वीरेन्द्रनगरमा खराे उत्रिएका महिला जनप्रतिनिधि- चुनाैती केलाउँदै सुझाउँछन् समाधानका यी विधि

सुर्खेत । कार्यपालिका सदस्यहरूको भूमिका, कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयनले स्थानीय सरकारको सुशासन, विकास र स्थायित्वलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ । राज्यका स्थानीय तहहरुमा कार्यपालिका सदस्यहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ, जसले विकास योजनाहरू र सामाजिक सेवाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउँछ ।
यो लेखमा वीरेन्द्रनगर नगरपालिकामा कार्यपालिका सदस्यहरूको भूमिका, समयक्रममा आएको परिवर्तन र उनीहरूलाई आइपरेका चुनौतीहरूको विश्लेषण गर्दै महिला सदस्यहरूको सक्रियता र योगदानको बारे चर्चा गरिएको छ ।
कार्यपालिका सदस्यहरूले गाउँपालिका वा नगरपालिकाको बैठकमा सक्रिय सहभागिता जनाउनु र आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नु आवश्यक हुन्छ । प्रत्येक सदस्यले आफ्नो जिम्मेवारीको क्षेत्रमा काम गर्नुपर्छ र अध्यक्ष वा प्रमुखले तोकेको विषयगत क्षेत्रमा सक्रियता देखाउनुपर्छ ।
कानूनी प्रावधानअनुसार, सदस्यहरूले सात दिनभन्दा बढी समयसम्म आफ्नो कार्यक्षेत्रबाट अनुपस्थित रहनु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने हुन्छ । यद्यपि व्यवहारिक रूपमा, कतिपय सदस्यहरूले यो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरेको पाइदैन ।
वीरेन्द्रनगर नगरपालिकाका केही कार्यपालिका सदस्यहरू आफ्नो अधिकार र जिम्मेवारीको बारेमा स्पष्ट देखिन्छन । जसलाई बुझाईको स्पष्टता छ, उनीहरुले उनीहरूले नीति निर्माण, बजेट विनियोजन र विकास आयोजना कार्यान्वयनमा सक्रियता देखाएका छन् ।
तर, सबै सदस्यहरूले यो स्तरमा काम गर्न सकेका छैनन्। कतिपय सदस्यहरू भने बैठकमा उपस्थित भएर मात्रै निर्णय प्रक्रियामा अनुमोदन गर्न सीमित भएको देखिएको छ । जसले समग्र प्रक्रियामा निष्क्रियता र असन्तुलन ल्याएको छ ।
बिगतको तुलनामा समयक्रममा कार्यपालिका सदस्यहरूको भूमिकामा आएको परिवर्तन पनि महत्त्वपूर्ण छ । पहिलेका दिनहरूमा जनप्रतिनिधिहरू सीमित स्रोतसाधन र प्रविधिमा निर्भर थिए भने अहिले प्रविधिको प्रयोग र सूचना प्रवाहको तीव्रताले उनीहरूको कार्यक्षमता बढाएको देखिन्छ। तर, नयाँ प्रणाली र प्रविधि प्रयोगमा पूर्ण रूपमा अभ्यस्त नभएका सदस्यहरूलाई अझै चुनौती महसुस भएको छ । यसले उनीहरूको निर्णय प्रक्रियामा ढिलाइ र असमझदारी सिर्जना गरेको छ ।
कार्यपालिका सदस्यहरूको भूमिका र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन स्थानीय सरकारको सुशासन र समृद्धिको आधारशिला हो। वीरेन्द्रनगर नगरपालिकाको सन्दर्भमा कार्यपालिका सदस्यहरूले आफ्नो काम, कर्तव्य र अधिकारलाई कसरी निर्वाह गरिरहेका छन् र विशेष गरी महिला सदस्यहरूको भूमिका कस्तो रहेको छ भन्ने विषय सबैको चासोको विषय बन्ने गरेको छ । कार्यपालिकामा महिलाहरूको प्रतिनिधित्वले मात्र होइन, उनीहरूको सक्रिय सहभागिताले समेत विकास प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएको छ ।
महिला सदस्यहरू यामुना नेपाली, टिका घले, लक्ष्मी चौधरी, सरिता चौधरी, रचना बाँठा, र तृप्तीकुमारी विकले आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गरेका छन् । उनीहरूले कार्यपालिका बैठकमा आफ्नो उपस्थिति दर्ता गराउनु मात्र होइन, निर्णय प्रक्रियामा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।
यो सक्रियता महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण हो, जसले स्थानीय तहमा महिलाहरूको नेतृत्व क्षमतालाई स्थापित गरेको छ। यामुना नेपाली र टिका घले जस्ता सदस्यहरूले विशेष गरेर विषयगत क्षेत्रको संयोजनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनीहरूको सक्रियताले नगरपालिका स्तरका नीतिगत निर्णयमा सन्तुलन र समावेशिता सुनिश्चित गरेको छ ।
लक्ष्मी चौधरी र सरिता चौधरी जस्ता सदस्यहरूले विकास आयोजनाको अनुगमन र कार्यान्वयन प्रक्रियामा सहभागी भई जनताका वास्तविक आवश्यकतालाई प्राथमिकता दिने प्रयास गरेका छन् । रचना बाँठा र तृप्तीकुमारी विकले पनि सामुदायिक सहभागिता र सहकार्यलाई प्राथमिकतामा राखेर काम गरेका छन् ।
महिला सदस्यहरूको यो सक्रियता र सहभागिता वीरेन्द्रनगर नगरपालिकामा परिवर्तनका सूचक बनेका छन् । पहिले स्थानीय सरकारमा महिलाहरूको भूमिका सीमित थियो, तर अहिले उनीहरूले आफूलाई निर्णायक क्षमता र अर्थपूर्ण सहभागिता भएका सदस्यमा स्थापित गरेका छन्। यसले अन्य महिलाहरूलाई पनि सार्वजनिक सेवा र नेतृत्वमा आउन प्रेरित गर्ने सम्भावना बढाएको छ ।
कार्यपालिका सदस्यहरूले यसरी आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको भए पनि केही चुनौतीहरू भनें छन । राजनीतिक प्रभाव, स्रोतसाधनको अभाव, र कतिपय अवस्थामा निर्णय प्रक्रियामा आउने ढिलाइ जस्ता समस्याहरू अझै कायम छन् । यस्ता चुनौतीहरूले उनीहरूको कार्य प्रभावकारितामा प्रत्यक्ष असर पु¥याएको देखिन्छ। तर, यी चुनौतीहरूलाई समाधान गर्न सामूहिक सहकार्य महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उनीहरुको बुझाई छ ।
महिला सदस्य यामुना नेपालीले निर्णय प्रक्रियामा महिला सदस्यहरूको भूमिका प्रभावकारी रहेको बताइन् । विशेष गरी नगरपालिकामा महिला मेयर भएको कारण आफ्नो सुझावलाई प्राथमिकता दिने गरेको बताउँदै उनले भनिन, लक्षित वर्गका कार्यक्रमहरूको लागि छुट्याइएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन नहुनु मुख्य चुनौती रहेको छ । उनको बिचारमा ‘निर्णय प्रक्रियामा लैङ्गिक विभेद देखिँदैन, तर महिलाहरूले आत्मविश्वासका साथ विचार राख्न अप्ठ्यारो महसुस गरेका छन् ।
महिलाहरूको प्रतिनिधित्व सन्तोषजनक भए पनि नेतृत्व क्षमतामा सुधारका लागि शिक्षा, सूचना प्रविधि, र नेतृत्व विकासका तालिम आवश्यक छन् । राजनीतिक दलहरूको प्रभाव र ठेकेदारहरूको दबाबले कहिलेकाहीँ वास्तविक विकासका योजना ओझेलमा पर्ने गरेको छ । लैङ्गिक समानताको लागि राज्यले स्थायी नीति र प्रणाली बनाउनुपर्छ । महिलाहरूको सशक्तिकरणका लागि नेतृत्व भूमिकामा बढी अवसर दिनु जरुरी छ ।’
यसैगरी महिला सदस्य लक्ष्मी चौधरीले चौधरी समुदायका महिलाहरूका लागि काम गर्न सजिलो नभएको बताइन्। हाम्रो समुदायलाई सामाजिक र आर्थिक हिसाबले पछाडि पारिएको छ भन्दै उनले भनिन्, ‘जसका कारण धेरै चुनौतीहरू छन् । कार्यपालिका बैठकमा भने म आफ्नो कुरा राख्न सक्ने भएकी छु । चौधरी समुदायमा ९७ प्रतिशत सिकलसेल एनिमिया हुने समस्या छ, र मैले यसबारे आवाज उठाएपछि प्रदेश अस्पतालमा निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गराइएको छ ।नगरपालिकामा महिला कर्मचारी शाखामा काम सजिलो भए पनि पुरुष कर्मचारी भएको शाखामा काम गर्न ढिलासुस्ती हुने गरेको छ । लैङ्गिक समानताका लागि महिलाले पनि केही गर्न सक्छन् भन्ने सोच राख्न आवश्यक छ । मैले व्यक्तिगत रूपमा धेरै चुनौतीहरू सामना गरेकी छु । सानै उमेरमा बिहे भयो, कमलरी बस्नुपर्ने अवस्था आयो, र घर–परिवारबाट राजनीतिकमा सुरुवाती चरणमा समर्थन पनि कम थियो। जनताको सेवामा लागेपछि ससुराबाट धेरै विरोध र पीडा सहनुपर्यो । तर बुझाउँदै जाँदा परिस्थितिलाई सहज बनाउन सकेँ। अहिले श्रीमान्ले पनि समर्थन गर्नुभएको छ ।’
आफू योजना अनुगमन, अपांग समन्वय समिति, र आर्थिक विकासका सदस्य रहेको जानकारी दिइन् । चौधरी महिलाहरूका लागि उद्यमशीलता तालिम र अन्य कार्यक्रमको पहल गर्दै आइरहेको छु । नगरप्रमुखले मेरो सुझावलाई स्वीकार गरी केही कार्यक्रम लागू गरिसक्नुभएको छ भन्दै उनले भनिन्, ‘यो सब चुनौतीका बीच महिलाहरूले पनि प्रभावकारी रूपमा काम गर्न सक्छन् भन्ने उदाहरण दिन हामीले निरन्तर प्रयास गरिहने छौँ ।’
यस्तै, कार्यपालिका सदस्य टीका घलेले कार्यपालिका बैठकहरूमा महिला सदस्यका विषयलाई प्राथमिकता दिइने गरेको जानकारी दिइन्। निर्णय प्रक्रियामा खासै चुनौती भोग्न नपरेको उनको भनाइ छ । महिला तथा लक्षित वर्गका मुद्दाहरूमा काम गर्दा केही चुनौती भए पनि सहज वातावरणमा निर्णय लिन सकिन्छ भन्ने उनको अनुभव छ ।
भन्छिन्, ‘हाम्रो प्रतिनिधित्व समावेशी छ, र विभिन्न समितिहरूको संयोजकका रूपमा जिम्मेवारी पाएका छौं। पुरुष सदस्यहरूले पनि समन्वय र सहयोग गरेका छन्, जसले हाम्रो भूमिकालाई प्रभावकारी बनाएको छ। लैङ्गिक पूर्वाग्रहको अनुभव नभए पनि निर्णय प्रक्रियामा बाह्य हस्तक्षेप, विशेष गरी राजनीतिक दल र संस्थाहरूको दबाब महसुस हुन्छ ।’
यस्तै, कार्यपालिका सदस्य सरिता चौधरीले निर्णय लिने भूमिकामा सुधार भएको बताएकी छन्। उनले केही निर्णय प्रक्रियामा आफ्नो शैक्षिक योग्यताका कारण चुनौती महसुस भएको उल्लेख गरिन्। महिलाहरूलाई घरायसी काम, सवारी साधनको अभाव, र समयमा उपस्थित हुन नसक्दा समस्या भोग्नु परेको उनले बताइन् ।
तर, पहिलाभन्दा धेरै सुधार भएको र महिला–पुरुष सबैले सहज वातावरण सिर्जना गरेको अनुभूति उनलाई भएको छ । उनले भनिन्, ‘बाह्य हस्तक्षेप, विशेषगरी कर्मचारी र राजनीतिक दलबाट निर्णय प्रक्रियामा दबाब पर्ने गरेका छ। पहिलो कार्यकालमा काम गर्दै अनुभव लिएको थिएँ, अहिले दोस्रो कार्यकालमा थप सिक्दै अघि बढिरहेकी छु ।’
वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निदकण्ठ खनालले कार्यपालिका सदस्यहरूले विभिन्न समितिको संयोजकका रूपमा भूमिका निर्वाह गरिरहेको जानकारी दिए । उनले यमुना नेपाली विद्येयक समिति, नवराज गुरुङ पूर्वाधार समिति र टीका घले सामाजिक समितिको संयोजक रहेको बताए। उप–प्रमुख खनालका अनुसार, विषयगत समितिहरूका संयोजक सदस्यहरूले बजेट परिचालन, वडास्तरीय काम र योजनाहरूको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन ।
सङ्घीय र प्रदेश सरकारका कार्यक्रमहरू कार्यान्वयनमा सीमान्तकृत, एकल, र अपाङ्गता भएका वर्गलाई प्राथमिकता दिइएको छ। कार्यक्रमहरूको प्रभावकारिता बढाउन पुराना ढाँचाका कार्यक्रम हटाउनुपर्ने र समुदायका मानिसहरूलाई निरन्तर सक्रिय बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘महिलाहरूका लागि विभिन्न सीपमूलक तालिम र सामग्री वितरणले सकारात्मक प्रभाव छ ।’
खनालले भनें —‘निर्णय प्रक्रियामा कुनै बाह्य हस्तक्षेप छैन, एजेन्डामा व्यापक छलफलपछि मात्र निर्णय लिइने गरिएको छ । नगरप्रमुखले सल्लाह सुझावलाई महत्व दिनुहुन्छ, जसले गर्दा काम सहज रूपमा अगाडि बढेको छ ।’
वीरेन्द्रनगर नगरपालिकामा कार्यपालिका सदस्यहरूको भूमिका प्रभावकारी रहेको देखिन्छ। विषयगत समितिहरूको संयोजनले बजेट परिचालन, वडास्तरीय योजनाको कार्यान्वयन, र समुदायका विभिन्न वर्गलाई सम्बोधन गर्न मद्दत गरेको छ । निर्णय प्रक्रियामा नेतृत्वले सहकार्य, सल्लाह, र सुझावलाई प्राथमिकता दिने गरेकाले निर्णय सहज र प्रभावकारी भएको हो ।
कतिपय पुराना ढाँचाका कार्यक्रमहरूले केही हदसम्म समस्या उत्पन्न गरेको र कार्यक्रम सम्पन्न भएपछि निरन्तरता दिन चुनौती देखिएको छ। समुदायलाई दीर्घकालीन सक्रियता र आत्मनिर्भर बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ ।
महिला र सीमान्तकृत वर्गका लागि विशेष प्राथमिकता दिइए पनि उनीहरूको पूर्ण सहभागिता सुनिश्चित गर्न र सीपमूलक तालिम तथा अवसरहरूलाई निरन्तरता दिनु आवश्यक छ । नेतृत्व र कार्यपालिका सदस्यहरूको सहकार्यले वीरेन्द्रनगरको विकास र समावेशीकरणलाई सुदृढ बनाउँदै लगेको छ ।