न्यूरोडका घरहरु ‘जुद्धकालीन रंग’ले सिंगारिँदैः खर्च घरधनीकाे, चर्चा बालेनको (भिडिओ)

काठमाडौं । सडक घटाएर फुटपाथ विस्तारदेखि तार भूमिगत गर्नेसम्मको कामपछि न्यूरोडमा फेरि नयाँ दृश्य देखिँदैछ । इन्द्रचोकदेखि न्यूरोड नयाँसडकसम्मका घरहरुलाई एउटै रंगले सिंगार्ने काम धमाधम भइरहेको छ ।
सडक दायाँबायाँका घर तथा व्यापारिक भवनहरुमा रंग पोत्न व्यस्त छन् कामदारहरु । चार दिनमा ५ वटा घरमा सेतो रंग पोतिसकिएको छ । सटर र झ्यालहरुमा भने हरियो रंग लगाइएको छ ।
प्लास्टर उप्किएर भत्किएकाबाहेक अरु घरमा बिहान १० बजेदेखि रंग लगाउने काम सुरु हुन्छ । कामदारहरु एक घरमा तलदेखि माथिसम्म रंग लगाइसकेपछि अर्को घरमा रंग लगाइहाल्छन् । एक टोलीले सेतो रंग लगाइरहेको छ भने अर्को टोलीले हरियो ।
कतिपय घरहरुमा वर्षौंदेखि रंग लगाइएको थिएन । केही घरहरुमा रंग लगाइएको थियो । अहिले सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग लगाउन थालिएको हो ।
आफ्नो कामले न्यूरोड पुगेकाहरु रंग लगाइएको घरमा हेर्दै आआफ्नै अनुमान गरिरहेका हुन्छन् । कोही फोटो–भिडिओ खिच्छन् । कोही टिकटकतिर भिडिओ हालेर बालेनको वाहवाही गर्छन् ।
सडकको दायाँबायाँ एउटै रंग लगाउँदा न्यूरोड इन्द्रचोक उज्यालिने बताउँछिन् माछापोखरीदेखि किनमेल गर्न आएकी ५३ वर्षीया अर्चना न्यौपाने । पहिले सधैं भिडभाड र गञ्जागोल भएर किनमेल गर्न आउनै मन नलाग्ने न्यूरोड अहिले खुला र सफा भएको उनी बताउँछिन् ।
‘पहिलाको जस्तो तारहरु छैनन् । एकैखाले घर देखिँदा आनन्द आउँछ । यस्तो काम सबैतिर हुनुपर्यो’, उनी भन्छिन् ।
पदैलयात्रीदेखि दुई पाङ्ग्रे सवारीमा आएकासमेत रंग लगाइएर चिटिक्क पारिएका घरहरुको फोटो खिचेर जाने गरेको व्यापारीहरु बताउँछन् ।
आफ्नो पसल भएको घरमा रंग लगाइसकेको भोलिपल्ट कपडा पसल खोलेकी करिश्मा कार्कीले दंग पर्दै नेपालप्रेससँग भनिन्, ‘मैले त घरमा मात्र रंग लगाउने होला भन्ने सोचेको सटरहरुमा पनि हरियो रंग लगाउने रहेछ । सेतो घर हरियो सटरको कम्बिनेसन मिलेको देख्दा त गदगद लाग्यो ।’
चार दिनअघि इन्द्रचोकको बायाँतर्फ रंग लगाउन सुरु गरिएको थियो । रंग लगाइने घरमा रहेका सटरहरु सो दिन बन्द गर्न भनिएको थियो । व्यापारीहरुले पनि खुसीसाथ एक दिन बन्द गर्ने गरेको उनी बताउँछिन् ।
४९ वर्षीय प्रकाश तुलाधरले न्यूरोडमै व्यापार गर्दै आएको १७ वर्ष भयो । अहिले उनको पसल भएको घरमा रंग लगाइँदैछ । उनको पसल दोस्रो तलामा छ । बिहानदेखि नै रंग लगाइरहेकाले आज उनको पसलमा व्यापार छैन । तैपनि उनी दुःखी छैनन् ।
उनी भन्छन्, ‘न्यूरोडलाई यति राम्रो बनाउन लागेको छ, हामी एक दिन व्यापार नहुँदा दुःखी हुनुपर्छ जस्तो लाग्दैन । दायाँबायाँ सबैतिर एकैखालको रंग लगाएपछि कति राम्रो देखिएला ? त्यही हेर्न भए पनि भोलिपर्सिदेखि ग्राहकहरु आइहाल्छन् ।’
न्यूरोड इन्द्रचोकलाई सुन्दर बनाउन सडक दायाँबायाँ एकैखाले रंग लगाउने निर्णय एकदमै स्वागतयोग्य भएको उनको भनाइ छ ।
तुलाधर थप्छन्, ‘अहिले त बाटो हिँड्ने जो-कोही न्यूरोडको तारिफ गर्दै हिँड्छन् । त्यो सुन्दा खुसी लाग्छ । मेयर बालेन शाहको कामलाई हामीले स्वीकार्नुपर्छ र साथ पनि दिनुपर्छ ।’
कुनै समय न्यूरोडको सडकको पार्किङ हटाएर नो पार्किङ जोन बनाउँदा त्यहाँ स्थानीय र व्यापारीहरुले विरोध गरेका थिए । उनीहरु कुनै पनि हालतमा न्यूरोड जस्तो व्यापारिक हबमा सडक घटाएर फुटपाथ बढाउनु हुँदैन भन्ने पक्षमा थिए, तर अहिले उनीहरु न्यूरोडको विकास देख्दा दंग परेका छन् । उनीहरुको सोच बदलिएको छ ।
काठमाडौं महानगरपालिकाले २०८० माघ पहिलो साता न्यूरोडलाई नो पार्किङ बनाएको थियो । त्यसपछि महानगरले न्यूरोडको दायाँबायाँ २-२ मिटर बाटो घटाएर फुटपाथ बढाएको थियो । फुटपाथ विस्तारको काम सकिएपछि नेपाल विद्युत प्राधिकरणको सहकार्यमा त्यहाँ बिजुलीको तार हटाएर भूमिगत गर्ने काम भएको थियो । अहिले घरहरुमा एकै खाले रंग लगाउने काम भइरहेको छ ।
पहल महानगरको, खर्च घरधनीकै
न्यूरोड क्षेत्रलाई सुधार गर्ने क्रममा काठमाडौं महानगरपालिकाले एकैखाले रंग लगाउने पहल स्थानीय घरधनीहरुसँग गरेको थियो । महानगरले वडाध्यक्ष, स्थानीय र घरधनीहरुलाई छलफलको लागि बोलाएको थियो ।
काठमाडौं महानगर २४ नम्बर वडाका अध्यक्ष विनोदकुमार राजभण्डारीले दुबै पक्षबीच समन्वय गरेर सडक पेटी विस्तार गरिएका सडकको दायाँबायाँका घरहरुमा रंग लगाउने प्रस्ताव गरे । उक्त प्रस्ताव घरधनीहरुले सहजै स्वीकारे ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले न्यूरोडलाई अझ नयाँ बनाउन एक पटक सबै घरहरुमा रंग लगाउन घरधनीहरुलाई अनुरोध गरेको बताए ।
उनले नेपालप्रेससँग भने, ‘हामी तीनै पक्ष महानगर, वडा र घरधनीहरु छलफलमा बसेर घरहरुमा रंग लगाउने आइडिया दिएका थियौं । उहाँहरुले मान्नुभयो ।’
अहिले घरधनीले आफ्नै खर्चमा रंग लगाएका हुन् । पाण्डेका अनुसार सडक पेटी विस्तार गरेका ठाउँहरुको घरमा मात्र रंग लगाइनेछ । बाँकी ठाउँमा पनि विस्तारै यो अभियान अघि बढ्ने उनको भनाइ छ ।
जुद्धशमशेरको पालाको रंग
रंग लगाउँदा लागेको लागत घरधनी आफैंले स्वःस्फुर्त रुपमा व्यहोर्ने वडाध्यक्ष राजभण्डारी बताउँछन् ।
उनले भने, ‘हामीले एक चरण मिटिङ बोलाएका थियौं । उहाँहरु आफैंले खुसीसाथ रंग लगाउन खोजेकाले समन्वयमात्र गरिदिएको हो ।’
घरमा रंग लगाउन सहमत भएपछि घरधनीहरुले कमिटी बनाए । कमिटीले कोटेसन बनाएर एक कम्पनीलाई जिम्मा दिएको हो ।
सेतो रंग लगाउन आफूले नै अनुरोध गरेको वडाध्यक्ष राजभण्डारी बताउँछन् ।
उनले भने, ‘जुद्धशमशेरको पालामा लगाइएको जस्तै रंग लगाऔं भनेर हामीले परिकल्पना गरेका हौं । त्यही भएर सेतो र हरियो रंग छनोट गरिएको हो । जुद्धशमशेरको सालिक पनि त्यही छ । त्यतिबेला लगाइएको रंग लगाऔं भनेर भन्दा सबै जना सहमत हुनुभयो ।’
जुद्धशमशेरको पालामा न्यूरोडका घरहरुमा सेतो र हरियो रंग लगाउने गरिएको उनको दाबी छ । न्यूरोड क्षेत्रमा जुद्धशमशेरकै पालामा बनेका कतिपय घरहरु अझै रहेको उनी बताउँछन् ।
जनताकाे पैसा जनताकै घरआँगनमा सदुपयाेग गरिएकाेमा म खुसी छु।मेराे देशकाे मुहार फेरिँदैछ।यहि हाेइनत समाजबाद??जनताले बुझ्ने गरी ,देखिने गरी आएकाे जनताकाे समाजबाद।🙏🙏