सैफ अली खान ६ दिनमै डिस्चार्ज, ठमठम हिँड्दै घर आए – Nepal Press

सैफ अली खान ६ दिनमै डिस्चार्ज, ठमठम हिँड्दै घर आए

काठमाडौं । सांघातिक आक्रमणमा परेको भनिएका बलिउड अभिनेता सैफ अलि खान ५ दिनमै अस्पतालबाट डिस्चार्ज भएका छन् । लिलावती अस्पतालबाट आफ्नो अपार्टमेन्ट प्रवेश गर्दा उनी ‘फिट एन्ड फाइन’ देखिए ।

५४ वर्षीय अभिनेतामाथि गत बिहीबार बिहान घरभित्रै आक्रमण भएको थियो । आक्रमणकारीले उनलाई चक्कु प्रहार गरेका थिए । डाक्टरहरुले उनको शरीरमा ६ पटक चक्कु हानिएको बताएका छन् । त्यसमध्ये एउटा चोट मेरुदण्ड नजिक थियो । शल्यक्रिया गरेर त्यहाँ अड्किएको चक्कुको टुक्रा निकालिएको थियो ।

सैफ आज अस्पतालबाट निस्किएर प्राइभेट कारमा निजी निवास पुगे । उनले ह्वील चेयर प्रयोग गर्न मानेनन् । कारमा उनी ड्राइभर छेउको सीटमा बसेका थिए । क्लीन सेभ गरेका र कालो चस्मा लगाएका उनी पहिले झैं फुर्तिला देखिए । उनको हातमा र घाँटी नजिक चोटको संकेत थियो ।

सैफको गाडी आइपुग्दा निवास नजिक ठूलो भिड जम्मा भइसकेको थियो । सुरक्षाकर्मी पनि बाक्लो संख्यामा उपस्थित थिए । गाडी अलिकति वरै रोकेर सैफ ओर्लिए र ठमठम हिँडेर निवासतर्फ लागे । उनको हिँडाइमा पनि कुनै असहजता थिएन । उनले समर्थकहरुलाई हात हल्लाएर अभिवादन पनि गरे । त्यो दृश्यले लाग्दैनथ्यो कि भर्खर सांघातिक हमलामा परेर बाँचेका हुन् ।

सैफ घर आउँदा पत्नी करिना देखिइनन् । परिवारका अरु सदस्य पनि थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर