नारायणगढ-बुटवल सडक निर्माणमा सांसद चौधरीको निरन्तर चासो, कामले गति लिन थाल्यो


काठमाडौं । पश्चिम नवलपरासीका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको विशेष पहल पछि नारायणगढ-बुटवल सडक निर्माण कार्यले तिब्रता पाएको छ । सडक निर्माणले गति लिएपछि यस सडक भई दैनिक यात्रा गर्ने यात्रु र स्थानीयवासी अब सडक छिट्टै सम्पन्न हुनेमा आशावादी देखिएका छन् ।
सांसद चौधरीले यस सडक निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएका छन् । सांसदकै हैसियतमा उनले केन्द्रीय सरकारको सम्बन्धित मन्त्रालय, चिनियाँ ठेकेदार र परियोजना कार्यान्वयनमा खटिएका परियोजना प्रमुखहरुसँग निरन्तर छलफल गर्दै आएका छन् ।
नवलपरासीको सरावल गाउँपालिकाका पूर्वअध्यक्ष राधेश्याम चौधरीले सांसद चौधरी नवलपरासी आउँदा प्रत्येक पटक यस सडकको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए ।
‘उहाँले सीडीओ, सडक र सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरुलाई एकै ठाउँमा बोलाएर काम छिटो अगाडि बढाउन दबाब दिँदै आउनुभएको छ’, पूर्वअध्यक्ष चौधरीले थपे ।
अहिले उक्त सडक निर्माणमा तीब्रता आएको छ । आगामी चैतसम्ममा कम्तीमा एकतर्फी सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ ।
यात्रुले सधैं सास्ती भोगिरहेको दाउन्ने सडकमा एकतर्फी नै भए पनि कालोपत्रे हुँदा ठूलो राहत मिल्ने सांस चौधरीले प्रतिक्रिया दिए ।
‘अब कुनै पनि बहानामा ढिलासुस्ती गर्ने छुट छैन । तत्काल सबै पक्षले मिलेर काम सम्पन्न गर्नुपर्छ । जनताले निकै सास्ती भोगिसके’, सांसद चौधरीले भने ।
बुटवल–काठमाडौं दैनिक यात्रा गर्ने हायस चालक वीरबहादुर कँुवरले अहिले सडक निर्माणले तीब्रता पाएको बताए । ‘वर्षौंसम्म हामीले भोगेको समस्या अब कम होला भन्ने आशा लिएको छु’, कुँवरले भने ।
उक्त सडकमा अहिले दाउन्ने खण्डमा पहाड काट्ने, कालोपत्र गर्ने र कल्भर्ट बनाउने कार्य तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिलेसम्म नारायणघाट-बुटवल सडकको पूर्वी र पश्चिम दुवै खण्डमा गरेर ५४ प्रतिशत काम भएको छ ।
सडक निर्माणअन्तर्गत बर्दघाट-बुटवल खण्डका प्रमुख शशांक मिश्रले सडक निर्माणलाई तिब्रता दिन सांसद विनोद चौधरीले बारम्बार ताकेता गर्दै आएको बताए ।
आयोजनाका सूचना अधिकारी बेचनकुमार भण्डारीले विगत दुई महिनादेखि सडक निर्माणले राम्रो गति समातेको बताए । यही गतिले काम भए लक्ष्यअनुसार कम्तीमा एक साइड कालोपत्रे गर्ने काम सम्पन्न हुने उनको भनाइ छ ।
सडक निर्माणमा गति दिन सांसद चौधरीले जिल्ला प्रशासन कार्यालय नवलपरासीमा विभिन्न चरणका बैठक गर्दै आएका छन् । उनले सडक निर्माणको अवरोध हटाउन सम्बद्ध निकायहरूसँग समन्वयसमेत गर्दै आएका छन् । स्थानीय जनप्रतिनिधि एवं समुदायसँग समेत निरन्तर छलफल गर्दै निर्माण कार्यलाई थप सहज बनाउन पहल गर्दै आएका छन् ।
चौधरीले निर्माणमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग समन्वय गरी २०८० साल माघ २२ गते मन्त्रालयमा बृहत समीक्षा बैठक आयोजना गरेका थिए । बैठकमा ठेकेदार, परामर्शदाता, परियोजना प्रमुख, स्थानीय निकायका प्रतिनिधि र सडक विभागका अधिकारीहरूको सहभागिता थियो ।
एसियाली विकास बैंकको १७ अर्ब रुपैयाँ ऋण सहयोगमा सडकको स्तरोन्नति भइरहेको छ । २०७५ चैत ८ मा सुरु भएको राजमार्ग विस्तारको काम २०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । कोरोना संक्रमण र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्म म्याद थपिएको थियो ।