महानगर यातायातका थप ४० नयाँ बस सञ्चालनमा, आईपीओ जारी गर्ने घोषणा – Nepal Press

महानगर यातायातका थप ४० नयाँ बस सञ्चालनमा, आईपीओ जारी गर्ने घोषणा

काठमाडौं । काठमाडौंको चक्रपथमा यात्रुलाई सेवा दिँदै आएको महानगर यातायात प्रालिले थप ४० वटा बस सञ्चालनमा ल्याएको छ ।

२०७२ सालमा स्थापना भएको महानगर यातायात प्रालिले यसअघि ४९ वटा सिटी बसमार्फत यात्रुलाई सेवा दिँदै आएको थियो । अब बसहरुको संख्या ८९ पुगेको छ ।

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिको नैकापस्थित कार्यालयमा बिहीबार नयाँ बसहरुको साँचो हस्तान्तरणसँगै शुक्रबारबाट नयाँ बसहरु सँचालनमा आएको कम्पनीले जनाएको छ । नयाँ बस थपिएसँगै चक्रपथबाहेकका अन्य गन्तव्यहरुमा पनि सेवा दिने कम्पनीले बताएको छ ।

कम्पनीका उपाध्यक्ष सन्तोष खतिवडाले बस थपिएसँगै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा सेवा दिने बताए ।

‘आगामी एक वर्षभित्रै ५० वटा विद्युतीय बस पनि सञ्चालनमा ल्याउने तयारी छ’, उनले भने, ‘महानगर यातायात अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुनेछ । यातायातले आफ्नो आईपीओ जारी गर्ने तयारी गरेको छ ।’

कम्पनीका अध्यक्ष मधुसुदन उपाध्यायले पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै महानगर यातायात नेपालको सार्वजनिक यातायात क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *