क्रान्तिकारीका आकांक्षीलाई प्रचण्डले भने- कुनै नेताले काखी च्याप्दैनन्, प्यानल नबनाउनुस् – Nepal Press

क्रान्तिकारीका आकांक्षीलाई प्रचण्डले भने- कुनै नेताले काखी च्याप्दैनन्, प्यानल नबनाउनुस्

'सकेसम्म सबै पदमा सहमति खोज्नुस् नत्र चुनावबाट जो आउँछ आउँछ'

काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्वका दाबेदारहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटार बोलाएर नेतृत्व चयनमा सहमति नभए निर्वाचन प्रक्रियामा जान सुझाव दिएका छन् । आकांक्षीसँग बेग्लाबेग्लै भेटेका प्रचण्डले सकेसम्म नेतृत्व सहमतिमै गर्न सुझाए ।

खुमलटार पुगेर फर्किएका एक आकांक्षीले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘कोही नेताले कसैले बोक्ने भन्ने कुरा हुन्न । नेताहरूले यसलाई पो च्याप्ने हो कि भन्ने शंका हटाउनुस् । प्यानल बनाउँदै नबनाउनुस् । त्यो स्वीकार्य हुँदैन ।’

अध्यक्ष महासचिवसहित सबै पदमा सहमतिको प्रयास गर्ने भए आफू समन्वय गर्न तयार रहेको पनि बताए ।

‘अध्यक्ष महासचिवलगायत सबै पदमा मिलेर सहमतिमै जानुहोस् । नत्र नोमिनेसन गर्नुस् । त्यसपछि पार्टीले कहाँ समन्वय गर्नुपर्छ । म तयार छु’ प्रचण्डले भने, ‘चुनावबाट जितेर आउने आउँछन् नआउने बिदा हुन्छन् स्वीकार्नुपर्छ । विद्यार्थी आन्दोलनलाई नयाँ धारका साथ बढाउनुपर्छ’, प्रचण्डको भनाइ थियो ।

नेतृत्व चयनका लागि अहिले अनलाइनमार्फत उम्मेदवारी दर्ता चलिरहेको छ । नेतृत्वले सर्वसम्मतको प्रयास जारी राखेकाले अहिलेसम्म अध्यक्ष र महासचिवमा कसैको उम्मेदवारी परेको छैन ।

उम्मेदवारी दर्ताको समय ६ बजेबाट ३ घण्टा थपेर बेलुका ९ बजेसम्म पुर्‍याइएको छ । अनलाइनबाट उम्मेदवारी दर्ता गराउनुपर्ने भएकाले सर्भर डाउन हुँदा उम्मेदवारी दर्ता अवधि ३ घण्टा थप गरिएको नेता पञ्चा सिंहले बताइन् ।

नेतृत्वका लागि विराज थापा, सुदिन पौडेल, उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राईलगायत आकांक्षी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर