रवि मुछिएको सहारा सहकारीको ठगीमा फितलो अनुसन्धान, प्रतिवेदन प्रहरीलाई नै फिर्ता

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सहारा चितवनको रकम हिनामिनाको पूरक अनुसन्धान गरि बुझाएको प्रतिवेदन जिल्ला सरकारी वकिलले आज प्रहरीलाई नै फिर्ता पठाएको छ ।
रकम हिनामिनाको आरोप लागेको सात कम्पनी, रवि लामिछाने सहित ३१ जनाविरुद्ध परेको पूरक जाहेरीको अनुसन्धान गरि गत शुक्रबार चितवन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको प्रतिवेदन कमजोर र निर्देशन दिइएअनुसार कागजात नभएपछि सरकारी वकिल कार्यालयले प्रतिवेदन फिर्ता पठाएको हो ।
तर, प्रहरीले तयार गरेको पूरक अनुसन्धान प्रतिवेदनमा मूल अभियोजन लगाएको दिन गत असोज ८ गते सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गर्नु भनि दिएको निर्देशन अनुसारका कागजात पूरा नभएपछि प्रहरीलाई पुनः खोज्नु भनेर प्रतिवेदन फिर्ता पठाइएको जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुईँटेलले बताए ।
प्रहरीले १९६ पेज लामो प्रतिवेदनसहित सरकारी वकिलको कार्यालयमा रवि लामछिानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणमा गरिएको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन पूरा नभएपछि तीन मूख्य विषयमा थप कागजात जुटाएर पठाउनु भनेर आज प्रहरीलाई नै प्रतिवेदन फिर्ता पठाइएको हो ।
ति तीन मूख्य बुँदाहरुमध्ये पहिलोमा सहारा सहकारीको रकम गएका भनिएका कम्पनीहरुमा कति रकम गयो भन्ने विवरणसहितको बैँक अभिलेख संलग्न गरिएको नपाइएपछि पुनः कागजात पुरा ल्याउनु भनिएको छ ।
त्यतिमात्रै होइन सरकारी वकिलले खोज्नु भनेर निर्देशन दिएको सम्पत्ती शुद्धीकरणको अनुसन्धानमा प्रहरीले केही काम गरेको थिएन । सरकारी वकिल कार्यालयका अनुसार प्रतिवेदनमा सम्पत्ति शुद्धीकरणको अनुसन्धान नै पछि गरिनेछ भनिएको छ । पछि अनुसन्धान गरेर विवरण आउँदा थप झन्झटिलो हुने अवस्था आउने भएकोले सम्पत्ति शुद्धीकरणको विवरण पनि पुरा खोजेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको न्यायाधिवक्ता लुइँटेलले बताए ।
त्यसैगरी, ५२ करोड पीडितहरुको बचत हिनामिना भएको, ४३ करोड छ वटा कम्पनीमा गएको साथै अन्य ससाना परिणामका रकम पनि हिनामिनाको विवरण प्रतिवेदनमा आएपनि कूल पूँजी नआएपछि सरकारी वकिलको कार्यालयले सहारा सहकारीको कुल पूँजी कति थियो प्रहरीलाई खोज्नु भनेको छ ।
कार्यालयका अनुसार प्रतिवेदनका केही विवरणहरुले अन्य प्रतिवादी पनि थपिन सक्ने संभावना भएपनि प्रहरीको प्रतिवेदनमा उल्लेख छैन । त्यसैले थप प्रतिवादी देखियो भने पछि अर्को अभियोजन लगाएर मुद्धा लगाउन झन्झटिलो हुने भएकोले राम्रोसँग अनुसन्धान तयार गर्नु भनेर पठाइएको जनाइएको छ ।
प्रहरीको अनुसन्धानमा सहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ रहेको उल्लेख छ । भने बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको थियो । जिल्ला न्यायाधीवक्ता लुइँटेलले बचत रकम र हीनामिना रकमको विवरण फरक फरक भएपछि कुल पूँजी खोज्न निर्देशन दिएको बताए ।