झन् बढ्यो खराब कर्जा, बैंकर्स संघका अध्यक्ष भन्छन्- आत्तिइहाल्ने अवस्था छैन – Nepal Press

झन् बढ्यो खराब कर्जा, बैंकर्स संघका अध्यक्ष भन्छन्- आत्तिइहाल्ने अवस्था छैन

काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा असुलीमा समस्या हुँदा खराब कर्जा बढेको हो ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको मात्रै खराब कर्जा घटेको छ । गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा एभरेष्ट बैंकबाहेक अन्य सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ ।

यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको देखिएको छ । यस बैंकको खराब कर्जा अनुपात ६.९६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशत थियो ।

अन्य तीन बैंकको पनि खराब कर्जा ५ प्रतिशत नाघेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र प्रभु बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत नाघेको हो । ११ बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ ।

बैंकहरुको खराब कर्जा बढेपनि आत्तिइहाल्नु पर्ने अवस्था नरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको दाबी छ । मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् ।

‘बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । औसतमा साढे चार प्रतिशत माथि पुगिसकेको छ । वितरणयोग्य नाफामा समेत असर परेको छ’, अध्यक्ष कोइरालाले भने, ‘खराब कर्जा बढ्दैमा बैंकहरु कमजोर हुँदैनन् । बैंकिङ क्षेत्रमा अहिले नै तत्कालै आत्तिनु पर्ने स्थिति छैन ।

त्यस्तै, उनले सोच अनुसार कर्जाको माग नभएको कारण बैंकहरुले पछिल्लो समय कर्जा विस्तार गर्न नसेकेको उनको तर्क छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका संघका अध्यक्ष कोइरालाले भने, ‘बैंकहरुमा तरलता थुप्रिएर बसेको छ । कर्जा विस्तार सोचे अनुसार हुन सकेको छैन । बजारमा कर्जाको माग छैन ।’

कोरोना महामारीपछि लगानी गर्ने ‘कन्फिडेन्स’ घटेको उनको दाबी छ । लगानी बढाउने सोच बैंकहरुमा भएपनि कर्जाको माग नभएको उनले भनाई छ । सबै सरोकारवालाहरू लागेर लगानी विस्तार गर्न आवश्यक रहेको उनको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *