बुटवलमा स्नातकोत्तर तहमा ‘प्रायोगिक बौद्ध अध्ययन’ सुरु – Nepal Press

बुटवलमा स्नातकोत्तर तहमा ‘प्रायोगिक बौद्ध अध्ययन’ सुरु

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम ‘प्रायोगिक बौद्ध अध्ययन’ को पढाइ अब बुटवलमै हुने भएको छ । उक्त नयाँ शैक्षिक कार्यक्रमका लागि बुटवल सिटी क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण गराइएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत रहेको बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको कार्यक्रम संयोजक जेबी क्षेत्रीले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. मानिकरत्न शाक्य, मानविकी तथा समाजशास्त्र अध्ययन संकायका डीन डा. हरिशरण चखु, विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. गीतु गिरीलगायत विभिन्न पदाधिकारी एवम् प्राध्यापकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई अभिमुखीकरण गराइएको छ ।

विश्वविद्यालयले पहिलो पटक बुटवलस्थित सिटी क्याम्पसमा बौद्ध शिक्षाको स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु गरेको छ । क्याम्पस प्रमुख डा.फणिन्द्रकुमार न्यौपानेका अनुसार बुटवल सिटीमा पहिलो पटक सुरु भएको उक्त शैक्षिक कार्यक्रममा २९ जना विद्यार्थी छन् ।

लुम्बिनीमा जन्मिएका राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राज्य परित्याग गरी ३५ वर्षको उमेर हुँदा प्राप्त गरेको बुद्धत्वलाई आफ्नो महापरिनिर्वाण हुँदाको उमेरसम्म तत्कालीन समयको गाउँ, नगर एवं राज्यमा प्रचार गरेको शिक्षालाई नै बुद्ध शिक्षा भनिन्छ ।

अहिले सिटी क्याम्पसमा सुरु भएको दुई वर्षे उक्त शैक्षिक कार्यक्रम कोर बुद्ध शिक्षाको एउटा पाटो रहेको उक्त कार्यक्रमका संयोजक क्षेत्रीले बताए । शिक्षामा मानव शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावका वस्तुपरक उपदेशको व्यावहारिक र प्रयोगात्मक देशनालाई समावेश गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर