साकार हुँदै सडक यातायातको नयाँ युग, नेपालमा सुरुङ मार्गको नालीबेली

बुटवल । राणाकालीन सडक इन्जिनियरिङमा धानिएको सडक यातायातमा केही समययता नयाँ युग सुरु भएको छ । सडक यातायातमा अहिले सुरुङ, द्रुत मार्ग, फ्लाइओभर, अन्डरपाससहितका नयाँ मोडलका संरचनाको निर्माण भइरहेको छ ।
पानीको कुलो लैजान, जलविद्युतका लागि ससाना सुरुङ खनेको करिब ४०० वर्षको इतिहास भए पनि सडक यातायातको नयाँ सुरुङ मार्गको इतिहास भने केपी ओली प्रधानमन्त्री बनेपछि सुरु भएको हो ।
यसको ताजा उदाहरण पहिलो सडक सुरुङ नागढुंगा सुरुङ मार्ग हो भने दोस्रो बुटवल-तानसेन खण्डको सिद्धबाबा सुरुङ । नागढुंगाको सुरुङ ‘ब्रेक थ्रु’ भई सञ्चालनको अन्तिम चरणमा छ । आज ब्रेक थ्रु हुने सिद्धबाबा सुरुङ मार्ग आउँदो वर्ष सञ्चालनमा आउनेगरी धमाधम काम भइरहेको छ ।
योसँगै यहाँ महेन्द्र राजमार्गको मुख्य ब्यस्त खण्ड बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तार हुँदैछ । आधुनिक र नौलो प्रविधिमा वन्यजन्तु मैत्री र अन्डर भेहिकल पाससहितको चार लेनको डेडिकेटेड मार्ग हो यो । यो मार्गको पनि आज प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा बुटवल- १३ जीतगढीमा शिलान्यास गर्ने कार्यक्रम छ । शिलान्यासमा उपप्रधान तथा अर्थमन्त्री एवं यी दुबै ड्रिम प्रोजेक्टका योजनाकार विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिहरु सहभागी हुने कार्यक्रम छ ।
पूर्व-पश्चिम राजमार्गमा पहिलो चरणमा ५० किलोमिटर सडक विस्तार हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी, रामग्राम, कपिलवस्तु, बुद्धावलीका रणनीतिक स्थल जोड्ने गरी सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गमा नयाँ युग झल्काउने गरी काम सुरु भएको छ । सुरुङ मार्ग र सडक विस्तार सुरु हुनु त्यसैको उदाहरण हो ।
सिद्धबाबा सुरुङ : आज ‘ब्रेक थ्रु’ हुँदै
पहाडलाई तराईसँग जोड्ने सिद्धबाबा सुरुङ मार्गको मुख्य ‘टनेल’ को ‘ब्रेक थ्रु’ आज हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा मन्दिर नजिकै गत वर्षको माघ ४ गतेबाट सुरुङ खन्न थालिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल रुपमा गर्ने सुरुङ मार्गकाे ‘ब्रेक थ्रु’ मा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत आउने कार्यक्रम रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
पश्चिम नेपालको प्रमुख शहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ ‘ब्रेक थ्रु’ ले पूर्वाधारको क्षेत्रमा आशाको किरण जगाएको छ । ‘ब्रेक थ्रु’ का लागि साढे १ मिटर भाग सुरक्षित रुपमा राखिएको छ । बाँकी रहेको सोही भाग क्षेत्रलाई ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत हेटबक्स तर्फबाट खन्दै आएको सुरुङको मुख एकापसमा जोडिनेछ ।
आयोजनाका अनुसार दुवैतर्फको रिबसहित सुरुङ मार्गको कुल लम्बाइ एक हजार १२६ मिटरको हुने भए पनि खन्नुपर्ने टनेलको भाग भने एक हजार ८९ मिटरमात्रै रहनेछ । त्यसमध्ये साढे १ मिटरमात्रै भाग ‘ब्रेक थ्रु’ का लागि बाँकी राखेर एक हजार ८७.२ मिटर सुरुङ खनेर सकिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।
मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ (दक्षिण) बाट ६१० र विद्युतको हेडबक्सतर्फ (उत्तर) बाट ४७७.२ मिटर सुरुङ खन्ने काम भएको छ । आउँदो वर्षायामको अप्ठ्यारो अवस्थामा सुरुङबाट सवारीसाधान सञ्चालन गर्ने आयोजनाको तयारी छ । ‘ब्रेक थ्रु’ पछि बाहिरी क्षेत्रको सडक मर्मत गर्दा टनेलबाटै गाडी पठाउने आयोजना प्रमुख अधिकारीले बताए ।
हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक वर्षा होस् या हिउँद सधैं पहिरोको उच्च जोखिममा पर्छ । सडकदेखि तल तिनाउ नदीतर्फ अप्ठेरो भीरसहितको छाँगो र माथितर्फ अग्लो चट्टानसहितको पहाड भएकाले वर्षामा मात्र होइन, हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ ।
सोही जोखिमलाई मध्यनजर गरी सरकारले सुरक्षित आवागमनका लागि सुरुङ मार्ग निर्माण अघि बढाएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइरहेको सुरुङ मार्गको निर्माणको काम ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङ मार्गको काम सकाउनुपर्ने छ ।
यसअघि १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ‘ब्रेक थ्रु’ गरिएको थियो ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले सुरुङ छिचोलेपछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, भेन्टिलेसन र सडक ढलानको काम हुने बताइन् । दैनिक ८-८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेकाले छिटो प्रगति भएको इन्जिनियर ज्ञवालीको भनाइ छ ।
‘यो सुरुङ मार्गले यस क्षेत्रलाई पूर्वाधार विकाससहित आर्थिक क्षेत्रमा समेत फड्को मार्न योगदान गर्नेछ । गुल्मी र पाल्पाका नागरिकको एक दशकदेखिको चाहना पूरा हुनेछ’, ज्ञवालीले भनिन् ।
सुरुङ मार्गको काम सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) राखेर सडक सुरक्षित बनाउने काम पनि आयोजनाले गर्नेछ । अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । पहिरोका कारण ठूलो जनधनको क्षति हुँदै आएपछि यसलाई ‘मृत्यु मार्ग’ पनि भन्ने गरिएको छ ।
दोभानदेखि बुटवलको चिडिया खोलासम्मको ५ किलोमिटर क्षेत्र अति जोखिमपूर्ण मानिन्छ । बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति गराइरहेको यो खण्डलाई सुरक्षित बनाउन राज्यको लामो प्रयासपछि सुरुङ निर्माणको काम अघि बढेको हो ।
पछिल्लो दश वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ८० जनाभन्दा बढीले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । सुरुङ मार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ । सुरुङ मार्ग बनेपछि सिद्धबाबा क्षेत्रमा पहिरोको सन्त्रास अन्य हुने आशा लिइएको पाल्पा दोभानका स्थानीय तोया लम्सालले बताए ।
‘यही खण्डका कारण यात्रा गर्दा सिद्धबाबामा के होला भन्नुपर्ने अवस्था छ । अब त्यो त्रास अन्त्य हुनेछ’, लम्सालले भने ।
सडकमा अहिले दैनिक २ हजार ५०० हाराहारीमा सवारीसाधन गुड्छन् । यो सडक खण्ड हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र उत्तरी छिमेकी देश चीन जोड्ने कोरला नाकासम्म पुग्न सकिन्छ । वातावरणविद् तथा इन्जिनियर प्रा.डा. खेटराज दाहालले सिद्धबाबा सुरुङ आवश्यकभन्दा केही छोटो बनेको बताए ।
‘सुरुङ कम्तीमा चिडिया खोलादेखि दोभानसम्म बन्नुपर्ने हो’, दाहालले भने, ‘यात्राका क्रममा मानिसहरू बलि चढेका थिए । यति नै भए पनि सरकारले एकदमै राम्रो गर्यो । यो क्षेत्रमा कम्तीमा ४ किलोमिटर लामो सुरुङ मार्गको आवश्यकता हो । सानो नै बने पनि खुसी हुनुपर्छ ।’
सिद्धबाबा सडक खण्डको विकल्पमा प्रदेश र स्थानीय सरकारले बनाएका वैकल्पिक मार्ग पनि प्रभावकारी देखिएका छैनन् । प्रदेश सरकार गौरवको आयोजनाका रूपमा रूपन्देहीको चरङ्गे, मुढाबासबाट चौकी भञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्ने सडक बने पनि प्रयोगमा आउन सकेन ।
त्यस्तै बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किलोमिटर लामो ‘ट्रयाक’ पनि खोलिएको छ । सडक नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ । सडक दुर्घटनाको जोखिम घटाउँदै सुनौली-पोखरा सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गका ठूला घुम्तीहरू कटान भइरहेका छन् ।
यसैगरी दुई लेनको यो सडक खण्डलाई बुटवल-नारायणगढ जस्तै चार लेनमा विस्तार गर्ने गरी सरकारले योजना अघि बढाएको छ । मुलुकमा बनेका नागढुंगा-सिस्ने खोला र सुनकोशी-मरिण डाइभर्सनको सुरुङ यसअघि नै छिचोलिसकिएको छ ।
सिद्धबाबा सुरुङ मार्गमा अब के काम बाँकी छ ?
सुरुङ मार्ग त छिचोलियो, तर कहिले सञ्चालनमा आउँछ भन्ने आमजिज्ञासा छ । अहिले यहाँ ४० चिनियाँ र ८० नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी करिब १५० जनाले नियमित काम गरिरहेका छन् । छिचोलिएको सुरुङभित्र पसेर सेकेन्डरी सपोर्टको काम भइरहेको छ । यसअन्तर्गत इन्भर्ट लाइनिङ र बेञ्च ब्लास्टका काम भइरहेका छन् । प्रधानमन्त्री केपी ओलीले ‘ब्रेक थ्रु’ गराएसँगै ती काम तीव्र गतिमा अगाडि बढ्ने आयोजनाले जनाएको छ ।
स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्भे गरी सुरुङ मार्गको डीपीआर तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ-चिडिया खोला सडक खण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७०० मिटर सडक क्षेत्र एकदमै जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव पनि दिएको थियो ।
चट्टानी भीरमा रकसेट अर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मंसिर २ गते सुरुङ मार्गका लागि १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको थियो । यसको केही समयपछि २०७८ मा ग्लोबल टेन्डर आह्वान भयो ।
केही समयपछि नै ठेक्का प्रक्रिया पूरा गरेर चिनियाँ कम्पनीले यो सुरुङ मार्ग बनाउने जिम्मेवारी पाएको थियो । सुरुङ मार्गको लम्बाइ कुल १.२६ किलोमिटर र चौडाइ साढे ८ मिटर छ
सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’
योसँगै सुरुङ मार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा रक सेट र स्लोप प्रोटेक्सन गरिनेछ । यो भनेको सुरुङ मार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङ मार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा प्रदान गर्ने प्रविधि प्रयोग गरिनेछ ।
अस्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङ मार्ग बनेको छ र सोहीअनुसारका नयाँ डिजाइनमा रक सेट र स्लोप प्रोटेक्सनका काम हुने इन्जिनियर श्रीजेस पौडेलले बताए । पौडेल तिनै इन्जिनियर हुन्, जो नागढुंगाको सुरुङ मार्गमा पनि खटिएका थिए ।
यहाँ उनी सुरुदेखि नै निर्माण कम्पनीको तर्फबाट काममा खटिएका छन् । दुबै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इन्जिनियर पौडेलले बताए ।
यसरी बन्दैछ बुटवल-चन्द्रौटा आधुनिक सडक
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डलाई चार लेनमा विस्तार योजनाको अहाज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएका छन् । ६ दशकपछि स्तरोन्नति हुन थालेको यो सडक २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिए ।
विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नति गर्न २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौता भएको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा. विजय जैसीका अनुसार दुई खण्डमा विभाजित गरी यो सडक स्तरोन्नतिको काम हुनेछ । बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा सडक स्तरोन्नतिको काम हुने उनको भनाइ छ ।
बुटवलदेखि गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । नेपाली ३४ अर्ब रुपैयाँ लगानीमा बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तार हुँदैछ । २ लेनको सडक अब ४ लेनको बन्नेछ । १०० किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।
यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल-भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ । यो सडक क्षेत्रभित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए । बन्न थालेको चार लेन सडकको दुवै किनारलाई हरियाली क्षेत्रको रुपमा विकास गर्नेगरी उच्च प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ ।
सम्झौताअनुसार सडक निर्माणको भौतिक काम २०२३ नोभेम्बरमा सुरु भएर २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ । पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुनेछ ।
अहिले बुटवलदेखि गोरुसिंगे खण्डमा रूखको मार्किङ, विद्युत पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँचको काम भएको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् । १४९ कल्भर्ट र ६ वटा अन्डर/ओभर पास निर्माण हुनेछन् । यो सडक शहरी क्षेत्रमा ५०, शहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ । सडक क्षेत्रमा पर्ने रूखहरूको नम्बरिङ सकिएर वन मन्त्रालयको अनुमतिमा अहिले मार्किङको काम भइरहेको र त्यसपछि रूख कटान सुरु हुने बुटवल गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।
सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम आशिष निर्माण सेवाले गर्नेछ । सम्झौताको तीन वर्षभित्रै काम सक्ने निर्माण व्यवसायी विजय गौलीले दाबी गरे ।
रुख कटान र विद्युतका पोल स्थानान्तरणपछि सडक किनारको एकतर्फबाट निर्माण सुरु हुने गरी परियोजनाले डिजाइन गरेको छ । पूर्वपश्चिम राजमार्ग भएर दैनिक हजारौं सवारी ओहोरदोहोर गर्ने भएकाले सवारीसाधन र यात्रुलाई सास्ती नहुने गरी निर्माणको काम हुने उनले बताइन् ।
सालझन्डीदेखि पिपरासम्म र बनगाईदेखि गोरुसिंगे क्षेत्रमा १४९ वटा कल्र्भट निर्माण गर्ने आयोजनाले जनाएको छ । तीमध्ये तीन वटा वन्यजन्तु आवतजावत गर्ने अन्डरपास र अन्य पानी बग्नसमेत मिल्ने गरी निर्माण हुनेछन् । सालझन्डी-पिपरा खण्डमा चार वटा, कोइली-घेरुवा-बनगाई-गोरुसिंगे क्षेत्रमा ६ वटा अन्डर/ओभरपाससहितका कल्भर्ट निर्माण हुने आयोजनाले बताएको छ ।
नेपालमा सुरुङ मार्गको नालीबेली
नेपालमा मानव निर्मित सुरुङको इतिहास ४०० सय वर्षभन्दा पुरानो छ । मुलुकको पहाडी भेगमा सिँचाइका लागि कुलो निर्माण गर्ने क्रममा सुरुङ निर्माण भएको पाइन्छ । नेपाल टनेलिङ एसोसियसनका अनुसार नेपालमा सुरुङको इतिहास निकै पुरानो छ । पाल्पाको अर्गेलीमा बनेको सुरुङ मुस्ताङमा रहेका सुरुङलाई सयौं वर्ष पुराना मानिन्छ, तर सडक सुरुङ मार्गको भूमिगत संरचना भने अहिले बल्ल बन्न थालेका छन् ।
सडक मार्गको तुलनामा सुरुङ मार्ग निर्माण गर्दा लागत कैयौं गुणा महँगो पर्छ, तर नेपाल जस्तो पहाडी मुलुकका लागि दीर्घकालीन दृष्टिले सुरुङ मार्गको बहुआयामिक महत्व छ । सुरुङ मार्गले एक ठाउँ र अर्को ठाउँको दूरी निकै नै छोट्याउँछ ।
नेपाल टनेलिङ एसोसियसनका अनुसार हालसम्म नेपालमा करिब ४१६ किलोमिटर सुरुङ बनिसकेको छ, जसमा ३५० किलोमिटर हाइड्रोपावर सुरुङ, २७ किमि खानेपानी वितरण सुरुङ, २५ किमि सिंचाइ सुरुङ, ११ किमि सडक सुरुङ, ५२२ मिटर ढल निकास सुरुङ, दुई किमि खानी सुरुङ र ०.३ किमि म्युजियम सुरुङ गरी जम्मा ९ किसिमका छन् । रेल सुरुङमार्गको निर्माण भने नेपालमा भएको छैन ।
यस्तै ३०० किमि हाइड्रोपावर सुरुङ, ३ किमि सिंचाइ सुरुङ र सडक १० किमि सडक गरी जम्मा ३१३ किमि सुरुङ हाल निर्माणाधीन चरणमा छ । नेपालमा सुरुङको प्रयोग सबैभन्दा बढी जलविद्युत परियोजनामा भएको पाइन्छ ।
नेपालमा खानेपानीका लागि बनेको पहिलो सुरुङ मेलम्ची खानेपानीको हो । सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २७ किमि सुरुङ खनेर मेलम्चीको पानी राजधानीमा वितरण हुँदै आएको छ । हालसम्म खनिएको सुरुङमध्ये यो नै सबैभन्दा लामो सुरुङ हो । २०७४ को चैत २९ गते ‘ब्रेक–थ्रु’ भएको यो सुरुङ खन्न करिब १० वर्ष लागेको थियो ।
यस्तै नेपालमा पहिलो पटक आधुनिक प्रविधिको प्रयोगबाट बनेको सुरुङ भने भेरी–बबई डाइभर्सन सुरुङ हो । यसमा अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग भएको थियो । जसमार्फत अपेक्षित समय अगावै सुरुङ छेड्ने काम सकिएको थियो । १२.२ किलोमिटरको यो सुरुङ मुख्य रूपमा सिंचाइका लागि प्रयोग गर्न बनाइएको थियो । यो सुरुङ खन्न २ वर्ष पनि लागेको थिएन । योसहित सिंचाइका लागि नेपालमा करिब २५ किलोमिटरभन्दा बढी सुरुङ खनिएको छ ।
यस्तै हाल गौरवको आयोजनामा सूचीकृत सुनकोशी मरिण बहुउद्देश्य आयोजनामा टीबीएमको प्रयोग गरेर सुरुङ खन्ने काम जारी छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजना पनि टीबीएम मेसिनको प्रयोग गरेर सुरुङ खन्ने काम भइसकेको छ । नेपालको पहिलो सडक सुरुङ नागढुङ्गा सुरुङ मार्ग अब केही समयमै प्रयोगमा आउँदैछ, यसको केही महिनाअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘ब्रेक थ्रु’ गराएका थिए ।
निकै जानकारीमूलक लेख !