बुटवल-गोरुसिंगे सडक बिस्तार, बुटवल-नारायणगढ खण्डको गल्ती नदोहोर्‍याउने प्रतिवद्धता – Nepal Press

बुटवल-गोरुसिंगे सडक बिस्तार, बुटवल-नारायणगढ खण्डको गल्ती नदोहोर्‍याउने प्रतिवद्धता

रुपन्देही । बुटवल–गोरूसिंगे सडक चार लेनमा बिस्तारको काम शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् ।

पहिलो चरणमा बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ ।

सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको बताए । प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको बताए । प्रधानमन्त्री ओलीले कसैको हल्लाको पछाडि नलागी मुलुकको विकासमा लाग्न सबैलाई आग्रह गरे ।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताए ।

उनले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताए ।

मन्त्री सिंहले आज ब्रेक थ्रु भएको सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडक गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न आग्रह गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माण गर्न निर्माण व्यवसायलाई आग्रह गरे ।

उनले बुटवल–नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्याउने गरी निर्माण गर्न आग्रह गरे । गुणस्तरमा कुनै पनि कमजोरी नगरी लागत र समय नबढाई सडक निर्माण गर्न उनले आग्रह गरे । ‘कतिपय आयोजना समयमा बन्न नसक्दा खुसीभन्दा पीडा भइरहेको छ, यो आयोजनाले पीडा नभई खुसी दिनुपर्ने छ’, उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल९नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि सिद्धबाबा सुरूङमार्ग र बुटवल गोरूसिंगे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने बताए ।

बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ ।

बुटवल–गोरूसिंगे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएर निर्माणको तयारीको काम अगाडि बढाएको थियो ।

सडक निर्माणको लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का सम्झौता गरिएको छ । निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुबैतर्फबाट एकैपटक सुरू हुने आयोजनाले जनाएको छ ।

कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरुसिंगे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ। यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ ।

पचास किलोमिटर सडक अन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी–पिपरा र वनगाई–गोरुसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ । जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।

बुटवलतर्फ भने अधिकांश बजार र बस्ती क्षेत्र रहेको छ । बजार र बस्ती भएको क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिइन् । शहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकमा अन्डर पास र ओभर पास हुनेछ ।

पहिलो चरणमा बन्ने ५० किलोमिटर खण्डमा ३० वटा ठूला पुल र १४ वटा कल्भर्ट पनि बनाइनेछ । बजार क्षेत्रमा ६ वटा अन्डररओभर पास हुनेछन् । निर्माण कम्पनीले प्रारम्भिक कामका लागि १० प्रतिशत रकम लगिसकेको छ भने ५ प्रतिशत काम सुरू गरेपछि भुक्तानी गरिनेछ । सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र काम सक्नुपर्नेछ ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । यो सडकखण्ड स्तरोन्नतिको योजना रूपन्देहीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल यसअघि अर्थमन्त्री भएको बेलामा अगाडि बढेको थियो ।

आयोजना प्रमुख इन्जिनियर न्यौपानेले पनि बुटवल–नारायणगढ सडकमा भएका गल्तीबाट सिकेर नयाँ तरिकामा काम गर्ने योजना रहेको बताइन् । बजार र बस्ती क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेर मात्र बीचको भाग भत्काइने र सकेसम्म समस्या कम हुने गरी काम अगाडि बढाइने उनले बताइन् । निर्माण कम्पनीसँग गरिएको सम्झौता अनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र सडक स्तरोन्नतिको काम सक्नुपर्नेछ ।

५० किलोमिटर सडक स्तरोन्नतिको लागि ७ हजार १७७ रूख काट्नुपर्ने आयोजनाले जनाएको छ । झण्डै २० किलोमिटर जंगल क्षेत्र रहेकोले धेरै रूख कटान गर्नुपर्ने न्यौपानेले बताइन् ।

बजार र बस्ती भएको क्षेत्रमा पनि वर, पिपल, स्वामी, कदम, सिमल लगायतका ठूला ठूला कल्पवृक्ष रहेका छन् । सबै क्षेत्रबाट सडक क्षेत्राधिकार भित्रका रूख काट्न स्वीकृति लिइसकेकोले सडकको शिलान्यासपछि कटान सुरू गर्ने न्यौपानेले जानकारी दिइन् ।

वन नियमावली अनुसार संरचना निर्माणका लागि एउटा रूख काट्दा सट्टामा दस वटा बिरूवा रोप्नुपर्छ । यस हिसाबले यहाँ काटिने रूखको साटो ७० हजारभन्दा धेरै नयाँ बिरूवा खाली जमिनमा रोपेर हुर्काउनुपर्ने हुन्छ । यो कामका लागि आयोजनाले चार करोड रुपैयाँ छुट्ट्याएको छ ।

बिरूवा लगाउने काममा आयोजना कार्यान्वयन हुने जिल्ला वन डिभिजन कार्यालयले समन्वय र सहजीकरण गर्नेछ ।

बुटवल–गोरूसिंगेको काम सुरू भएपछि गोरूसिंगे–चन्द्रौटाको ठेक्का लगाउने विभागको तयारी छ । त्यसपछि कोहलपुर र त्यहाँभन्दा पनि पश्चिमसम्म चरणबद्ध रूपमा सडक विस्तार गर्ने लक्ष्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर