प्रचण्डलाई शंकर पोखरेलको प्रश्न- ३२ सीटले सरकारको नेतृत्व गरेको चाहिँ प्राकृतिक हुन्छ ? (भिडिओ)


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि जनतामा आशा सञ्चार भएको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले देशलाई सही बाटोमा ल्याउने काम गरिरहेको बताए ।
उनले भने, ‘देशलाई संकटबाट बाहिर निकाल्न पार्टी अध्यक्ष नेतृत्वको सरकारले काम गरिरहेको बेलामा राम्रो भएको देख्न नसक्ने, सधैं अस्थिरतामा रमाउने, नेपाललाई अस्थिरताको दलदलमा फसाइराख्न खोज्नेहरु अहिले सल्बलाइरहेका छन् । उनीहरुबाट एमाले र त्यसको नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी र आक्रमणको प्रयास भइरहेको छ ।’
महासचिव पोखरेलले दुई ठूला पार्टीको मिलन अप्राकृतिक भए जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने कुरा प्राकृतिक हुन्छ भन्दै प्रश्न गरे ।
उनले मतको आधारमा लोकप्रिय एमाले र परिणामको हिसाबले सबैभन्दा ठूलो पार्टी कांग्रेस रहेको बताए ।
पछिल्लो समय कांग्रेस र एमालेको मिलनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अप्राकृतिक भएको आरोप लगाउँदै आएका छन् ।
त्यसको खण्डन गर्दै महासचिव पोखरेलले भने, ‘२७५ सीट भएको संसदमा ३२ सीट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक हुने, जनताले रोजेका पार्टीहरुले सरकारको नेतृत्व गर्दा चाहिँ अप्राकृतिक हुन्छ ? त्यो सत्ता गुमाउँदाको छटपटीबाहेक केही होइन । आज प्रचण्ड सत्ता गुमाएको छटपटीबाट विचलित भएका छन् ।’
उनले प्रचण्ड फेरि समाजमा अराजकता फैलाउन सकिन्छ कि भन्ने मान्यताको आधारमा एमाले र एमाले नेतृत्वका विरुद्ध लागेको आरोप लगाए ।
महासचिव पोखरेलले नेपालमा धेरै राजनीतिक दल नभई बलिया राजनीतिक दल आवश्यक भएको बताए । ठूला राजनीतिक दलहरुलाई सानाले शासन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
दिल्लीका दलाललाई यस्ता कुराको के मतलव ?