माओवादीमा शक्ति बस्नेतको नयाँ गुटको उदय – Nepal Press

माओवादीमा शक्ति बस्नेतको नयाँ गुटको उदय

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र उपमहासचिव शक्ति बस्नेतको छुट्टै समूह जन्मिएको छ । पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि बस्नेतले छुट्टै समूह निर्माण गरेका हुन् ।

बस्नेत क्रान्तिकारीको शनिबार हुने निर्वाचनका लागि उम्मेदवार नै खडा गरेर मैदानमा आएका छन् । उनले बागलुङका विजयप्रकाश सापकोटालाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

बस्नेतले अन्य पदाधिकारीमा समेत प्यानल बनाएको क्रान्तिकारीका नेताहरु बताउँछन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्री भएका बेला उपस्वकीय सचिव रहेका उपदेश यायवलाई अध्यक्षमा अघि सारेका छन् ।

उपमहासचिव वर्षमान पुनले सुदिन पौडेल र अर्का उपमहासचिव जनार्दन शर्माले हेमन्त राईलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । उपाध्यक्ष कृष्णबहादुर महराका उम्मेदवार योगेन्द्र बुढा र महासचिव देव गुरुङका उम्मेदवार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

बस्नेत भित्रभित्रै गुटगत राजनीतिमा सक्रिय हुने गरे पनि उनको आफ्नै गुट भने थिएन । माओवादी शान्ति प्रक्रियामा आउने समयमा उनी कृष्णबहादुर महरा समूहमा थिए । ०६४ को संविधानसभा निर्वाचनको मुखमा बस्नेतले नेक्रविक्रम चन्दलाई साथ दिए ।

त्यतिबेला चन्दले पार्टीका सिनियर नेतामध्ये आधा संविधानसभामा र आधा जनतामा रहनुपर्ने भन्दै चुनाव नलड्ने नीतिको पैबरी गरेका थिए । चन्दको लाइनमा उभिएर उनले पनि चुनाव लडेनन् । निर्वाचनमा माओवादी ठूलो दलका रुपमा उदायो ।

प्रचण्ड प्रधानमन्त्री भए । सत्तामा नजाने नीति परिवर्तन गरी उनी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भए । संविधानसभामै नजाने अडानमा रहेका बस्नेतलाई प्रधानमन्त्रीको सल्लाहकारमा महराले सिफारिस गरेका थिए ।

तर, ०७० को दोश्रो संविधानसभा निर्वाचनमा उनी गृहजिल्ला जाजरकोटबाट उम्मेदवार भए र जिते । संविधान जारी भएपछि केपी ओली नेतृत्वको सरकारमा बस्नेत शक्तिशाली गृहमन्त्री बन्न सफल भए । त्यसको पृष्ठभूमिमा महरा थिए ।

सैन्य–राजनीतिक जिम्मेवारीमा रहेका वर्षमान पुन र जनार्दन शर्मा छिमेकी जिल्ला (रोल्पा–रुकुम) का मात्र थिएनन्, गुटगत राजनीतिमा पनि सँगै थिए । जब अखिल क्रान्तिकारीको अध्यक्षमा शर्माले कान्छा भाई अनिल शर्मालाई अघि सारे तब पुन र उनको सम्बन्ध चिसिएन मात्र, केही समय उनीहरुको सम्बन्ध नदीको दुई किनाराजस्तो भयो । यो डबल नेकपा बन्नुअघिको कुरा थियो । ठीक त्यतिबेला बस्नेत पुनसँग नजिकिए ।

निकट कार्यकर्तासँग उनीहरु भन्थे, ‘राजनीतिक रुपमा हाम्रो बीचमा पहिल्यै कुरा मिल्थ्यो, शर्माका कारण सँगै हुन पाएका थिएनौं ।’ पार्टीमा पुन सचिव हुँदा बस्नेत स्थायी समिति सदस्य थिए । नेकपाको सरकारमा जानबाट शर्मालाई रोकेर पुन र बस्नेत दुवै मन्त्री भए ।

पुन ऊर्जा र वस्नेत वन तथा वातावरणमन्त्री थिए । हरेक निर्णय लिँदा बस्नेत पुनको सल्लाह लिन्थे । उनीहरुबीच बाक्लो कुराकानी हुन्थ्यो । यो क्रम नेकपा विभाजनपछि पनि रह्यो । केही महिनाअघिसम्म उनीहरु सँगै थिए । तर, विद्यार्थी संगठनको नेतृत्वबारे कुरा नमिलेपछि बस्नेतले छुट्टै समूह बनाए । यद्यपि आफ्ना उम्मेदवार सापकोटालाई पार्टी ‘हेडक्वार्टर’ (प्रचण्ड) को समर्थन रहेको भन्दै उनले प्रतिनिधि र पार्टीका तेश्रो तहका नेताहरुसँग भोट मागिरहेका छन् ।

बस्नेतलाई क्रान्तिकारीका पूर्वअध्यक्षहरु हिमाल शर्मा, पञ्चा सिंह, पूर्वमहासचिव बिन्दमान विष्ट र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतले सहयोग गरिरहेका छन् । विगतमा शर्मा उपाध्यक्ष महरा, सिंह जनार्दन शर्मानिकट मानिन्थे । शर्मा महरा अर्थमन्त्री हुँदा उनका स्वकीय सचिव थिए । बस्नेत गृहमन्त्री भएका बेला स्वकीय रहेका विष्ट हाल कर्णाली प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर