राप्रपा बैठकमा महामन्त्री राणाको प्रश्न- गणतन्त्र सुदृढ गर्ने स्वीकारोक्तिसहित सरकारमा किन गयौं ? – Nepal Press

राप्रपा बैठकमा महामन्त्री राणाको प्रश्न- गणतन्त्र सुदृढ गर्ने स्वीकारोक्तिसहित सरकारमा किन गयौं ?

‘म बिरामी हुँदा हठात संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक दृष्टिबाट न्यायोचित थिएन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री डा. धवलशमशेर राणाले १६ बुँदे ‘आलोचनात्मक’ राजनीतिक धारणा प्रस्तुत गरेका छन् । राप्रपालाई यसअघि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी गराइएको विषयमा उनले कडा टिप्पणी गरे ।

बैठकमा लिखित रूपमै महामन्त्री राणाले राखेको प्रस्तावमा भनिएको छ, ‘राप्रपाको आस्था र विश्वास, एकता महाधिवेशनको म्याण्डेट बर्खिलाफ ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने भन्दै राप्रपा प्रचण्ड सरकारमा सहभागी भयो, सरकारमा सहभागी दलहरुको न्यूनतम साझा कार्यक्रमको भागीदार बन्यो । स्मरण रहोस्, न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले भने प्रस्तावनामा ‘लोकतन्त्रको सुदृढीकरण’ गर्ने भन्ने मस्यौदा मात्र प्रस्ताव गरेको थियो ।’

सरकारमा भएको बेलामा पृथ्वी जयन्तीको दिन सरकारको तहबाट सार्वजनिक बिदा दिने निर्णय गर्नु गराउनु उपलब्धि भए पनि गणतन्त्र सुदृढीकरण गर्ने स्वीकारोक्तिसहित सरकारमा किन सहभागी भयौं ? भन्ने उनको प्रश्न थियो ।

राप्रपाको आधारभूत मान्यता एवं महाधिवेशनको निर्णय लत्याएर किन पदमा गयौं ? आफैंले अनुमोदन गरेको न्यूनतम साझा कार्यक्रमबारे पार्टीलाई किन अन्धकारमा राख्यौं ? पार्टीको वैधानिक र औपचारिक निकायमा साझा कार्यक्रम प्रस्तुत र छलफल किन भएन ? यी र यस्ता गम्भीर प्रश्नहरु अनुत्तरित रहेको राणाले बताएका छन् ।

पार्टी सरकारमा सहभागी हुन केन्द्रीय कार्य समितिले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था भए पनि गणतन्त्र सुदृढीकरण गर्ने निर्णयबारे निर्देशन समिति र केन्द्रीय कार्य समिति बेखबर बनाइएको उनको भनाइ छ ।

‘पूर्वको पाथीभरा देवीदेखि मठमन्दिर, देवीदेवता, धार्मिक ग्रन्थहरु समेत छोएर, आमाको रगतको कसम खाने उच्च नैतिक धरातलमा उभिएको हाम्रो दल, राजसंस्था पक्षधर दलको नेतृत्व कुर्सीकै बहानामा गणतन्त्रको समर्थक बन्छ र जनयुद्ध दिवसलाई मौन समर्थन गर्छ भन्ने अवस्था सपनामा पनि चिताउन नसकिने नियति हो’ उनले भनेका छन्, ‘रगत पसिना, यौवन र पार्टीको आदर्शका लागि जीवनसमेत उत्सर्ग गर्ने देशभरीका लाखौं नेता कार्यकर्ता तथा शुुभेच्छुकहरुको अगाडि अब हामी के बोल्ने ?’

उनले सरकारमा गएपछि पार्टीको लोकप्रियता खस्किएको उल्लेख गर्दै स्थानीय तह उपनिर्वाचनको असफलता हासिल गरेको कुरालाई पनि जोडेका छन् । उनले आफू बिरामी हुँदा हठात संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित नभएको गुनासो पोखेका छन् ।

अबको बाटो

समान विचारधारा भएका सबै व्यक्ति, समूह, संस्था, संगठन र दलहरुको एकतामा, सडक र सदनमध्ये अवस्था र आवश्यकता अनुरुप सडकको प्रभावकारी बाटो रोज्दै राजसंस्था, हिन्दु अधिराज्य पूनस्र्थापना गर्नअघि बढ्नुपर्दछ ।

बेथिति, भ्रष्टाचार, नैतिकपतन र नैराश्यताबीच सुशासन कुन चरीको नाम भन्ने परिवेश छ । दैनिक २,६०० नागरिक विदेशिने क्रम जारी छ, पात्र र प्रणाली दुबै असफल छ ।

देश बनाउन र बचाउन सडक तताउनुपर्छ भन्ने जनमत व्यापक छ । अन्य राजनैतिक दल, बुद्धिजीवी, पेशाकर्मीलगायत आम नागरिकबीच राजा र धर्मको पक्षमा समर्थन बढ्दो छ ।

पार्टीभित्र सत्तत्तरै जिल्ला र आम नागरिकको तहमा ढिला नगरी सडक आन्दोलन गर्नुपर्दछ भन्ने हुटहुटी छ, निर्णायक आन्दोलनको पक्षमा निस्वार्थ समर्थन छ ।

२०८० चैत २७ गते काठमाडौंमा सम्पन्न आन्दोलनको अनुभव र सफलताले समेत सोही दर्शाउँछ । पार्टीको एक आह्वानमा मेचीदेखि महाकाली सम्मका कर्मठ साथीहरु स्वतःस्फूर्त काठमाडौं जम्मा भएको विदितै छ ।

पार्टीको लक्ष्य प्राप्त गर्न उत्साह, उर्जा र समर्पणभावका साथ देशभरीबाट जम्मा भएका सहयोद्धा साथीहरु आन्दोलन निर्णायक तहसम्म निरन्तर जानुपर्छ भन्ने पक्षमा स्पष्ट थिए । सरकारको ज्यादतीविरुद्ध जाइलाग्दा हाम्रा सार्थीहरु घाइते भए भने ठाकुरप्रसाद डाँगीले सहादत प्राप्त गर्नुभयो । तर, डाँगीलाई शहीद घोषणा गर्न न त सदनमा आवाज उठाइयोन त पार्टीबाट कुनै पहल नै भयो ।

सडकमा राप्रपाको माग र खोजी भइरहेको बेला, राप्रपा निर्णायक नबने इतिहासले धिक्कार्ने छ । चिचीको पनि लोभ र पापाको पनि लोभ गर्ने बेला छैन, फलाम तात्तिएको बेला दत्तचित्त भएर सडककेन्द्रीत आन्दोलनमा होमिनुको विकल्प छैन ।

राप्रपा सत्ताको फोहरी खेलमा लाग्दैन भन्ने आदर्श छाँटे पनि दोहोरो मापदण्ड, अन्तरविरोध, सत्य र इमान्दारीको अभावमा जनताको मनमा हामी स्थापित हुन सकेका छैनौं । मुद्दाको लोकप्रियता भोटमा परिणत गर्न सकेका छैनौं । त्यस मानेमा संघ, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका असफलताहरु गम्भीर सूचक हो । जनताको मनमा बस्ने कि ? संग्रहालयको सजावट बन्ने भन्ने जनताको जनाउ हो ।

जनता बद्लिएनन्भन्दै जिम्मेवारीबाट भाग्ने, जनतामाथि दोष थोपरेर गल्तीमाथि गल्ती गर्ने हामीसँग समय र सुविधा छैन । भनाइ र गराइ बीचको अन्तर मेटेर आफैं सच्चिनुको विकल्प छैन । समयको सन्देश आत्मसात गर्नु नै बुद्धिमानी हुनेछ । यसकारण नीति, सिद्धान्त र लक्ष्यप्रति कटिवद्ध कार्यकर्तालाई पार्टीको गहना मानेर सिर्जनात्मक सुझाव र आलोचनाको सम्मान गर्नु जरुरी भएको छ ।

खुला बहस, फरक मत, असहमति बीचको सहमति प्रजातान्त्रिक अभ्यासका सार्थक आधार व्यवहारमा रुपान्तरण गर्नु आवश्यक भएको छ ।

राजा र धर्मको माहोल बनेको बेला, सडकमा राप्रपाको नेतृत्वदायी भूमिका माग भएको बेला, अवसर र जिम्मेदारीबाट चुक्ने सुविधा राप्रपासँग छैन । त्यसैले केन्द्रीय कार्य समिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम योजनावद्ध तवरले सडकको लक्ष्य तय गर्न ढिला गर्न हुन्न । आन्दोलनको बलमा संगठन, आन्दोलनको बलमा परिवर्तन, यही नै समयानुकूल रणनीतिक मार्गचित्र हो ।

अतएव महाधिवेशनबाट प्राप्त अभूतपूर्व लोकप्रियता खस्किएको चिन्ता र संकटको घडीमा संस्थागत हित, विकास र लक्ष्यतर्फको क्रियाशीलता अत्यावश्यक बनेको छ । महाधिवेशनको विवेकबाट अपार संभावना उपलब्ध भए पनि हामी प्रभावकारी हुन नसक्दा समग्र पार्टी र कार्यकर्ताको भविष्य मात्र होइन, हामी र हाम्रा मुद्दा एवं लक्ष्यमाथि प्रश्न उठेको छ ।

यसर्थ बाँकि रहेको दश महिनाको कार्यकालमा विधान र महाधिवेशनको कार्यादेश पूर्ण पालना गर्दै आन्दोलनमा अर्जुनदृष्टि राखेर पार्टी संरचनाको सशक्त परिचालन गर्नु उपयुक्त हुनेछ । यही रणनीतिबाट मात्र पार्टीलाई एकतावद्ध गर्दै हाम्रो मूल्य र मान्यता स्थापित गर्न सफल हुनेछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर