‘उरमाल’ १२ पटकसम्म सम्पादन गरेका काविमो- लेखकले आफ्नै आङको जुम्रा देख्न सक्नुपर्छ (भिडिओ)
सुरु र अन्त्य नसोची लेख्ने गरेका काविमो भन्छन्- तपाईंले पाण्डुलिपि त्यस्तो मान्छेलाई देखाउनुस्, जसले ‘सही लेखिस्’ मात्रै नभनोस्

काठमाडौं । हरियो फाँट, त्यहाँ चियाको मुना टिपिरहेका मानिसहरु । ती मानिसको ढाडमा अडेसिएका डोकाहरु… । हामीले तस्विरमार्फत, भिडियोमार्फत देखेका चिया बगान यस्तै त हो । हेरिरहुँ लाग्ने, पुगिहालुँ लाग्ने, पुगेर एउटा फोटो लिइहालुँ लाग्ने, पुगेर एउटा टिकटक बनाइहालुँ लाग्ने । सँगै गीत पारखीहरुको जिब्रोमा झुण्डिएको हुनसक्छ, ‘अल्झेछ क्यारे पछ्यौरी चियाको बोटैमा ।’
अनि चियाको बोटमा अल्झिएका मजदुरको दुःखबारे हामीलाई थोरबहुत थाहा हुनसक्छ । दिनभरि चियाको मुना टिपेर संसारभर चियाको स्वाद बाँडिरहेका मजदुरलाई प्राप्त ज्यालाले बाँच्नै धौ-धौ हुन्छ । सामान्यतया ‘चिया बगान’को दुःख यही हो कि लाग्छ हामीलाई ।
अनि सबैलाई थाहा भएको कथामै उपन्यास ‘उरमाल’ लेख्ने आँट छुदेन काविमोलाई कसरी आयो ?
‘उफ…’, काविमो फिस्स हाँस्छन्, अनि जिब्रो चलाउँछन्, ‘यो त वान लाइन स्टोरी भयो । मान्छे जन्मेर मर्छ भने जस्तो भयो, तर जीवनको संघर्ष त हरेक मान्छेको आआफ्नै हुन्छ नि ! त्यही संघर्षको कथा हो उरमाल ।’
त्यसैले त काविमोलाई लाग्यो, चिया बगानमा न फोटो-भिडियोमा देखाइए जस्तो रमाइलो मात्रै छ न त मजदुरहरुलाई बाँच्न धौ-धौ हुनु मात्रै चिया बगानको दुःख हो । काविमोलाई लाग्यो, उनीहरुको खास जीवन संघर्ष त धेरै अलग छ ।
त्यही अलग कथाहरुको पत्र-पत्र उप्काउने कोसिस काविमोले ‘उरमाल’मा गरे । ‘उरमाल’मा डुवर्सको बहुसांस्कृतिक परिवेशलाई खोतल्ने कोसिस गरे । फरकफरक आदिवासी समुदायलाई कथाको एकै धागोमा उन्ने कोसिस गरे । अलगअलग कथालाई रेलका डिब्बाहरु जसरी जोड्ने कोसिस गरे । र, चियाका पत्तीहरुबाट जसरी हरेक कथाबाट फरकफरक रङ निकाल्ने कोसिस गरे ।
काविमो भन्छन्, ‘चियाको मात्रै कथा लेख्नलाई त दार्जिलिङको कथा लेखे भइहाल्थ्यो, तर डुवर्सको कथाबाट म धेरै रङ निकाल्न सक्छु भन्ने लाग्यो । ‘उरमाल’मा हरेक पात्रको फरक रङ दिने कोसिस गरेको छु ।’
‘फातसुङ’सँगै दक्षिण एसियाभरि उडान भरेका काविमो
भर्खरै काविमोले ‘उरमाल’ नेपालमा विमोचन गरे । यसअघि नै काविमोले ‘फातसुङ’मार्फत पाठकहरुको तर्फबाट अत्यधिक माया पनि पाए । हजारौं पाठक काविमोले खिपेको एकएक शब्दको प्रेममा परे । काविमोले गठन गरेको काव्यिक वाक्यहरुमा हजारौं पाठक मुग्ध भए ।
काविमो पनि पाठकको मायाले पुलकित भए । ‘फातसुङ’को विषय नयाँ थिएन, ‘गोर्खाल्यान्ड मुभमेन्ट’मा आधारित थियो, तर सबैलाई थाहा भएको विषयमा काविमोले यसरी किबोर्ड चलाए कि उनको लेखन शैलीले हजारौं पाठकलाई चुम्बकले जसरी तान्यो । पहिलो कथा किताब ‘१९८६’ले आफूलाई दार्जिलिङ-कालेबुङतिर मात्रै चिनाएको सोच्ने काविमोलाई ‘फातसुङ’ले नेपालभर चिनायो ।
यसपछि ‘फातसुङ’ बंगाली, सिन्धी, अंग्रेजी, हिन्दीमा अनुवाद भयो । किताबको माध्यमबाट काविमो दक्षिण एसियाभर फैलिए । अंग्रेजी अनुवाद त प्रतिष्ठित जेसिबी पुरस्कारको सर्टलिस्टमा पनि परेको थियो ।
केही वर्षअघि काविमो कोलकाता लिट्रेचर फेस्टिभलमा गएका थिए । त्यहाँ एक बंगाली पाठकले काविमोलाई बोलाए । ती बंगाली पाठकका बुवा चाहिँ कम्युनिस्ट रैछन् । दार्जिलिङ भन्नासाथ चाहिँ ‘मान्छे मारिबस्ने ठाउँ’ भन्ने सुनेको रैछ उसले ।
अनि तिनले काविमोलाई भने, ‘फातसुङ बङ्ला भाषामा पढेपछि दार्जिलिङलाई हेर्ने मेरो नजर बदलियो । म अब दार्जिलिङ घुम्न जान्छु ।’
‘उनले त्यसो भन्दा मलाई रमाइलो लाग्यो’, काविमो उत्साहित हुँदै बोल्छन्, ‘फातसुङ विभिन्न भाषाका पाठकसम्म पुगेर नेपाली भाषालाई अलि ठूलो र फराकिलो ठाउँ दियो कि भन्ने लाग्छ । यो किताबले जुन मञ्च पायो, त्यसले खुसी त पक्कै दिने नै भयो ।’
काविमोको लेखन ‘टेक्निक’
‘अब यही विषयमा म लेख्छु’, काविमो विषय कन्फर्म गर्छन् । यसपछि रिसर्च गर्छन् ।
जुन विषयमाथि लेख्दैछन्, त्यो ठाउँमा जान्छन् । त्यहाँका मान्छेहरुसँग घुलमिल हुन्छन् । ती मान्छेहरुको जीवनलाई नजिकबाट महसुस गर्ने कोसिस गर्छन् । उनीहरुको कथा सुन्छन् । किनभने काविमोलाई थाहा छ, हरेक मान्छेसँग कथा हुन्छ । मान्छेले नलेखेको वा नसुनाएको मात्रै हो ।
‘त्यहाँ गएर बात मार्दा अनावश्यक कुरा आउला । लेखकसँग लामो समयसम्म सुन्नसक्ने क्षमता चाहिँ हुनुपर्यो । सुनेका सबै कुरा काम लाग्छन् भन्ने छैन’, उनी सुनाउँछन्, ‘त्यसरी खोजिसकेपछि लेखन सुरु गर्ने हो ।’
काविमो जब लेख्न बस्छन्, उनीसित न कथाको सुरुवात हुन्छ न त अन्त्य नै । सिर्फ लेखिरहन्छन् । लेखनलाई आफ्नै गति र लयमा बग्न दिन्छन् । ‘म यहाँबाट सुरु गरेर यहाँ सकाउँछु’ भनेर सोच्यो भने बीचतिर पुगेर कथा अर्कोतिर बग्न थाल्छ कि भन्ने सोच्छन् । त्यसैले काविमो कथाको सुरु र अन्त्य सोच्दैनन् ।
‘फातसुङ’ पनि बीचको च्याप्टरबाट लेख्न सुरु गरेका थिए । ‘उरमाल’ त झनै कसरी लेखे लेखे । अहिले भएको अन्तिम च्याप्टरलाई पहिलो च्याप्टर सोचेर लेखेका थिए ।
‘यहाँबाट सुरु गर्छु, यसले मान्छेलाई क्याच गर्नसक्छ भनेर धेरै समय लगाएर लेखेँ, तर फस्ट च्याप्टर सोचेको कथा त लास्ट च्याप्टर बन्यो’, काविमो हाँस्दै भन्छन्, ‘फस्ट च्याप्टर त अर्कै बन्यो ।’
लेखकले आफ्नो आङको जुम्रा आफैं देख्नुपर्छ
काविमोलाई लाग्छ, लेखन भनेको नियमित अभ्यास नै हो । झनै लामो कथा लेख्नु छ भने त दैनिक अभ्यास गर्नैपर्छ । हरेक दिन दुईचार घण्टा लेखकले निकाल्नैपर्छ ।
उनी स्वयं हरेक दिन केही न केही लेख्ने कोसिस गर्छन् । लेख्नै मन लागेन भने पुरानो कथा पढ्छन् । त्यो पुरानो कथाले उनलाई नयाँ कथाको प्लट सोच्न सहज बनाउँछ ।
‘पुनर्लेखनमा चाहिँ हरेक लेखकको आआफ्नो लिरिकल टोन हुन्छ । आफूले लेखेको कुरा पढ्दा आफूलाई नै थाहा हुन्छ, कहाँनेर अल्झिराछ, कहाँ के भइरहेको छ’, काविमो सेल्फ सेन्सरशिपबारे भन्छन्, ‘तपाईंको लेखनको पहिलो पाठक नै तपाईं हो । त्यसैले आफूले लेखेको कुरा आफैंले पढ्नुपर्छ । पढ्दाखेरि थाहा हुन्छ, कहाँ कथा अल्झेको छ । अनि त्यसलाई फेरि बनाउने हो ।’
मैले सोधेँ, ‘भनेपछि लेखकले अरुको आङको जुम्रा होइन, आफ्नै आङको जुम्रा देख्नुपर्यो ?’
‘एकदमै ! कुनै वेला कस्तो हुन्छ भने कथा सुन्दा एकदमै रुचिपूर्ण लाग्छ, तर लेख्न बस्दा ठ्याक्कै मिल्दैन’, उनी भन्छन्, ‘कुनै चाहिँ पहिलो ड्राफ्ट लेख्दा कस्तो दामी लाग्छ । अनि त्यसलाई १५ दिनपछि हेर्दा ठ्याक्कै मिल्दैन, जताततै कथा अल्झिरहे जस्तो लाग्छ । अनि म चाहिँ घरीघरी बनाइरहने प्रक्रियामा पसिरहेको हुन्छु ।’
सँगै लेखकसँग धैर्य भएन भने कथाले बाटो बिराउने जोखिम ज्यादा हुने काविमोको अनुभव छ । ‘उरमाल’ च्याप्टर-च्याप्टर गरेर लेखे । लेख्दै जाँदा एक ठाउँमा पुगेपछि कथा आफैं मिलेको उनको अनुभव छ ।
‘जबसम्म मिल्दैन, तपाईंलाई सकसक लागिरहन्छ, यो भएन, त्यो भएन भइरहन्छ । जब मिल्छ, ठ्याक्कै मिल्छ’, उनी सुनाउँछन् । अनि लेखनको क्रममा आफूले लेखेको ‘सबै ठीक हो’ भन्ने ढिपीबाट लेखक सधैं पछि हट्नुपर्ने काविमोको सुझाव छ । यसका लागि लेखकको वरिपरि त्यस्ता मान्छे चाहिन्छ, जसले जे लेखे पनि ‘सही’ मात्रै नभनोस् ।
लेखकलाई पनि आफूले लेखेको कथामा अलिअलि समस्या छ भनेर महसुस भइरहेको हुन्छ, त्यस्तो बेला ‘यहाँ ठीक भइरहेको छैन’ भनिदिने मान्छे चाहिने काविमोको अनुभव छ । यदि कसैको सुझाव तर्कसंगत छ भने अन्तिम समयमा पनि त्यसलाई स्वीकार्छन् उनी ।
ला, ‘उरमाल’ त ठीकैमात्र भएछ !
एक पटक काविमोलाई एक अंग्रेजी अनुवादकले भनेका थिए, ‘सम्पादक भनेको केही पनि होइन । ऊ किताबलाई पहिलो पटक पढ्ने पाठकमात्रै हो, तर सम्पादकको चुनौती के हुन्छ भने उसले जे देख्यो, त्यो भन्नैपर्छ । उसलाई जे लाग्यो, अरु पाठकलाई पनि त्यही लाग्नसक्छ ।’
उनी सुनाउँछन्, ‘अनि त्यो लेभलको मान्छे आफू वरिपरि छ भने उसले सहज बनाइदिन सक्छ ।’
काविमोले ‘उरमाल’ ११-१२ पटक पुनर्लेखन गरेपछि डुवर्सकै साथी संगीत नेम्बाङलाई पढ्न दिए । नेम्बाङले भने, ‘टोन अलि मिलाऊ ।’
उनले डुवर्सको स्थानिक टोनमा काम गरे । नेम्बाङले थप भने, ‘अलि बढी राजनीतिक भएछ । त्यो मिलाउनू ।’
काविमोले सिंगो च्याप्टर नै फालिदिए । थप चार वटा च्याप्टर पनि फालिदिए । अर्को साथीलाई देखाए । ती साथीले भने, ‘कथा धेरै नै कुदेछ, परिवेश चाहियो ।’
अनि उनले परिवेशको वर्णनमा ८-१० हजार शब्द थपे । यसपछि कवि, समालोचक सुधीर क्षेत्रीलाई देखाए । क्षेत्रीले नै ‘फातसुङ’बारे काविमोलाई भनेका थिए, ‘यो किताबले तिमीलाई चिनाउँछ ।’
‘उरमाल’ पढेपछि क्षेत्रीले भने, ‘यो किताब त अझै बलियो भएको छ । दुई च्याप्टरमा थप काम गर्नू ।’
थप दुई च्याप्टरमा काम गरेपछि पाण्डुलिपि नेपालमा फाइनप्रिन्टलाई पठाए । फाइनप्रिन्टले हेर्न ढिला गरिदियो । काविमो तनावमा गए, तर पर्खिनुबाहेक अर्को विकल्प उनीसँग थिएन । एक दिन म्यासेज आयो, ‘चियाबारीबारे कसरी थाहा भयो ?’
काविमोले भने, ‘पहिला दुईतीन साल बसेको थिएँ । अनि अहिले रिसर्च धेरै गरेँ । कथा कस्तो लाग्यो ?’
‘ठीकै लागिराछ ।’
अनि पो काविमो तनावमा गए, ‘ला ठीकै मात्र पो भएछ !’
अनि उनी पूरा तनावमै भइरहेको वेला फाइनप्रिन्टको मेल आयो । मेलको सुरुमै लेखिएको थियो, ‘किताब एकदमै राम्रो भएको छ । रिराइट पनि खासै गर्नु नपर्ला जस्तो छ ।’
काविमो सुनाउँछन्, ‘अनि पो म ढुक्क भएँ ।’
कथा कसरी भन्ने ?
चित्रले कागती खाँदैछ भनेर खाएको मात्रै देखाउन सक्छ रे ! तर आख्यानले चाहिँ कागती खाँदैछ भनेर थुक पनि निलेको फिल दिनुपर्छ रे ! काविमोलाई लाग्छ, साहित्य भनेको समाजको नक्सामात्रै होइन । साहित्य कल्पना पनि हो । शैली र शिल्पको पनि कुरा आउँछ साहित्यमा । यही सबै मिलेपछि कथा बन्छ ।
‘पहिला कन्टेन्ट पक्रिने हो । अनि त्यसलाई कल्पनामा हाल्ने हो । अनि पात्र सृजना गर्ने हो’, उनी सुनाउँछन्, ‘अनि कस्तो शैलीमा भन्ने, लेखकको आआफ्नो तरिका होला ।’
मैले सोधेँ, ‘मानौं तपाईंको अघि एउटा कप छ । त्यो कपलाई लिएर कसरी कथा भन्नुहुन्छ ?’
काविमो भन्छन्, ‘मलाई इतिहासमा अलि रुचि छ । त्यतातिर जान्छु होला । त्यो कप कसले बनायो, कसरी यहाँसम्म आइपुग्यो, कहाँ-कहाँ यसको टुक्रा चोइटियो, किन चोइटियो भनेर खोज्छु होला । अनि कपको डिजाइन राम्रो रैछ, कसले डिजाइन बनायो होला भन्नेतिर लाग्छु होला ।’
अनि उनले कथा भनिरहँदा सिकेको एउटै कुरा हो, लेखकसँग सुन्ने क्षमता धेरै नै हुनुपर्छ । आफैंले दामी लेखिरहेको छु भन्नेतिर लाग्यो भने लेखन राम्रो हुँदैन । यस्तो भ्रमबाट लेखक माथि उठ्नुपर्ने काविमोको सुझाव छ । र, मात्रै कुनै राम्रो कुरा लेखेको दिन सबै दुःख भुलेर लेखक खुसी हुने उनको अनुभव छ ।
उनको लेख्ने तरिका सिम्पल छ, लेखनको क्रममा उनी ब्याकग्राउन्डमा म्युजिक बजाउँछन् । म्युजिक जस्तो पनि हुनसक्छ । अधिकांश चाहिँ अहिले चलिरहेको हिन्दी गीतहरु बजाउँछन् । अनि लेख्न सुरु गर्छन् । लेख्दै जाँदा म्युजिक भुल्छन्, लेखनको म्युजिकमा पस्छन् ।
‘लेखिसकेपछि पढ्छु । लेखनको टोन आउँछ कि आउँदैन भनेर फोकस हुन्छु’, काविमो भन्छन्, ‘सरर्र पढ्दा जहाँ रोकियो, त्यसलाई फेरि बनाउँछु । मलाई के लाग्छ भने म रोकिएको ठाउँमा पाठक पनि रोकिन सक्छन् ।’
जे विषयमा लेख्न मन छ, ड्याङ्गै सुरु गरिहाल्ने हो
सलल बग्ने गरी कथा भन्ने नयनराज पाण्डेको लेखन शैली काविमोलाई गजब लाग्छ । अमर न्यौपानेको लेखनमा जुन संवेदना आउँछ, त्यसो उनलाई एकदमै मनपर्छ । बुद्धिसागरको कथा भन्ने शैलीका प्रशंसक हुन् ।
सरस्वती प्रतीक्षाले उठाएका विषयहरुले काविमोलाई छुन्छ । वसन्त बस्नेतको लेखन पनि उनलाई राम्रो लाग्छ । श्रवण मुकारुङका गीत र कविताका प्रशंसक पनि हुन् उनी । भन्छन्, ‘उहाँका हरेक गीतहरु मनबाट लेखेको जस्तो लाग्छ । मनबाट लेखेर नै कसैको मनलाई छुन्छ नि हैन र ?’
त्यसैले साहित्यमा छिर्न खोजिरहेका युवा लेखकहरुलाई काविमोको सुझाव छ- ‘कथालाई जसरी हुन्छ, लेख्न सुरु गर्नुस् । ‘यहाँबाट सुरु गर्छु, यहाँ अन्त्य गर्छु’ भनेर सोच्नुभयो भने सोचेको सोचेयै हुन्छ । लेखनको सुरु नै हुँदैन । त्यसैले जे लेख्न मन परेको छ, ड्याङ्गै सुरु गरिहाल्ने हो । अनि जता मनपर्छ, त्यता लेख्दै जानुस् । लेख्दै गएपछि कथाले विस्तारै आकार लिन थाल्छ । लेख्दै गएपछि तपाईंलाई थाहा हुन्छ, यहाँ अपुग भयो ।’
उनी थप्छन्, ‘लेखन भनेको कसैलाई नयाँ कुरा दिनु मात्रै होइन, आफैंले नयाँ कुरा लिनु पनि हो । रिसर्चको क्रममा मैले नयाँ अनुभव बटुलिरहेको हुन्छु । मेरा लागि त्यो अनुभव सबैभन्दा मीठो अनुभव हो ।’
उनी कथाका च्याप्टरहरु लेख्दै जान्छन् । लेख्दै गर्दा एउटा मोडमा पुगेपछि उनलाई लाग्न थाल्छ, अब कथा लेखेर सकियो । यसपछि कथालाई माझ्न सुरु गर्छन् । शिल्पमा काम गर्छन् । शैलीमा काम गर्छन् ।
‘ठूलो पर्खाल बनाउँदा सानो ढुंगाको चोइटो कहाँ राख्ने भन्ने कुरा पनि अर्थपूर्ण हुन्छ । त्यसैले मैले जे पनि लेख्नु भनेर किन भनेको हो भने त्यो च्याप्टर काम नै लागेन भने पनि बीचका लाइनहरु कतै काम लाग्न सक्छन् । जहाँ काम लाग्छ, टिपेर लगेर ट्याक्क राखिदिने हो’, काविमो सुनाउँछन्, ‘दुई प्याराग्राफ जति नराम्रो लाग्छ, त्यसलाई फ्याँकिदियो । एक प्याराग्राफ लगेर अर्कोतिर राखिदियो । त्यसो गर्दा ठ्याक्कै मजबुत पर्खाल बने जस्तो हुन्छ । त्यतिबेला चाहिँ ‘अँ अब चाहिँ कथा बनेछ’ भन्ने फिल आउँछ ।’
‘अनि पाठककहाँ फ्रेस किताब पुग्दैछ भन्दा कस्तो महसुस हुने रैछ’, मैले सोधेँ ।
काविमो हाँस्दै भन्छन्, ‘उत्साह र डर दुवै हुन्छ ।’