कम्पनी विवरण बुझाउन ढिला हुँदा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिइने – Nepal Press

कम्पनी विवरण बुझाउन ढिला हुँदा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिइने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी विवरण बुझाउन ढिला हुँदा लाग्ने जरिवानामा छुट दिने जनाएको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा भएको व्यवस्थाअनुसार यस्तो छुट दिइने भएको हो ।

उक्त अध्यादेशको दफा ८१ अन्तर्गत उपदफा (७) मा भनिएको थियो, ‘यो उपदफा प्रारम्भ हुँदाका बखत कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी संवत् २०८२ साल असार मसान्तभित्र बुझाएमा यस ऐन बमोजिम विवरण, सूचना वा जानकारी ढिला बुझाए बापत लाग्ने जरिबानामा नब्बे प्रतिशत छुट दिइनेछ ।’

साविक दफा १३६क. को सट्टा संशोधित दफा १३६क. मा कम्पनी खारेजी सम्बन्धी विशेष व्यवस्था गरी जरिवाना सम्बन्धमा नयाँ व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘उपदफा (१) वा (२) बमोजिमको निवेदनसाथ दफा ८० बमोजिमको विवरण सहित दफा ८१ बमोजिम लाग्ने जरिवाना रकम वा कम्पनीको चुक्ता पुँजीको शून्य दशमलव पाँच प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ सो रकम समेत संलग्न गरी बुझाउनु पर्नेछ ।’

यस्तो सुविधा प्रदान गर्नका लागि कम्पनी प्राविधिक तयारी भइरहेको कार्यालयले जनाएको छ । यो व्यवस्था अविलम्ब कार्यान्वयन गरिने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *