रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सेवा सुरु (भिडिओ) – Nepal Press

रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सेवा सुरु (भिडिओ)

रुपन्देही । लुम्बिनी विकास कोषले बुद्धको अस्थीधातु रहेको रामग्रामबाट लुम्बिनीसम्म बुधबारदेखि विद्युतीय बस सेवा सुरुगरेको छ । बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सेवा सुरु गरिएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बुधबार बसमा सवार भएर सेवा सुरु गरेका छन् । कोषले अनुदानमा पाएको विद्युतीय बस कानूनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन ।

कोषाध्यक्ष भट्टराईले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षणस्वरुप बस सञ्चालन गरिएको बताए ।

उनले रामग्राम र बुद्ध जन्मस्थल लुम्बिनी जोड्न हप्ताको तीन दिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एक वटा बस सञ्चालन गर्ने योजना रहेको बताए ।

रामग्राम नगरपालिकाका मेयर यादवले आफूहरुले लामो समयदेखि विद्युतीय बस सञ्चालन गर्न माग गरेकोमा अहिले सुरु भएको बताए । उनले बस नियमित सञ्चालन गर्न आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।

रामग्रामबाट लुम्बिनीका लागि हप्ताका तीन दिन सोमबार, बुधबार र शुक्रबार बिहान ९ बजे बस चल्नेछ । रामग्राम स्तूपाबाट बुद्धचौक, परासी बजार, धकधई, बेलहिया भैरहवाको देवकोटा चौक, बुद्धचोक हुँदै एयरपोर्टबाट लुम्बिनी बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए ।

उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइने छ । लुम्बिनीदेखि सीधा बस सञ्चालन भएपछि रामग्राम आउने तीर्थयात्रुलाई सहज हुनेछ । बसमा सवारहरुले स्वेच्छिक रुपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन्, तर कोषले भाडावापत भने शुल्क लिनेछैन ।

लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ मध्ये २ वटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षणस्वरुप सञ्चालन गरिएको छ । एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर