फेसबुकबाट प्रेम, अविवाहित देखाउन २ नाबालिग छोरीको हत्या

सुर्खेत । फेसबुक हुँदै बसेको प्रेम सम्बन्ध ढाकछोप गर्न सल्यानको वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना दुई नाबालिग छोरीको हत्या गरेको खुलेको छ । पूर्णिमाले पुस २४ मा २ छोरीको घाँटी थिचेर हत्या गरेकी हुन् ।
प्रहरीका अनुसार पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । फेसबुकबाट चिनजान गरेका उनीहरूले विवाह छिट्टै गर्ने योजना बनाएको सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेले नेपाल प्रेसलाई बताए ।
प्रहरी अनुसन्धानबाट खुलेअनुसार सल्यान शारदा नगरपालिकाका अविवाहित एक युवकसँग प्रेम सम्बन्धमा थिइन् पूर्णिमा । ती युवक भने भारतमा बस्दै आएका थिए । पूर्णिमाले पनि आफू अविवाहित रहेको बताएकी थिइन् । प्रत्यक्ष नभेटेका उनीहरूबीच बिहे गर्ने योजना भने बनिसकेको थियो ।
अविवाहित भनेर बोलेको झूटलाई बचाउन उनले ३ वर्ष र ६ महिनाकी छोरीको हत्या गरेको डीएसपी न्यौपानेले बताए ।
‘प्रेमीसँग विवाह गर्न चाहेकी पूर्णिमाले छोरीहरूको अस्तित्व लुकाउन यस्तो क्रुर कदम चालेको देखियो’, उनले भने ।
पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला-मजदुरीका लागि प्रायः घरबाहिरै रहने गर्थे । घटनाको दिन पनि टेकबहादुर नुवाकोटमा मजदुरीका लागि थिए ।
प्रहरीले पूर्णिमा र प्रेमीको मोबाइल फरेन्सिक जाँचका लागि काठमाडौं पठाएको छ ।