नेपाली सिमेन्टको बिक्री काइदा- नेपालमा ८ सयभन्दा भारतमा ५ सयमा बेच्दा फाइदा !

काठमाडौं । नेपाली उत्पादन सिमेन्ट नेपालमा भन्दा भारतमा प्रतिबोरा ३ सय सस्तोमा निर्यात गरेर नेपालीलाई महँगो मूल्यमा बिक्री गरिरहेको भनेर उद्योगमाथि प्रश्न उठिरहेको छ । पछिल्लो समय उद्योग मन्त्री दामोदर भण्डारी, निर्माण व्यवसायी, सार्वजनिक लेखा समिति र उद्योग समितिमा सिमेन्टको मूल्य अत्यधिक वृद्धि भएकोले घटाउन भनेर छलफल चलिरहेको छ ।
समितिहरुले उद्योगमन्त्री र सिमेन्ट उत्पादकहरुलाई नै बोलाएर के कारणले नेपाली बजारमा सिमेन्टको मूल्य ८ सय रुपैयाँ बोरा पुगेको भनेर छलफल गरिहरेका छन् ।
सिमेन्टको मूल्य वृद्धि भएको विषयमा वाणिज्य विभाग र उद्योग मन्त्रालयले पनि विशेष चासो राखेर काम गरिरहेको बताइएकाे छ । मन्त्रालयमा वाणिज्य विभाग, सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीहरुसँग ४ पटक सिमेन्टको मूल्य वृद्धिको विषयमा छलफल भैसकेको छ ।
नेपालमा ८ सय रुपैयाँमा सिमेन्ट बिक्री हुँदा भारतमा भने प्रतिबोरा ५ सय रुपैयाँमा निर्यात भएको विषय पनि विभिन्न समितिमा छलफल भएका छन् । सार्वजनिक लेखा समितिमा माघ ९ गते सिमेन्ट उत्पादक संघ, नेपाल निर्माण व्यवसायी महासंघ र उद्योग मन्त्री दामोदर भण्डारीलाई बजारमा भएको सिमेन्टको मूल्य वृद्धिको विषयमा छलफलका लागि बोलाइएको थियो ।
सो छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा उत्पादन भएको सिमेन्ट भारत निर्यात ५ सयमा हुँदा नेपाली बजारमा ८ सय रुपैयाँ बोरा विक्री भएको कुरा उठाएका थिए ।
नेपालमा नै उत्पादन भएको सिमेन्ट भारतमा भन्दा नेपालमा किन महँगो मूल्य कायम भएको भन्दै समितिमा आवाज उठाइएको थियो । तर, सिमेन्ट उत्पादकहरु भने नेपालमा ८ सयमा बिक्री गर्नुभन्दा भारतमा ५ सय रुपैयाँ बोरामा बिक्री गर्दा उद्योगलाई फाइदा हुने बताउँछन् ।
सिमेन्ट उत्पादन संघका अध्यक्ष रघुनन्दन मारुले नेपालमा सिमेन्ट बिक्री गर्नुभन्दा भारत निर्यात गर्दा उद्योगलाई फाइदा हुने बताए । नेपालमा प्रतिबोरा ८ सयमा सिमेन्ट विक्री गर्दा भारतमा किन ५ सय रुपैयाँमा बिक्री गरेको भन्ने प्रश्नमा उनले भारतमा ५ सय रुपैयाँ बोरा विक्री गर्दा नै फाइदा हुने बताए ।
उनले भने, ‘नेपालमा सिमेन्ट प्रतिबोरा ८ सयमा बिक्री गर्नुभन्दा भारतमा ५ सय रुपैयाँ बोरामा निर्यात गर्दा उद्योगलाई फाइदा हुन्छ । नेपालमा सिमेन्ट बिक्री गर्दा भ्याट, राजस्व र कच्चा पदार्थ आयात गर्दा कर तिर्नु पर्छ । तर, भारतमा सिमेन्ट निर्यात गर्दा भ्याट र कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार लाग्दैन । सिमेन्ट निर्यात गर्दा ८ प्रतिशत अनुदान पनि पाइन्छ । कम्पनीको बिक्री मूल्य ८ सय होइन । कम्पनीको मूल्यमा डिलर र होलसेल हुँदै उपभोक्तासम्म पुग्दा मूल्य ८ सय पुगेको हो । अघोषित लोडसेडिङको कारणले उत्पादनको लागत वृद्धि भएर छ । उद्योगमा नियमित लाइन आउँदैन । जेनरेटर चलाएर सिमेन्ट उत्पादन गर्दा प्रतिबोरा १६६ रुपैयाँ लागत वृद्धि हुन आउँछ ।’
नेपालमा अहिले २०÷२२ मिलियन टन वार्षिक सिमेन्ट उत्पादन रहेको छ । ६० वटा सिमेन्ट उद्योगमा ४२ वटा मात्रै सिमेन्ट उद्योग सञ्चालनमा रहको मारुले बताए ।
प्यूठान सिमेन्ट उद्योगका सञ्चालक ताराप्रसाद पोखरेलले सिमेन्ट उद्योगअनुसार सिमेन्ट मूल्य फरक फरक रहेको बताए । उनले भने, ‘ठूलो लगानी भएको सिमेन्ट उद्योगले आफै किङ्कर उत्पादन गर्छ । त्यस्ता सिमेन्ट उद्योगको मूल्य कम हुन्छ । साना उद्योगले उत्पादन गरेको सिमेन्ट ठूला उद्योगले उत्पादन गरेको भन्दा थोरै मूल्य धेरै हुन्छ । उद्योगले चुन ढुंगा ल्याउने दूरीले पनि सिमेन्टको मूल्य निधारण हुन्छ । अहिले उद्योग अनुसार कम्पनी मूल्य ६५० देखि ७२० रुपैयाँसम्म रहेको छ ।’
भारत सिमेन्ट निर्यात हुँदा भ्याट नलाग्ने, कच्चा पदार्थमा भन्सार नलाग्ने र अनुदान आउने भएकाले पनि भारतमा प्रतिबोरा ५ सयमा सिमेन्ट निर्यात भएको हो । सरकारले कच्चा पदार्थमा भन्सार नलिने र कर नलाग्ने हो भने नेपालमा पनि प्रतिबोरा ५ सयमा सिमेन्ट विक्री गर्न सकिने पोख्रेलले नेपाल प्रेससँग बताए ।
साउनबाट अहिले सिमेन्ट प्रतिबोरा १५० देखि २२५ सम्म मूल्य वृद्धि भएको सिमेन्ट उद्योग सञ्चालकहरु नै बताउँछन् ।