सिमेन्टको मूल्य अचाक्ली बढेको भन्दै संसदीय समितिमै विरोध, उद्योगमन्त्री र उत्पादकहरुसँग छलफल गरिने – Nepal Press

सिमेन्टको मूल्य अचाक्ली बढेको भन्दै संसदीय समितिमै विरोध, उद्योगमन्त्री र उत्पादकहरुसँग छलफल गरिने

काठमाडौं । निर्माण व्यवसायीले निर्माण सुरु हुने बेलामा सिमेन्टको मूल्य बढाइएको भन्दै विरोध गरिरहेको बेला संसदीय समितिमा पनि मूल्यवृद्धिबारे कुरा उठेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४९औं बैठकमा सिमेन्टको मूल्यवृद्धिको विषय उठेको हो ।

सांसदहरुले उद्योगीले सिमेन्टको मूल्य प्रतिबोरा ४०० बाट वृद्धि गरेर ८०० पु¥याएको औंल्याएका छन् । बैठकमा समितिका सभापति अब्दुल खानलाई सिमेन्टको मूल्य अत्यधिक बढेकाले सिमेन्ट उत्पादक, उद्योगमन्त्री र निर्माण व्यवसायीलाई बोलाएर छलफल गर्न सांसदहरुले माग गरेका थिए ।

बैठकमा सांसद किसान श्रेष्ठले उद्योगीले सिमेन्ट उत्पादनको कोटा तोकेर नै सिन्डिकेट लगाएको बताए ।

‘उद्योगीहरु नै मिलेर कोटा तोकेर र मूल्य तोकेर बजारमा मूल्यवृद्धि गरिरहेका छन् । अहिले सिमेन्ट प्रतिबोरा साढे ८०० सम्म पुर्‍याइएको छ । ४०० रुपैयाँ प्रतिबोरा रहेको सिमेन्टको मूल्य कसरी साढे ८०० पुग्यो । यस विषयमा समितिले निर्माण व्यवसायी, सिमेन्ट उद्योगी र उद्योगमन्त्री बोलाएर छलफल गर्नुपर्‍यो । सरकारको पनि मूल्यवृद्धिमा मिलेमतो भयो । उद्योगीले विद्युतको पैसा तिर्न सिमेन्टको मूल्यवृद्धि गरेका हुन्’, उनले भने, ‘सिमेन्टको मूल्यवृद्धिमा सफल भएपछि अब डन्डीमा पनि प्रतिकेजी १२ रुपैयाँ मूल्यवृद्धि हुनसक्छ । सरकारले मूल्यवृद्धि हुँदा सुनेन र देखेन भनेर समिति चुप लागेर बस्न मिल्दैन । आउँदो १८ गतेबाट संसद सुरु हुन्छ । त्यहाँ कसरी ठोक्नुपर्छ, त्यसरी नै ठोक्नुपर्‍यो । सिमेन्टको मूल्यमा भइरहेको ब्रह्मलुट रोक्नुपर्‍यो ।’

समितिले उद्योगमन्त्री, सिमेन्ट उत्पादक र निर्माण व्यवसायीलाई छलफलमा बोलाएर सरकारलाई सिमेन्टको मूल्य घटाउन समितिले निर्देशन दिनुपर्ने श्रेष्ठले बताए ।

सांसद सूर्यमान तामाङले पनि सिमेन्टको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताए ।

‘विद्युतको पैसा नतिर्ने उद्योगीहरुले अहिले बजारमा आफूखुसी सिमेन्टको मूल्यवृद्धि गरेका छन् । यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गर्न आवश्यक रहेको छ । उद्योगीले बजारमा लुट मच्चाएका छन् । उपभोक्तालाई समस्या परेको छ । राज्यले जनताको कुरा सुन्दैन र देख्दैन’, उनले भने, ‘मूल्यवृद्धिले सिमेन्ट उद्योगीहरुलाई फाइदा पुगेको होला, तर यसको असर धेरै परेको छ । त्यो कुरा सबैले विचार गर्नु आवश्यक रहेको छ ।’

समितिका अर्का सदस्य डोलप्रसाद अर्यालले बजारमा भएको सिमेन्टको मूल्यवृद्धिको विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

निर्माण व्यवसायीले ठेक्का लिँदा सिमेन्ट प्रतिबोरा ४०० रहेको र अहिले मूल्यवृद्धि भएर ८०० पुगेको छ । निर्माणको लागत धेरै बढेकाले पनि निर्माणमा समस्या भएको समितिका सदस्यहरुको भनाइ छ ।

समितिका सभापति खानले उद्योगमन्त्रीसँग कुरा गरेर सिमेन्टको मूल्यवृद्धिको विषयमा समितिमा छलफल हुने बताए ।

उनले भने, ‘समितिले उद्योगमन्त्रीसँग कुरा गरेर सिमेन्टको मूल्यवृद्धिको विषयमा छलफल गर्नेछौं । सिमेन्ट उत्पादक र निर्माण व्यवसायीलाई पनि छलफलमा बोलाउनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *