नाकाबन्दी सम्झिँदै प्रधानमन्त्रीले भने- नेपाली समाज पानीबाट निकालेको माछा जस्तो भएको थियो – Nepal Press

नाकाबन्दी सम्झिँदै प्रधानमन्त्रीले भने- नेपाली समाज पानीबाट निकालेको माछा जस्तो भएको थियो

‘चुनावबाट आएपछि करिब तीन वर्षको समय पायौं, तर सजिलोसँग काम गर्न पाइएन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट गरे ।

संविधान जारी भएपछि भएको पाँच महिनासम्म नाकाबन्दीलाई स्मरण गर्दै नेपाली समाज पानीबाट निकालेको माछा जस्तो उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालको हितमा गेम चेन्जर खालको कुराहरु, कामहरु अगाडि बढाउन थालेको हुनाले त्यो एउटा भयावह स्थिति जस्तो धेरैलाई लाग्यो र सरकार ढल्यो । फेरि हामी चुनावबाट आएपछि करिब तीन वर्षको समय पायौं, तर सजिलोसँग काम गर्न पाइएन । यता खुुट्टा तान्दैछ, यता अगाडि बढ्दैछ, खुट्टा तान्दैछ, अगाडि बढ्दैछ गरेर पनि हामीले केही कुराहरु गर्‍यौं र डिजिटल नेपालको कन्सेप्ट ल्यायौं । त्यसैबेला डिजिटल नेपालको कार्यान्वयनका लागि फ्रेमवर्क पनि बनायौं ।’

प्रधानमन्त्रीको भनाइ जस्ताको तस्तै

हाम्रो पार्टीको नेतृत्वमा पहिलो पटक जब सरकार बन्यो सन् १९९४ मा र १९९५ सम्म चल्यो । त्यो सरकारको समयमा हामीले सामाजिक जीवनका विविध क्षेत्रहरुमा, सरकारका विभिन्न पक्षहरुमा कहाँ कहाँबाट क्याच गर्न सकिन्छ भनेर हेर्‍यौं । त्यसरी हेर्दा, कम्प्युटर इन्जिनियरिङ, तत्सम्बन्धी पढाइ र सफ्टवेयर भारतले एडप्ट गरेको रहेछ र त्यसको काम पनि सन् १९९१ देखि थालिसकेको रहेछ । सन् १९९१ देखि उनीहरुले काम थाले, हामीहरुले लय समाउनै सकेनौं । हाम्रोमा राजनीतिक परिवर्तनपछि काम गर्ने जमाना सुरु भयो भन्ने भन्दा पनि अलि सत्ताको रापझाप जस्तो कुरा र सत्ता भनेको एउटा इन्जोय गर्ने ठाउँ प्राप्त गरियो भन्ने खालको परिस्थिति बढी भयो । काम गर्ने, विकास गर्ने ठाउँभन्दा पनि इन्जोय गर्ने ठाउँ प्राप्त गर्न हारालुछ गर्ने खालको स्थिति भयो । त्यसले गर्दा हामीले वाञ्छित सफलता प्राप्त गर्न सकेनौं । तैपनि त्यस बेलादेखि यस क्षेत्रमा काम गर्नुपर्छ है भन्ने सोच बनायौं ।

त्यसपछि यसमा रिभोलुसन ल्याउनेगरी म पहिलो पटक प्रधानमन्त्री हुँदा विभिन्न खालका नयाँ सोचहरु मैले अगाडि सारेँ । मेरो नेतृत्वको सरकारले विभिन्न कुराहरुलाई अगाडि सार्‍यो । त्यतिबेला पनि हामी उतारचढावको अनेक सिलसिलामा थियौं । संविधान भर्खर जारी गरेको स्थिति थियो । संविधान जारी गर्‍यौं, तर त्यससँग सम्बन्धित कानून छैन । त्यस कानूनमा संशोधन र परिमार्जन नै गर्नुपर्ने कानूनको चाङ छ । के आवश्यकता हो भनेर सबैले बुझ्नु भन्दा पनि राजनीतिक नेतृत्वले बुझ्नुपर्छ र त्यो गाइड गर्नुपर्छ । त्यसपछि मात्रै खासमा काम हुनसक्छ । त्यसो भएर हामीले त्यो प्रयास पनि गर्‍यौं र धेरै कानूनहरु परिवर्तनका लागि हामीले अगाडि सार्‍यौं र परिवर्तन गर्‍यौं ।

संविधान मुस्किलले जारी गर्‍यौं, जारी गर्नेबित्तिकै पाँच महिनासम्म नाकाबन्दी भयो । नेपाली समाज पानीबाट निकालेको माछा जस्तो भयो । हस्पिटलमा अक्सिजन छैन, ट्याब्लेट छैन, डाक्टर अस्पताल जान गाडीमा फ्युल छैन, औषधि किन्न पाइँदैन, फ्युल किन्न पाइँदैन । मान्छे भोकभोकै छ । हामीले आगो बाल्न दाउरालाई केजीका हिसाबले तराजुले तौलिएर काठमाडौंमा बेच्नुपर्‍यो । धेरै दाउरा दिनसक्ने स्थिति पनि छैन, त्यति धेरै काठमाडौंलाई पुग्ने कहाँबाट ल्याउने ? विद्युतीय चुलो त्यति छैन । विद्युतको सप्लाइ गर्न उत्पादन नै थिएन, २०० मेगावाटको हाराहारीमा थियो । त्यस स्थितिबाट अगाडि बढाउन हामीले मेजर गेम चेन्जिङ खालका कुराहरु अगाडि सार्नुपर्‍यो र त्यसरी हामीले अगाडि बढायौं, तर समय थोरै भयो । अलिकति हामीले नेपालको हितमा गेम चेन्जर खालका कुराहरु, कामहरु अगाडि बढाउन थालेको हुनाले त्यो एउटा भयावह स्थिति जस्तो धेरैलाई लाग्यो र सरकार ढल्यो ।

फेरि हामी चुनावबाट आएपछि करिब तीन वर्षको समय पायौं, तर सजिलोसँग काम गर्न पाइएन । यता खुट्टा तान्दैछ, यता अगाडि बढ्दैछ, खुट्टा तान्दैछ, अगाडि बढ्दैछ गरेर पनि हामीले केही कुराहरु गर्‍यौं र डिजिटल नेपालको कन्सेप्ट ल्यायौं । त्यसैबेला डिजिटल नेपालको कार्यान्वयनका लागि फ्रेमवर्क पनि बनायौं । यी सबै कुराका दुुईतीन वटा पाटा थिए । तपाईंहरुले बीपी यो भन्नुहुन्छ, केपी यो भन्नुहुन्छ, नलेजसम्बन्धी, विजनेशसम्बन्धी अथवा अर्को सेक्टरहरुसम्बन्धी । यसमा हरेकसँग पुग्ने एक्सेस र क्यापासिटी बढाउने, यो विजनेसका लागि हो । यो विकासका लागि हो । यो सबैका लागि हो । आईटी फर अल, आईटी फर विजनेश, आईटी फर एजुकेशन, आईटी फर इन्फर्मेशन । एआईको जमानामा भन्ने हो भने एआई अथवा आईटी इज फर एर्भिथिङ ! यस्तो भइसक्यो । योविना त हुँदै हुँदैन । कसैले मोबाइल घरमा छोडेर आएको छैन होला, मोबाइल साथमै हुन्छ । यस्तो भइसक्यो अरु चिज छुटेर केही हुँदैन, मोबाइल छुट्नुभएन । मोबाइल छुट्यो भने इन्फर्मेशन छुटिहाल्छ । त्यसकारण यस्तो अप टु डेट रहनुपर्ने अवस्था दुनियाँको बनेको छ कि एकछिन् छुट्यो भने के के भइसकेको हुन्छ, थाहा पाइएन, बर्बाद भइसकेको जस्तो हुन्छ, मैले त त्यो थाहा पाइनँ भनेर । त्यो सेकेन्ड ह्यान्ड थाहा पाइयो जस्तो हुन्छ । प्रत्यक्षदर्शी कोही हुँदैन, सेकेन्ड ह्यान्ड नै हो थाहा पाउने ।

यस सन्दर्भमा हामीले नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आईटीको दक्ष र सक्षम जनशक्ति हो । त्यसो भएर हामीले यी कुराहरुलाई एकदम तीव्रताका साथ अगाडि बढाउनु छ । हाम्रा युवाहरुलाई दक्ष बनाउनु छ, सक्षम बनाउनु छ । युवाहरुमा रहेको, यहाँ केही गर्न सकिँदैन भन्ने चिन्ता जाहेर गर्नुभयो र त्यसमा अलिकति आशावादीता जागेको कुरा गर्नुभयो, त्यो ठीक हो । मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि मुख्य कुरा आशा जगाउने काम, विकास हुनसक्छ, हाम्रै पालमा विकास हुनसक्छ, हामी गर्न सक्छौं भनेर ।

मैले हाम्रा पुर्वजहरुका कहानी सुनाउने गरें, हाम्रा पुर्वजहरु यस्ता महान थिए, यस्ता इनोभेटर थिए, यस्ता रिसर्चर थिए भनेर । ज्ञान यहाँ सुरु भयो र विस्तार भयो । गणित यहाँ सुरु भयो र विस्तार भयो । चिकित्साशास्त्र यहाँ सुरु भयो र विस्तार भयो, खगोलशास्त्र यहाँ सुरु भयो र विस्तार भयो । ज्ञान भनेकै यहाँ सुरु भयो र विस्तार भयो । दुईचार शताब्दी हामी अलिकति पछाडि पर्‍यौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर