क्लोनाज नामक औषधि खाइरहेकी छन् ।

अनिद्राको पछाडि उनको मनमा गाँठो परेर बस्ने उकुसमुकुस पनि हो । मनमा गाँठो परेर ऐंजेरु जसरी बस्न खोजिरहेको कुरा विदेशमा भएकी आमा, अनि छोराहरुलाई शेयर गर्छिन् । उनकी आमाले पनि एकल जीवन बिताएको कारण सगुनालाई बेलाबेला भनिरहन्छिन्, ‘मनको उकुसमुकुस शेयर गर ।’

आमा र छोरासँगै कतिपय कुरा शेयर गर्नलाई उनीसित लिल्की मुन ऋचा, लिना, सरस्वती, अञ्जना, तारा, गीता छन् । थप भन्छिन्, ‘साथै अमृता लम्साल दिदी, अर्चना थापाहरु छन् ।’

कहिलेकाहीँ नबोलिकनै सकिन्छन् दिनहरु

कहिलेकाहीँ पो साथीहरुलाई मनको गाँठो फुकाउँछिन् सगुना । कहिलेकाहीँ पो साथीहरुसँग समय मिल्छ, उनले फुकाएको मनको गाँठो सुनिदिन्छन् । उनलाई नै दिन सबैसँग फुर्सदिलो समय हुँदैन । सबै आआफ्नै दुःख र अप्ठेरामा हुन्छन् । त्यसैले अधिकांश समय घरमा एक्लै बिताउँछिन् सगुना ।

बिहान घरको काममा सहयोग गर्ने महिला रमिला आउँछिन् । साँझमा फर्किछिन् । सिंगै रात सगुनाले एक्लै घर रुँग्नुपर्छ । कहिलेकाहीँ त रमिलाबाहेक अर्को मान्छेसँग नबोलीकनै उनको दिन सकिन्छ ।

‘मलाई त कसैसँग नबोली दिन सकिएकै ठीक लाग्छ’, सगुना सुनाउँछिन्, ‘शहरमा त जे विषयमा पनि जान्ने पल्टनुपर्ने मान्छेहरु मात्रै धेरै छन् । तपाईंले अलिकति पीडाको कुरा सञ्जालमा लेखिदिनुभयो भने मान्छेहरु पीडाबारे बुझ्न चाहँदैनन्, सल्लाह दिन सुरु गर्छन् ।’

उनी सोच्छिन्, बरु नबोलेरै सकियोस् मेरा दिनहरु । नबोलेकै छटपटी र बेचैनी हुन्छ भने होस् ! मान्छेहरु सबै विशेषज्ञमात्रै छन् । अनि तिनै विशेषज्ञहरु आफ्नो मानसिक स्वास्थ्यबारे खुलेर बोल्न चाहँदैनन् । तिनै विशेषज्ञहरु आफूले झेलिरहेको फ्रस्टेसन र डिप्रेसनबारे खुलेर बोल्न चाहँदैनन् । अनि तिनैलाई समाजका अघि सबैभन्दा खुसी र बलियो देखिनुपर्छ ।

सगुना खुल्छिन्, ‘यहाँ त नि भाइ, घरघरमा तमासा छ, तर सञ्जालमा खुसी भएको नाटक मञ्चन गर्छन् ।’

‘सिंगल मम र डिभोर्सी महिला मात्रै होइन म’

गफगाफमा सगुना खुल्दै जान्छिन्, ‘मान्छेले मलाई बलियो भन्छन्, तर म बलियो देखिँदा देखिँदा थाकेँ । मलाई बलियो देखिनु छैन अब । बलियो देखिएर मलाई पुग्यो । संसारभरिको दुःख बोकेर हिँड्नलाई म एटलास त होइन नि !’

बीचमा उनलाई एन्जाइटी अट्याक भयो, औषधि लिइन् । आफ्नै जीवनमा आँधीबेहरी झेलेर आएकी थिइन् । लगत्तै २०७२ सालमा भूकम्प आयो । भूकम्प पीडितहरुलाई राहत वितरण गर्न ठाउँ-ठाउँमा पुगिन् ।

‘राहत वितरण गरेपछि त म खुसी हुनुपर्ने हो’, सगुना भन्छिन्, ‘म त झनै दुःखी भएर आएँ । अहो, हाम्रो समाजको हालत त त्यस्तो रै’छ भन्ने लाग्यो । मेरो आफ्नै जीवन पनि सरल रेखामा बगिरहेको थिएन । मलाई त एन्जाइटी अट्याक भयो ।’

उनलाई एन्जाइटी अट्याकका लागि भूकम्प बहाना भइदियो । एकातिर उनी ‘सिंगल मदर’, अर्कातिर घरेलु हिंसा सर्भाइभर । उनी बोल्छिन्, ‘म प्यासेन्ट मान्छे हुँ । कुनै डिसिजन लिनुअघि एकदमै अब्जर्भ गर्छु । मैले घरेलु हिंसा सहिरहँदा मलाई घर छाडेर आमाको घर जाने आँट त्यसवेला मेरो १० वर्षको छोराले दिएको थियो ।’

सगुना थप भन्छिन्, ‘तर म मेरो जीवनलाई सिंगल मदर र दुई बच्चाको आमा भनेर मात्रै परिभाषित गर्न चाहन्नँ । मेरो जीवनलाई डिभोर्सी महिलाको रुपमा अर्थ्याउन चाहन्नँ । मेरो जीवन यति मात्रै होइन, धेरैथोक हो ।’

यो समय पनि गुज्रेर जानेछ

अचेल सगुनाको जीवनको एक हिस्सा बनेको छ- एक्लोपन । उनले महसुस गरिरहेको एकै चिज हो- रिक्तता । केको रिक्तता हो त ?

‘सायद न्यानोपन, आफ्नोपन नहुनुको रिक्तता होला । आफन्तसँगको इमोसनल टच नहुँदाको रिक्तता होला’, सगुना सुनाउँछिन्, ‘यस्तै रिक्तताको कारण मेरो जीवनशैली यस्तो भइरहेको होला सायद ।’

तर यो फेज पनि लामो समयसम्म नरहने, गुज्रिएर जाने उनको विश्वास छ । सँगसँगै अलि सक्रिय हुनुपर्ने चाहिँ हो कि लाग्छ उनलाई । फेरि सक्रिय हुन मोटिभेसनको जरुरत पर्‍यो । त्यही मोटिभेसनको चाहिँ कमी भएको हो जस्तो लाग्छ उनलाई । ‘यसरी त भएन’ भनिदिने मान्छे नभएको हो कि लाग्छ उनलाई ।

‘म आफूलाई माया नगर्ने, अरुलाई मात्रै माया गर्ने मान्छे हो । यदि म आफूलाई माया गर्थें भने आफ्नो ख्याल गर्थें । म त १५ वर्षसम्म जिम गरेको मान्छे, यही बाटोपारिको जिममा जान्थेँ । जिम नै नगरे पनि ट्रेड मिलमा आफूलाई हिँडाउँथेँ’, सगुना लामो सास तानेर बोल्छिन्, ‘म यसरी बसेको मानसिक र शारीरिक रुपमा एकदमै थकान भएर हो, तर जिन्दगीमा कस्तो कस्तो अप्ठेरोलाई त चिरेर आएँ, यो अवस्थाबाट पनि फर्कन्छु म ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर