बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार


रूपन्देही । बाँकेको कोहलपुरबाट पनि यातायातसम्बन्धी सेवा प्रवाह सुरु भएको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेसँगै कार्यालय सञ्चालनमा आएको हो ।
उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले बुधबार यातायात सेवा कार्यालय उद्घाटन गर्दै नागरिकलाई यातायातसम्बन्धी सेवा सहज रुपमा प्रदान गर्न कार्यालय विस्तार गरिएको बताए ।
उनले केही जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालन गर्ने गरी मन्त्रालयले अध्ययन गरिरहेको बताए ।
मन्त्री न्यौपानेले यातायातसम्बन्धी सेवा नागरिकमैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको बताए ।
कोहलपुरस्थित कार्यालयबाट तीन प्रकारका सेवा प्रवाह हुनेछन् । मन्त्रालयका अनुसार सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब नवीकरण र पटके सेवा यस कार्यालयबाट प्रवाह गरिनेछ ।
प्रदेश सरकारको कुनै पनि थप आर्थिक दायित्व सृजना नहुने गरी यातायात सेवा कार्यालय विस्तार गरिएको मन्त्री न्यौपानेले जानकारी दिए ।