महिलाले हाँकेको ‘महारानीझोडा सहकारी’- वडामा काम, देशभर नाम – Nepal Press
सहकारीका असल अभ्यास

महिलाले हाँकेको ‘महारानीझोडा सहकारी’- वडामा काम, देशभर नाम

काठमाडाैं । ‘महिलाहरूले मात्रै कहाँ चलाउन सक्छन् । दुई/चार दिन फुरफुर गर्छन् त्यसपछि सेलाइहाल्छन् नी !’ । २६ वर्षअघि सुनेका यी कुराहरू मिना ढकालको मानसपटलमा आज पनि ताजै छन् । जतिबेला उनी महिला समूह गठनको कसरतमा थिइन् ।

उनको अगुवाइमा २०५५ साल कात्तिक १० गते झापाको पश्चिम दक्षिणको ग्रामीण भेगमा स्थित साबिक महारानीझोडा गाविसमा एउटा महिला समूह गठन भयो । जुन समूहमा साना किसान परिवारका महिला सदस्यहरू आबद्ध भए ।

समूह गठन भएको चार वर्षपछि भने उनीहरूले त्यो समूहलाई सहकारीको रुप दिने निर्णय गरे । जस अनुसार वि.सं २०५९ पौष १७ मा डिभिजन सहकारी कार्यालयमा विधिवत् रूपमा साना किसान सहकारी संस्था लिमिटेड दर्ता गरियो । यो सहकारी २०६० वैशाख ३ गते हस्तान्तरण भएपछि महिलाहरूकै नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

झापाको गौरादहमा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको यात्रा साढे दुई दशक नाघिसकेको छ । जुन सहकारीको नेतृत्व २०६० सालदेखि महिलाहरूले सम्हाल्दै आएका छन् । महिलाले नेतृत्व सम्हालेको यस सहकारी संस्था अहिले अब्बल सहकारी संस्थाको रूपमा पहिचान बनाएको छ ।

हाल गौरादह नगरपालिका वडा न. ४ र ५ मा रहेको सो ठाउँमा वि. स. २०५५ साल कार्तिक १० गते साना किसान विकास आयोजनाको स्थापना गरिएको थियो । त्यसरी प्रारम्भ गरेको कार्यक्रम समय र विकासक्रम तथा सदस्यहरूको चाहाना अनुसार सहकारी संस्था दर्ता गर्ने तयारी गरियो ।

संस्था दर्तापछि २५ रुपैयाँबाट बचत संकलन गर्न थालिएको थियो । संस्था दर्ता सुरु गर्दा जम्मा आन्तरिक स्रोत सात लाख रुपैयाँ मात्रै थियो । महिलाहरू मात्रै शेयर सदस्य रहेका थिए । महिलाहरूले कसरी संस्था चलाउँछन् भन्ने धेरै थिए ।

संस्था स्थापना गर्दाको समय सम्झँदै सहकारीकी अध्यक्ष मिना ढकाल भन्छिन्, ‘महिलाहरू घर बाहिरबाट निस्किएर काम गर्न हुँदैन भन्ने मानसिकता भएको समयमा हामीले सहकारी सुरु गरेका थियौँ । पुरुषहरूले मात्रै बाहिरको काम गर्नु पर्छ, महिलाहरू घरभित्रको काम गरेर बस्नुपर्छ भन्ने गरिन्थ्यो । त्यो अवस्थालाई चिर्दै आज नमुना सहकारीकारुपमा चिनिएका छौँ ।’

उनीहरूले सहकारी सुरु गर्दै गर्दा धेरैले भन्ने गरेका थिए– ‘सुरु त गरे तर दिगो हुँदैन ।’ तर, यस सहकारीले साढे दुई दशकको यात्रा भने पार गरिसकेको छ । ‘चुनौतीकै बाबजुद सहकारी चलाउन थाल्यौँ । त्यो बेला हामीले महिलाहरूलाई मात्रै सदस्य बनाउँछौँ भन्दा के गर्छन् यिनीहरूले, दुई चार दिन फुरफुर गर्छन् पछि सक्दैनन्’, त्यो बेला अरूले भन्ने गरेको उनले सुनाइन् ।

गाउँले नै नपत्याएको त्यो समूह अहिले मुलुक कै चर्चित र उदाहरणीय सहकारीका रूपमा कहलिएको छ । यस सहकारीले साना किसानको हितलाई केन्द्रमा राखेर व्यवहारिक रूपमा अघि बढाएका परियोजना लगायतका कारण अरू सहकारीभन्दा पृथक पहिचान बनाएको छ ।

अहिले यस सहकारीले गरेको प्रगति देखेर धेरै लोभिने गरेको उनले जानकारी दिइन् । यस संस्थाले स्थापनाकालमा सदस्य विस्तार र पुँजी निर्माणलाई प्राथमिकतामा राखी सेयर सदस्यहरूलाई स्वरोजगार बनाउन व्यक्तिगत व्यवसाय सञ्चालनका लागि कर्जा प्रदान गर्यो । विस्तारै कृषिसँग सम्बन्धित तालिम र सामाजिक, सामुदायिक तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै सहकारीको यात्रामा निरन्तर अगाडी बढिरहेको छ ।

सहकारीको कार्यक्षेत्र वडामा रहेपनि यस सहकारीले गरेको कृषि कर्मले देशभर चर्चा पाएको छ । यस सहकारीको कार्यक्षेत्र भने वडा नं ४ र ५ को आधा भाग मात्रै छ । यस कार्यक्षेत्र भित्र रहेको घरधुरी सङ्ख्या नै करिब २६ सय छन् । जसमध्ये ८० प्रतिशत भन्दा बढी यसका शेयर सदस्य छन् । हाल यस संस्थामा १३ वटा अन्तर समूह आबद्ध छन् । संस्थामा ३०४ वटा साना किसान समूह गठन भई दुई हजार एक सय ९५ जना महिला सदस्यहरू आबद्ध छन् ।

यस सहकारीले सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रदेखि पाहुना घरसम्म सञ्चालन गर्दै आएको छ । गौरादह ६ धरधरेमा सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालन गरिरहेको छ । यससँगै २०७० सालदेखि नमुना पाहुना घर पनि सञ्चालन गरिरहेको छ ।

अध्यक्ष ढकालका अनुसार महारानीझोडा सहकारीले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गरेको छ । यस पसल सञ्चालन गर्दा सरकारले एक लाख रुपैयाँ अनुदान समेत दिएको थियो । उक्त सहकारी पसलबाट रासायनिक मल, जैविक मल, विषादी, बिउ, साना कृषि औजार, पशुको आहारा, चोकर, गाईदाना बिक्री गर्नुका साथै माटो परीक्षण सेवा प्रदान गर्ने गरिएको छ ।

संस्थाले बचत तथा ऋण कारोबार साथै वैदेशिक तथा आन्तरिक रेमिट्यान्सलाई सहज बनाउन ती क्षेत्रसँग सम्बन्धित सेवा पनि दिइरहेको छ । सहकारीले हिमाल, वेष्टन युनियन, प्रभु रेमिट, आईएमई, सिटी एक्सप्रेस मनी ट्रान्सफर, ईसेवा मनी ट्रान्सफर, आईएमई पेको सहकार्यमा सेवा समेत सञ्चालनमा ल्याएको छ ।

पशुपालन व्यवसायलाई प्रवर्धन गर्नका लागि कर्जा लगानी, पशुबीमा, नश्लसुधार लगायतका कार्यक्रमहरू सञ्चालनका साथै उत्पादन भएको दूधको बजारीकरणको व्यवस्था गर्न दुग्ध संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । गौरादह ५, स्कूलचौन बजारमा स्थानीय स्तरमा रहेका ३ वटा सहकारीहरूबिचको सहभागिता र यस संस्थाको प्रवर्धनमा दुग्ध संकलन केन्द्र सञ्चालन गरिएको हो ।

सदस्यहरूलाई सेवा प्रदान गर्न वडा नं. ४ को मझुवा स्थित दुर्गाचोकमा चिस्यानसहितको दुग्ध संकलन केन्द्र पनि सञ्चालन गरेको छ । किसानहरू कृषि पेशामा हतोत्साहित नहुन भनेर यस सहकारीले बीउ उद्योग समेत सञ्चालन गर्दै आएको छ । धानको बीउ उत्पादनबाट सुरुवात भएको यस उद्योगमा अहिले मकै, गहुँ, राज्मा, जैघास, तोरी मुङमास आदीको बीउ उत्पादन हुँदै आएको छ ।

सहकारीले गौरादह नगरपालिकाका किसानहरूबाट उत्पादित कृषि तथा पशुपालनजन्य वस्तु खरिद बिक्री केन्द्रका लागि किसानको बजार सञ्चालन गरिरहेको छ । स्वास्थ्य दूधको उत्पादन वृद्धिका लागि गुणस्तरीय साइलेज उत्पादन गर्ने उद्देश्यले यस संस्थाले कृषकहरूलाई व्यावसायिक बनाउनका लागि साइलेज उत्पादन गरिरहेको छ । यसरी उत्पादित साइलेस मुलुकका विभिन्न स्थानमा सञ्चालित गाईपालन फर्महरूले खरिद गर्ने गरेका छन् । जसको अन्तर्राष्ट्रिय बजार खोज्ने काम पनि भइरहेको  ढकाल बताउँछिन्।

यस सहकारीले बीमा तथा प्राविधिक सेवा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । सहकारीका सदस्यहरूले संस्थाबाट ऋण लिई खरिद गरेका तथा सदस्यको गोठमा रहेको पशुधनहरूको संरक्षणका लागी पशुधन बीमा र प्राविधिक सेवा कार्यक्रम गरिरहेको छ ।

एकपछि अर्को कार्यक्रमहरू थप्दै यस सहकारीले नयाँ काम गर्दै आएको छ । संस्थाका सेयर सदस्यहरूको मुख्य व्यवसाय भनेकै कृषि रहेकोले पनि संस्थाले सदस्यहरूलाई कृषि पेसा मार्फत रोजगार र संवृद्धि ल्याउनका लागि व्यक्तिगत, संस्थागत तथा सदस्य र संस्थाबिचको सहकार्यबाट परियोजना सञ्चालन गर्ने रणनीति लिएको छ ।

संस्था स्थापनाको करिब २ दशककाबीचमा संस्था मार्फत कृषि क्षेत्रमा भएका प्रयासहरूकै कारण पनि सिंगो साना किसान विकास अभियानको नै पहिचान बन्न सफल भएको छ । यस संस्थाका शेयर सदस्यहरूले घरेलु उद्योगहरू पनि सञ्चालन गरिरहेका छन् ।

अचार उद्योग, भुजिया, आलु चिप्स, दूधका परिकारहरू पनि बनाउने गरेका छन् । जसका लागि संस्थाले तालिम दिएको थियो । त्यो उत्पादनको बजारीकरण भएन भने बजारसम्म लगिदिने काम पनि संस्थाले गरिदिने गरेको छ ।

संस्थाले आफ्ना सदस्यहरूलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरी कृषि तथा पशुको उत्पादन, उत्पादकत्व वृद्धिदर उत्पादित बस्तुहरूको अद्यौगीकरण र बजारीकरण गर्ने एक नमुना सहकारी हुने परिकल्पना अगाडि सारेको छ । सोही अनुसार यस सहकारी अगाडी बढिरहेको छ ।

अध्यक्ष ढकालका अनुसार गौरादह ५ मा रहेको यस सहकारीले सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्रदेखि पाहुना घरसम्म सञ्चालन गर्दै आएको छ । गौरादहको घरघरेमा सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्र यस सहकारीले सञ्चालन गरिरहेको छ ।

बीउको काम गर्ने सहकारीमा पहिलो नम्बरमा महारानी सहकारी पर्ने सञ्चालकको दाबी छ । संस्थाले यो परियोजना सुरु गर्नु अगाडी प्राय सबै धानको बिउ बाहिरबाट आउने र ठूला व्यापारी तथा बिचौलियाहरूको मनमानी बजार मूल्य तोक्ने गरेका थिए । त्यस्तो बीउबाट बेलाबेलामा आउने समस्याहरूका कारण किसानहरू धेरै नै मारमा पर्ने गरेका थिए । किसानहरू कृषि पेसामा हतोत्साहित भई धान, मकै, गहुँ, तोरी, राज्मा, जै घाँस लगाइ रहेका थिए ।

यसै क्रममा संस्थाले बीउ उद्योगको स्थापना गरी किसानहरूलाई बिउ उत्पादन गर्न प्रोत्साहन गर्न विभिन्न किसिमका तालिम, गोष्ठी, भ्रमण, प्लान्ट क्लिनिक तथा माटो परीक्षण र गुणस्तरीय मूल बिउ उपलब्ध गराउने गरेको छ ।

यो काम २०७२ सालबाट संस्थाले प्रवद्र्धन गरेको सहकारी तथा चाक्लाबन्धी खेती र स्थानीय अगुवा ५० जना कृषकहरूलाई समेटी करिब ७० हेक्टर क्षेत्रफलमा धानको मूल बिउ वितरण गरी उन्नत बिउ उत्पादनको कार्यबाट सुरुवात भएको हो । हाल धान, मकै, गहुँ, राज्मा, जै घाँस, तोरी, मुङमास आदी बालीहरूको बिउ उत्पादनका लागि ६०० हेक्टर क्षेत्रफलमा प्रत्यक्ष ३५० किसानसँग जोडिएर काम गरिरहेको अवस्था छ ।

संस्थाले स्थापनाकाल देखिनै कृषिसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । तर, त्यसअघि यसको सामान्य रूपमा मात्र प्रचार प्रसार भएकोमा २०७० सालबाट नेपालमा नै पहिलो पटक नयाँ मोडेलको सहकारी खेतीको कार्यक्रम सुरुवात गरे पश्चात् यसप्रति धेरैको चासो बढ्यो ।

अहिले ठूलो सङ्ख्यामा कृषिसँग चासो राख्ने टाढा टाढाका संघसंस्थाहरु साथै सरोकारवाला निकायका मानिसहरू संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । त्यसरी आउने भ्रमणका टोली र स्थानीय आवश्यकतालाई मध्यनजर गरी नमुना पाहुना घर समेत सञ्चालन गरिएको छ ।

‘हामी नमुना सहकारीकारुपमा काम गरिरहेका छौँ । हाम्रा अभ्यास हेर्नका लागि अन्य सहकारीका साथीहरू पनि आउनु हुन्छ । यसरी यहाँ आउनु हुनेहरूलाई मध्यनजर गर्दै हामीले पाहुना घर समेत सञ्चालन गरिरहेका छौँ’, अध्यक्ष ढकालले भनिन् ।

यस संस्थाले आगामी दिनमा ग्रामीण बचत तथा कृषि ऋण परिचालन, नयाँ प्रविधि र सिपको प्रयोग र सहकारी खेतीको माध्यमबाट कृषि र पशु उत्पादन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्य अगाडि बढाएको छ । यसैगरी, संस्थाले स्थानीय श्रम, सीप र पुँजीको विकास गरी सो को परिचालनबाट कृषि तथा पशुधनको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गरिबी न्यूनीकरण गर्ने सहकारीको जोड रहेको उनले जानकारी दिइन् ।

हिजोका दिनमा जति सहकारी खुले ती सबै आवश्यकताका हिसाबले खुले । सहकारी बुझेर लागे । बिस्तारै पुँजी बढाउने अनि ठूला सहकारी बनाउने भन्नेमा सहकारीहरू लागे । यो बिचमा कतिपय सहकारीलाई व्यवस्थापन गर्न समस्या भएको देखिन्छ । तर, महारानी झोडा साना किसान सहकारीलाई भने त्यस्तो समस्या नरहेको सञ्चालकको दाबी छ ।

बजारमा हल्ला गरे जसरी सहकारीका सदस्यहरू विचलित नभएको उनको दाबी छ । यस सहकारीकी अध्यक्ष ढकाल भन्छिन्, ‘बाहिरी हल्ला जसरी हाम्रो सहकारीमा कुनै समस्या छैन । हामी किसानका लागि काम गर्छौ । किसानसँग जोडिएका छौँ । उहाँहरूको उत्पादनदेखि बजारीकरणसम्मको काम हामीले गरेका छौँ । हाम्रो संस्थाका सदस्यहरू विचलित भएका छैनन् । हाम्रोमा कुनै समस्या छैन ।’

किसानहरूसँग जोडिएका काम गरिरहेका सहकारीहरूमा समस्या नरहेको नेपाल कृषि सहकारी केन्द्रीय संघको उपाध्यक्ष समेत रहेकी ढकालको दाबी छन् । राम्रो काम गर्दा सरकारले पनि साथ सहयोग गर्ने अध्यक्ष ढकालको अनुभव छ ।

केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेर काम गर्ने हो भने सफल सहकारीकारुपमा कहलिन सकिने उनको अनुभव छ । ‘राम्रो काम गरेका सहकारीलाई सरकारले पनि साथ दिन्छ । आज हामी नमुना सहकारी बनिरहँदा सरकारले सहयोग गरिरहेको छ । सफल हुन राम्रो काम गर्नुपर्छ । सहकारीहरूले सदस्य केन्द्रित कार्यक्रम गर्नुपर्छ । सदस्यकै हितका लागि हामीले काम गर्यौँ भने सफल हुन गाह्रो छैन’, ढकाल भन्छिन् ।

नोटः केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । आम समुदायसँग जोडिएको सहकारीका केही बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले आमसमुदायकाबीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको शृङ्खला प्रस्तुत गरिरहेको छ ।


प्रतिक्रिया

3 thoughts on “महिलाले हाँकेको ‘महारानीझोडा सहकारी’- वडामा काम, देशभर नाम

  1. धेरै राम्रो । खुशी लाग्यो । सहकारीलाई केही फटाहाहरूले बदनाम गरेका मात्र हुन् । सहकारी सिद्वान्त अपरिहार्य छ नेपालको लागि ।

  2. आँखा अगाडि नै देखिएको सफलता हो यो। एकजुट भएर लागी पर्ने हो र नेतृत्व पारदर्शी तथा जागरुक भयो भने असम्भव केही छैन भन्ने ज्वलन्त नमुना पनि हो यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *