बुद्ध मावली देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयलाई जोड्न छलफल


रुपन्देही । गौतम बुद्धको मावली क्षेत्र देवदहमा बौद्ध गतिविधि र बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको सरसफाईका लागि अभियान थालिने भएको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितिमा कोषको देवदह कार्यालयको आयोजनामा त्यसक्षेत्रका सरोकारवालाको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालीन सम्पदाहरुको संरक्षणमा स्थानीयको समेत सहभागिता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।
छलफलबाट देवदहमा क्रियाशिल क्रियाशील बुद्धसँग सम्बन्धित संघ संस्थाहरुसँग समन्वय गरी बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सूर्यप्रसाद पाठक र टेकबहादुर राना सदस्य रहेको ३ सदस्यीय तदर्थ कमिटी बनाइएको छ ।
छलफललाई सम्बोधन गर्दै कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले देवदहका ऐतिहासिक पुरातात्विक बुद्धकालीन क्षेत्रहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र बौद्धमय गतिविधिका लागि स्थानीयहरुसँग सहकार्य गर्न लागिएको बताए ।
उक्त अवसरमा भवानीपुर र कन्यामाईमा विशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई विशेष अवसरको रुपमा मनाउनको लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ ।
यसैगरी देवदह र रामग्रामबाट संचालित बिद्युतीय बसको सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानीय टोल विकास संस्थासम्म सूचना पु¥याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिए । छलफलमा देवदहमा क्रियाशिल बुद्धसँग सम्बन्धित ९ वटा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।