राष्ट्र बैंकले बजारबाट अर्बौँ पैसा किन तानिरहेको छ ? यसो भन्छन् सह–प्रवक्ता पोखरेल (भिडिओ)
पछिल्लो समय नेपाल राष्ट्र बैंकले बजारबाट निरन्तर तरलता खिचिरहेको छ । बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल मार्फत छोटो-छोटो अवधिमै अर्बौँ रुपैयाँ तानिरहेको छ । बुधबार पनि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्यो । पछिल्लो तीन महिना यता (कात्तिकदेखि हालसम्म) १४ खर्ब ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले बजारबाट निरन्तर पैसा किन तानिरहेको छ भन्नेबारे राष्ट्र बैंकका सह-प्रवक्ता डिल्लीराम पोखरेलसँगको कुराकानी नेपाल टकमा :
-नेपाल राष्ट्र बैंकले सातामै तीन पटकसम्म बजारबाट अर्बौँ पैसा किन तानिरहेको छ ?
वित्तीय क्षेत्रको स्थायित्वका लागि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दै आएको छ । कहिलेकाहीँ बजारमा बढी तरलता हुन्छ भने कहिले कम भइरहेको हुन्छ । बजारमा बढी हुन नदिने र कम पनि हुन नदिनका लागि हामीले तरलता व्यवस्थापन गरिरहेका हुन्छौँ । बजारमा धेरै तरलता भइरहेको अवस्थामा प्रशोचन गर्छौं । कम भएको अवस्थामा तरलता प्रवाह गर्छौ ।
चालू आर्थिक वर्षको सुरुवातदेखि हामीसँग अधिक तरलताकाे अवस्था छ । पछिल्लो समय हामीले निरन्तररुपमा बजारबाट पैसा तान्नुको पछाडि बजारमा अधिक तरलता भएर नै हो ।
अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । पछिल्लो समय मुलुकमा आन्तरिक आर्थिक क्रियाकलाप सुस्त भए । बाहिरबाट पैसा आइरहने तर यहाँ लगानी हुन सकेन । रेमिट्यान्स, पर्यटन क्षेत्रबाट उल्लेख्य मात्रामा विदेशी मुद्रा सञ्चिति बढेको छ । आम्दानी बढेपनि त्यस अनुसारको खर्च हुन सकेको छैन । जसले गर्दा बजारमा तरलता थुप्रिन पुग्यो ।
हामीले विभिन्न शर्त अनुसार हप्तामा तीन पटकसम्म तरलता प्रशोचन गरिरहेका छौँ । हामीले ३ प्रतिशतसम्म ब्याजदर कायम गरेर बोलकबोलमा बोलाएका हुन्छौँ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुन्छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउँछन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलब पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने हुन्छ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिन्छ ।
समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो-रेट बेसिस’मा बाँडफाँट गरिन्छ । आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहन्छ ।
स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउण्टर पार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्छ । निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंकस्थित खातामा जम्मा गरिन्छ ।
-कति दिनका लागि राष्ट्र बैंकले बजारबाट पैसा खिच्छ र त्यो पैसा के गर्छ ?
सामान्यतया राष्ट्र बैंकले ७, १४ र २१ दिनका लागि बजारबाट पैसा खिच्ने गर्छ । हामीले बजारबाट पैसा तानेर लगानी गर्ने भने होइन । हामीले बजारको पैसा व्यवस्थापनका लागि ल्याएर राख्ने हो ।
-तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाइ हम्मेहम्मे परिरहेको छ। बैंकहरुले लगानी गर्न नसकेका हुन् ?
हामीले तरलता व्यवस्थापन गर्ने काम गरिरहेका छौँ । पछिल्लो समय बजारमा अधिक तरलता छ । यसलाई व्यवस्थापन नगर्ने हो भने यसले थप नकारात्मक असर पार्न सक्छ । बजारबाट कर्जाको माग छैन । त्यसैले पनि बैंकहरुले लगानी बढाउन नसकेका पक्कै हो । सधैँ यसरी प्रशोचन गरेर हुँदैन । हामीले लगानी बढाउनमा सोच्नु पर्छ ।
सिजनलरुपमा पनि हेर्ने हो भने यो समय लगानी गर्ने समय हो । यतिबेला धेरै लगानी हुनुपर्ने हो । बर्खा पनि सकिसकेको छ । यो बेला नयाँ आयोजना बनाउनु पर्ने हो । यस्तो सिजनकै बेलामा लगानी बढ्न सकेको छैन ।
-अधिक तरलता व्यवस्थापनको समाधान तरलता प्रशोचन मात्रै हो ?
होइन, राष्ट्र बैंकले व्यवस्थापनका काम गरिरहेको छ । यसबाहेक सरकारले राष्ट्र ऋण आवश्यकता अनुसार उठाउन सक्छ ।
सरकारको खर्च र आम्दानी मिसम्याच भइरहेको हुन्छ । यसको न्यून पूर्तिका लागि आन्तरिक बरिङ मार्फत पनि खिच्न सक्छ । सरकारले आन्तरिक ऋणको तालिका बनाएको छ भने उसले उठाउने हो भने यस्तो बेला फाइदाजनक हुनसक्छ ।
यससंगै वित्तीय संस्थाहरूले जतिसक्दो कर्जा प्रवाह नै बढाउनु पर्छ । कर्जा प्रवाह गर्दा जति फाइदा उनीहरूलाई हुन्छ त्यति फाइदा राष्ट्र बैंकमा राख्दा हुँदैन ।
-सधैँ राष्ट्र बैंकले पैसा खिचिदिइरहने हो भने बैंकहरू जोखिम लिएर किन लगानी गर्ने ? राष्ट्र बैंकले पैसा तानेर राखिदिन्छ भनेर ढुक्कले बसे भने कर्जा प्रवाह त पक्कै बढ्दैन । यसरी नेपालको वित्तीय क्षेत्र कहाँ पुग्ला ?
पक्कै पनि यसले समस्या निम्त्याउन सक्छ । ३ प्रतिशतको ब्याजदरमा राष्ट्र बैंकले तान्दिरहने हो भने वित्तीय संस्थाहरूलाई यसले दिगो बनाउँदैन । यो छोटो समयका लागि मात्रै हो । सधैँ यस्तो व्यवस्था गरिरहनु पर्ने अवस्था आउनु हुँदैन ।
वास्तविक ब्याजदर ऋणात्मक भयो भन्ने अवस्था आयो भने चिन्ताको विषय पनि बन्न सक्छ । जसले बैंक तथा वित्तीय संस्थाहरूमा पैसा जम्मा गर्नुहुन्छ उहाँहरूको निक्षेपको ब्याजदर मुद्रास्फीतिको दरभन्दा कम हुन थाल्यो भने उनीहरू डिस्करेज हुनसक्ने अवस्था आउँछ । ब्याजदरभन्दा बढी महँगी भयो भने उनीहरू निरुत्साहित हुन्छन् ।
हामीले लगानी बढाउनु नै पर्छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकमा राख्नु भनेको बैंकहरुको लागि घाटा हो । उनीहरूले जतिसक्दो लगानी बढाएको राम्रो हो । यसरी राष्ट्र बैंकमा पैसा राख्नु बैंकहरुलाई मात्रै होइन मुलुकको अर्थतन्त्रको लागि पनि राम्रो होइन ।
-बजारमा कर्जाको माग खासै देखिँदैन । यस्तो अवस्थामा कर्जा प्रवाह बढाउनका लागि के गर्नुपर्छ ?
बजारमा व्यावसायिक वातावरण बन्दै गएपछि कर्जाको माग हुनुपर्ने हो । अहिले पछिल्लो समय त्यति धेरै व्यावसायिक वातावरण बिग्रेको जस्तो त लाग्दैन । तर, पनि कर्जाको माग राम्ररी हुनु सकिरहेको छैन । यसमा नेपाल राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट धेरै काम गरिरहेको छ ।
फेरि कर्जाको माग नै नभएको भने होइन । केही केही भइरहेको छ । तर अपेक्षितरुपमा कर्जाको माग हुन सकेको छैन । निर्माण क्षेत्र, घरजग्गाको क्षेत्र, शेयर बजारहरूमा पहिले जसरी अहिले लगानी हुन सकेको छैन । यस क्षेत्रमा पहिले जुन गतिमा गइरहेको थियो त्यो गतिमा ब्रेक लागेको छ ।
पुँजीगत खर्च पनि राम्ररी हुन सकेको छैन । सरकारले लक्ष्य अनुसार खर्च गर्न सकेको छैन । त्यसबाहेक सबैभन्दा पहिलो कुरा बजारमा लगानीका लागि कन्फिडेन्स छैन । हामीले व्यावसायिक वातावरण बनाउनका लागि सबैभन्दा पहिले कन्फिडेन्स बढाउनु पर्ने हुन्छ ।
हामीले बैंक तथा वित्तीय क्षेत्रहरूलाई लगानीका लागि केही क्षेत्रहरू तोकिएको छ । ती क्षेत्रहरूसँगै अन्य केही क्षेत्रहरूमा पनि लगानी गर्न सक्छन् । तर उनीहरू माग नै छैन भनेर बसेका छन् ।
बजारबाट कर्जाको माग आउन सकेको छैन । निजी क्षेत्रबाट कर्जाको माग आउनु पर्यो । उनीहरूले माग गरेकै छैनन् । उनीहरूलाई कर्जाको माग गर्ने वातावरण बनाइदिन आवश्यक छ । यसका लागि निजी क्षेत्र, सरकार र हामी जस्तै बैंकहरुले वातावरण बनाउनु पर्छ ।
लगानीका लागि बैंकहरुले भन्दा पनि माग पक्षतिर सुधार हुन आवश्यक छ । माग पक्ष आए बैंकहरु लगानी गर्न तयार छन् । माग बढाउनका लागि सुधारका वातावरण सरकारले बनाउनु पर्छ ।
विशेषगरी उत्पादनमूलक क्षेत्रमा कर्जाको माग कसरी बढाउन सकिन्छ भनेर हामीले ध्यान दिन आवश्यक छ । उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुनु भनेर भोलिका दिनमा पनि फाइदा हुनु हो । उत्पादनशील क्षेत्रमा लगानी बढ्नु भनेको बैंक वित्तीय संस्थालाई मात्रै होइन नेपालको अर्थतन्त्रको लागि पनि राम्रो हो । यसमा सरकार, निजी क्षेत्र, बैंकिङ क्षेत्रसँगै भएर आवश्यक कदम चाल्न आवश्यक छ ।