सरकारले धेरै काम गर्न सकेन, तर अहिले ढल्दैन : शेखर
ओलीले संयन्त्रबाट देश चलाउन खोजेको भन्दै आपत्ति


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस-एमालेबीचको सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्छ ।
सरकारको कामकारवाहीबारे उनले असन्तुष्टि भने जनाए ।
कोइरालाले भने,‘६ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’
संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।
कांग्रेस एमालेका शीर्ष नेतृत्वको कार्यदल लक्षित गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा सरकारले देश चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट चलाउन खोजिरहेको उनको टिप्पणी थियो ।
सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘माघ १८ गते संसद बोलाइएको छ । संसद खोलेर ल्याउँदा हुने थियो नि ! ६ महिनामा केही भएर सातदिन दश दिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि !’