लन्डनमा नेपाली गहना पसल


काठमाडौं । बेलायतमा नेपालीहरुको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरशटमा सुम्निमा ज्वेलरी एण्ड कलेक्शन नामको सुनचाँदीको नयाँ शोरुम खुलेको छ ।
पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसँग मिलेर उक्त व्यवसाय शुरु गरेका हुन् ।
बेलायतस्थित अल्डरशटमा हिजो नेपाली ज्वेलरी एसोशियसनका तथा आदिवासी जनजाती महासंघका अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि व्यापारिक केन्द्रको रुपमा समेत विकास हुँदै गइरहेको छ । नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् । यहाँ करिव एक दर्जन सुनचाँदीका पसलहरु संचालनमा रहेका छन् ।
नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरु आकर्षित भएको गायक श्यामले बताए ।
सुम्निमा ज्वेलरी एण्ड कलेकशनमा सुनचाँदीका अलावा विभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको छ ।
गायक श्यामले भने, ‘आफुहरु नेपालमा पनि व्यवसायको थोरबहुत अनुभव लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ व्यवसाय शुरु गर्न त्यति धेरै चुनौती छैन । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक ब्यापारको रणनीति अपनाएर अगाडि बढ्नेछौं ।’
गायक श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरु लोकप्रिय छन् ।