हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड (भिडिओ) – Nepal Press

हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड (भिडिओ)

माओवादी जनताकै छोराछोरी भएको दाबी, आत्मसमीक्षासहित एकताबद्ध हुने प्रक्रियामा रहेको प्रष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई दलाल, बिचौलिया र भ्रष्ट तत्वको संज्ञा दिएका छन् ।

दाङमा पार्टीको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले एकातर्फ भ्रष्ट तत्वहरु अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको बताए ।

उनले भने, ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं । यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो । हामीले अहिले हतियार उठाउने कुरा गरेका छैनौं । आवश्यक पनि अहिले देखिएको छैन । शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ ।’

प्रचण्डले जनतामा देश बनाउने माओवादी नै हो भन्ने बुझेर पार्टी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी आन्दोलनलाई विभाजित गर्ने षड्यन्त्रलाई परास्त गरेर एकताबद्ध हुने प्रक्रिया सुरु भएको बताए ।

उनले माओवादीहरु भनेको जनताका छोराछोरी भएको दाबी गर्दै हिजो जनयुद्धमा जस्तै आत्मसमीक्षा गरेर अघि बढ्ने संकल्प गरेको बताए ।


प्रतिक्रिया

One thought on “हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड (भिडिओ)

  1. बिग्रिएका थियौं अब सुध्रन्छौं भनेको यो दशौं पटक हो । यस्ता ढाँटका पछि लाग्नु मूर्खता हो । सत्ता नपाउन्जेल यस्ता ढाँट कुरा गरिहिडने अनि सत्ता पाएपछि सुन तस्करी, राजश्व मार्ने, आफ्ना र भरौटे पोस्ने, देशलाई अस्थिर बनाईराख्ने , अर्थतन्त्र ध्वस्त बनाउने , दिल्लीको दलाली गर्ने हो । यस्ता ढाँटलाई अझै केहीले चिन्न बाँकी छ ।समयक्रममा तिनले पनि थाहा पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर