‘फ्यान गर्ल’ स्टेजमै आएर चिप्किइन्, दुर्गेशले बहिनी भन्दै खुट्टा ढोगे
‘दुश्मन हेरेको हेर्यै’ गीतमा नाच्दानाच्दै ढलेकी थिइन् किशोरी


काठमाडौं । गायक दुर्गेश थापा जब माइक लिएर स्टेजमा उक्लिन्छन्, दर्शकहरुमा बेग्लै रौनक छाउने गर्छ । कारण उनी स्टेजमा गीत मात्रै गाउँदैनन्, जोशिलो तरिकाले नाच्छन् र दर्शकलाई पनि नचाउँछन् ।
पछिल्लो समय दुर्गेशलाई मेला-महोत्सवमा भ्याई नभ्याई छ । नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै’ सुपरहिट भएपश्चात उनको डिमान्ड र क्रेज ह्वात्तै बढेको महसुस गर्न सकिन्छ । यो गीत रिलिजपछि मात्रै उनले १० वटा मेला महोत्सवमा प्रस्तुति दिन भ्याइसके । त्यसमध्ये एउटा स्टेज कार्यक्रमको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
दुई दिनअघि बर्दिया जिल्लामा आयोजित बाँसगढी महोत्सवमा गाउन पुगेका थिए दुर्गेश । सदा झैं उनको प्रस्तुतिमा झुमिरहेका थिए दर्शक । दुर्गेशले ‘दुश्मन हेरेको हेर्यै…’ गाउँदै गर्दा विन्दास नाचिरहेकी एक किशोरी अचानक बेहोश भएर ढल्न पुगिन् । उनलाई बोकेर नजिकै खुला ठाउँमा राखियो । पानीसानी छम्किएपछि केहीबेरमा होसमा आइन् ।
त्यसपछि दुर्गेशले उनलाई स्टेजमै बोलाए । उनी आफ्नो साथीसहित स्टेजमा उक्लिइन् र दुर्गेशलाई दुवै हातले च्याप्प अंगालोमा कसिन् । उनी दुर्गेशको काँधमा घोप्टो परेर रुन थालिन् । दुर्गेशले उनलाई एउटा हातले च्यापे ।
उनले ठट्ट्यौली पारामा माइकमै भने, ‘यसरी नचिप्किनुस्, घरमा बुढीले मार्छे फेरि ।’
तर पनि युवतीले छोडिनन् ।
दुर्गेशले फेरि व्याख्या गर्दै भने, ‘धेरै किसिमको चिप्काइ हुन्छ । यो चिप्काइ भनेको दाजु र बहिनीको जस्तो हो । फ्यान र आर्टिस्टको चिप्काइ हो । यसलाई कसैले पनि नराम्रो सोच्नुपर्ने जरुरत छैन ।’
किशोरीलाई उनको साथीले छुटाएर लगिन् । जानुअघि दुर्गेशले किशोरीको खुट्टा छोएर ढोगेका थिए ।
आफ्ना दर्शकप्रति दुर्गेशको प्रेम र सद्भाव केही दिनअघि अर्को कार्यक्रममा पनि झल्किएको थियो । उनले गाउँदै गर्दा एक युवकले स्टेज उक्लिन खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । उनीमाथि सामान्य बल प्रयोगसमेत भएको थियो, तर दुर्गेशले ती युवकलाई आफैंले स्टेजमा बोलाए र आफूसँगै नचाए ।