सन्न्यास सोचमा छैनन् सन्दीप, ‘अम्पायरिङ त्रुटि’ को विषयमा अडानमै
सन्दीपमाथि एक घरेलु म्याचमा प्रतिवन्ध लगाउने क्यानको तयारी, स्पष्टीकरणको जवाफ पर्खिँदै


काठमाडौं । सन्दीप लामिछानेको एउटा फेसबुक स्टाटसले उनका समर्थकहरुलाई झस्काए । स्टाटसमा उनले भावुक शब्दहरु लेख्दै कुनै अप्रिय निर्णय लिन लागेकोजस्तो छनक दिएका थिए ।
राष्ट्रिय टिमको जर्सी लगाएको तस्बिर हाल्दै बिना सन्दर्भ फ्यानहरुप्रति कृतज्ञता अर्पण गरेपछि सन्दीपले सन्न्यास घोषणा गर्न लागेको अड्कलबाजी भयो । तर, यो अड्कलवाजी सत्यभन्दा टाढा रहेको पाइएको छ । स्रोतका अनुसार सन्दीपले सन्न्यासको कुनै सोच बनाएका छैनन् ।
‘उहाँले अप्ठेरो स्थितिबाट यहाँसम्म आउँदा फ्यानहरुबाट निरन्तर प्राप्त भइरहेको समर्थन र साथप्रति आभार व्यक्त गर्नुभएको मात्र हो । यसलाई अर्को कुनै अर्थमा लिइनु आवश्यक नै छैन’, स्रोतले भन्यो ।
यद्यपि, सन्दीप अहिले नेपाल क्रिकेट संघ (क्यान) प्रति असन्तुष्ट छन् । केही दिनअघि जय ट्रफीका क्रममा उनले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । मैदानमा मात्र नभएर उनले सामाजिक सञ्जालमा समेत आफ्नो असन्तुष्टि पोखे । यसलाई लिएर क्यानले उनलाई सामान्य प्रष्टीकरण सोधेको छ । एक हप्ताको समय दिएर सोधिएको लिखित स्पष्टीकरणको जवाफ सन्दीपले पठाइसकेका छैनन् ।
निकट स्रोतका अनुसार अम्पायरिङका विषयमा आफूले राखेको धारणाप्रति सन्दीप दृढ छन् । नेपालमा अम्पायरिङको स्तर सुधार हुनुपर्ने र यसका लागि आफ्नो प्रयास जारी रहने उनले बताएका छन् ।
यता क्यान भने सन्दीपको जवाफको पर्खाइमा छ । क्यान स्रोतका अनुसार यो प्रकरणमा सन्दीपमाथि एक घरेलु म्याचको प्रतिवन्ध लाग्न सक्छ । खेलाडी कोड अफ कन्डक्टको आर्टिकल २.७ मा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिवन्ध लाग्ने व्यवस्था रहेको स्रोतले बतायो ।